कांग्रेस प्रदेश अधिवेशन : सभापतिमा संघीय पूर्वमन्त्रीदेखि जिल्ला तहका नेता लाइनमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । 

उम्मेदवारी घोषणा गर्नेमा संघीय मन्त्रीदेखि पार्टीको केन्द्रीय समितिमा रहेका नेताहरू छन् । कतिपय आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न बाँकी छ । 

देश संघीय संरचनामा गएपछि कांग्रेसले पार्टीको प्रदेश संरचना तय गरेर पहिलो पटक निर्वाचन गर्न लागेको हो । निर्वाचन यही १८ र १९ मंसिरमा हुँदैछ । 

यसरी निर्वाचन हुन चार दिन बाँकी छँदा देशका विभिन्न प्रदेशमा कांग्रेसको भिन्न–भिन्न गुटबाट नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्, जसले प्रदेश अधिवेशनको माहोल तताएको छ । 

नेपाली कांग्रेसको विधान (संशोधित २०७५) अनुसार प्रदेश सभापति पदमा उम्मेदवार कम्तिमा १५ वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने छ । यससँगै प्रदेश क्षेत्र अधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएको हुनुपर्ने छ ।

आधारभूत रूपमा यी दुई योग्यता पूरा गरेका नेताहरुमध्ये केहीले उम्मेदवारी घोषणा गरेका हुन् भने केहीको बाँकी छ । तर, प्रदेश सभापतिमा लड्ने नेताहरू संस्थापन र इतर पक्षमा धेरै हुने देखिएको छ । जसले उम्मेदवार चयनमा सकस हुने भएको छ ।



प्रदेश १ 

नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा त्रिपक्षीय उम्मेदवार खडा हुने सम्भावना देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) बाट अमृत अर्यालको नाम अग्रपंक्तिमा छ । उनी यसअघि संविधानसभा सदस्य थिए । लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि जोडिएका छन् । 



उनीसँगै युवा नेता रामहरि खतिवडाको पनि प्रदेश सभापति पदमा नाम सुनिन थालेको छ । यद्यपि, केन्द्रीय सहमहामन्त्री पदमा उनको इच्छा छ । सभापति देउवाले भने सहमहामन्त्री बनाउन चाहेका छैनन् । 

‘मैले खस आर्यबाट केन्द्रीय सहमहामन्त्री हुन चाहेको हुँ । तर, सभापतिज्यूले पदाधिकारी बनाउन सक्दिनँ भन्ने कुरा गर्नुभयो । नेताहरूसँग सल्लाह भइरहेको छ र साथीहरूको इच्छा प्रदेश सभापति बन्नुहोला भन्ने शुभेच्छा छ’, फरकधारसँग नेता खतिवडाले भने, ‘जहाँ भए पनि हाम्रो इच्छा पार्टीलाई ठूलो बनाउने हो ।’ 

नेताहरू अर्याल र खतिवडाको नाम प्रदेश सभापतिमा संस्थापन पक्षबाट आउँदा इतर पक्षबाट भने राजीव कोइरालाले सभापति पदमा शनिबार उम्मेदवारी घोषणा गरेका छन् । कोइराला प्रदेश १ को कांग्रेस संसदीय दलका नेतासमेत हुन् । उनी यसअघि प्रदेश मुख्यमन्त्री हुन चाहेका थिए । तर, भएनन् । 

इतर पक्षकै गुरुराज घिमिरेको पनि नाम सभापतिको चर्चामा छ । नेविसंघको पूर्वअध्यक्ष उनी हाल पार्टी केन्द्रीय सदस्य छन् । कम्युनिस्टको अधिक प्रभावित प्रदेशमा सभापति भएर बलियो पार्टी बनाउन उपयुक्त हुने घिमिरे बताउँछन् ।

‘पार्टीको नयाँ संरचना प्रदेश हो । राम्ररी चलाउन सक्छु भन्ने आत्मविश्वास छ । प्रदेशहरू राम्रो चल्यो भने पार्टी राम्रो हुन्छ । फेरि १ नम्बर निकै मिहिनेत गर्नुपर्ने अवस्था छ । चुनौती छ । विपक्षी दल मजबुत छ । मुकाबिला गर्न सक्ने पार्टी बनाउनु पर्छ । यो सबैका लागि सक्रिय र क्षमतावान व्यक्ति चाहिन्छ । त्यसले गर्दा सभापतिको भूमिकामा म ठीक छु भन्ने लागेको छ’, घिमिरेले बताए । 

दुई पक्षबाट चार नेताको नाम आएको सन्दर्भबीच पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट संखुवासभाका नेता तारामान गुरुङको नाम चर्चामा छ । उनको उम्मेदवारी घोषणा हुन बाँकी छ । झापाका सुधीरकुमार शिवाकोटी र उद्धव थापाले पनि सभापतिमा आकाङ्क्षा व्यक्त गरेका छन् । 

अधिवेशन भने प्रदेश राजधानी विराटनगरमा हुने भएको छ । 

प्रदेश २ 

६ मंसिरमा प्रदेश २ को कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । 

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई मधेसमा पहिलो बनाउन सभापति पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । 

उनी केन्द्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता विमलेन्द्र निधि निकट हुन् । उनीबाहेक अन्य नेताले उम्मेदवारी घोषणा गरेका छैनन् । 

आकांक्षीहरू भने देउवा पक्षबाट अजय चौरासिया, महेन्द्र राय यादव र कृष्ण यादव छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल (इतर पक्ष) बाट नेता रामकृष्ण यादव र अजय द्विवेदी चर्चामा छन् । अधिवेशन जनकपुरमा हुने भएको छ । १७ गते मनोनयन दर्ता हुनेछ । 

बागमती प्रदेश 

बागमती प्रदेशको सभापतिमा शनिबार भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । पूर्वमहामन्त्री सिटौलापक्षीय उनले संस्थापन पक्षले समर्थन गर्ने विश्वास राखेका छन् । उनी पूर्वरक्षामन्त्री तथा काठमाडौं ६ बाट निर्वाचित संघीय सांसद हुन् । 

फरकधारसँग कुराकानी गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो राजनीतिक शक्ति बनाउन उम्मेदवारी दिएको बताए । 

देउवापक्षीय मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको पनि उम्मेदवारी दिने तयारी छ । यस्तै, संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबाहादुर बस्नेतको नाम पनि आइरहेको छ । 

वरिष्ठ नेता पौडेल पक्षबाट जगदीश नरसिंह केसी, मधु आचार्य र रमेश धमलाको नाम अग्रपंक्तिमा छ । केसी नुवाकोट, आचार्य काभ्रे र धमला धादिङका सभापति हुन् । 
अधिवेशन मकवानपुरमा हुने भएको छ । 

गण्डकी प्रदेश 

यो प्रदेशको सभापति पदमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरिसकेका छन् । बुधबार उम्मेदवारी घोषणा गर्दै उनले प्रदेशमा कांग्रेसलाई बलियो दल बनाउन चाहेको र पार्टीलाई विधिसम्मत सञ्चालन गर्न चाहेको बताएका छन् । 

कास्की घर भएका चालिसे पौडेल समूहका हुन् । सोही समूहबाट पूर्वमन्त्री यज्ञबहादुर थापा र शुक्रराज शर्मा पनि सभापति पदका आकाङ्क्षी छन् । 

देउवा पक्षबाट भने केन्द्रीय सदस्य अर्जुन जोशी र रघुनाथ पौडेलको नाम चर्चामा छ । एक नेताका अनुसार गोविन्द भट्टराई र शंकर भण्डारीले पनि सभापतिका आकाङ्क्षी हुन् । अधिवेशन पोखरामा हुने छ । 

लुम्बिनी प्रदेश 

बुटवलमा हुने प्रदेश अधिवेशनमा देउवा पक्षबाट देवेन्द्रराज कँडेल सभापति पदमा प्रबल दाबेदार हुन् । हाल उनी केन्द्रीय सदस्य छन् । कांग्रेसबाट गृहराज्यमन्त्री पनि भइसकेका छन् । देउवा पक्षबाट सांसद भरत शाह र किशोरसिंह राठौर पनि सभापति पदका दाबेदार हुन् । 

शाह संघीय सांसद र राठौर केन्द्रीय सदस्य छन् । 

पौडेल पक्षबाट अमरसिंह पुनको चर्चा छ । उनी रोल्पाका हुन् । उनलाई पौडेल पक्षबाट सभापति पदका बलिया दाबेदार भनिँदै आएको छ । 

कर्णाली प्रदेश 

यो प्रदेशमा हालसम्म कुनै पनि नेताले सभापतिमा उम्मेदवारी घोषणा गरेका छैनन् । प्रदेशको केही जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले उम्मेदवारी घोषणामा ढिलाइ भएको हो ।

प्रदेश प्रतिनिधिको संख्याको आधारमा उम्मेदवारी दिने कतिपय नेताको सोच छ । यद्यपि, देउवा पक्षबाट सभापतिमा मुख्यमन्त्री जीवनबहादुर शाही, राजीवविक्रम शाह, ललितजंग शाहको नाम चर्चामा छ । 

हुन त मुख्यमन्त्री शाहीले केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने पनि सुनिन थालेको छ । 

पौडेल पक्षबाट भने पूर्वमन्त्री ह्रदयराम थानी र भूपेन्द्रजंग शाहीको नाम प्रदेश सभापतिमा आएको छ । 

अधिवेशन सुर्खेतमा हुने छ । 

सुदूरपश्चिम प्रदेश 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमको सभापति हुन हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीलाई प्रदेशमा थप बलियो र सुदृढीकरण गर्न उम्मेदवारी दिएको स्पष्ट पारे । उनी १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित नेता हुन् । उनको घर कैलालीको लम्की चुहा नगरपालिकामा छ । 

उनी देउवा पक्षका नेता हुन् । नेताहरू वीरबहादुर बलायर, नरनारायण सिंह, गोविन्द शाहलगायतको नाम पनि सभापति पदमा चर्चामा छ । 

पौडेल पक्षबाट भने डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लको चर्चा छ । 

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १५:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया