मनकारी युवा इन्जिनियरले घर निर्माण गरी भूकम्प पीडितलाई गरे हस्तान्तरण, गृहमन्त्रीले दिए एक महिनाको तलव

गत जेठ ५ गते लमजुङलाई केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले थुप्रै घरमा क्षति पुर्यायो । 

यस्तै क्षति पुगेका घरमध्ये एक थियो लमजुङ बेशिसहर नगरपालिका–१०  स्थित चन्द्र बहादुर घिमिरेको । 

भूकम्पले घर भत्काएपछि चन्द्र बहादुरको ९ जनाको परिवारको बिचल्ली भएको थियो । ओत लाग्ने ठाउँ थिएन । भत्केको घर मर्मत गरेर बन्ने अवस्थामा थिएन । तैपनि उनीहरु त्यही घरमा बसिरहेका थिए । 

यस्तैमा भूकम्पको अध्ययन गर्न इन्जिनियरहरूको एक समूह (न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपाल– एनजेन)का सदस्य बेशिसहर नगरपालिका–१० पुगे । त्यहाँ उनीहरुले यस्तो दृश्य देखे जसले उनीहरुलाई केही नगरी फर्कन दिएन । 

चन्द्र बहादुरको ९ जनाको परिवारमा तीन जना त अपाङ्गता भएका व्यक्ति दिए । दुई जना बोल्न नसक्ने थिए भने एक जना उठ्न पनि नसक्ने । उनीहरु बस्ने घर भूकम्पले भत्किएको थियो । अनि न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपालका सदस्य दिपेन्द्र गौतमले अठोट गरे– उनीहरुलाई घरको व्यवस्था गर्नैपर्छ । 

त्यसपछि उनीहरुले रकम संकलन गरी स्वयंसेवीको रुपमा काम गर्ने योजना अघि बढाए । न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपालका ८ जना सदस्य र एक जना आर्किटेक्टगरी ९ जना योजनालाई साकार पार्न तल्लिन भए । 



यस्तैमा भेटिए कोमल अर्याल जो लामो समयदेखि प्रकोप न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका थिए । घर बनाउनको लागि आर्थिक संकलन गर्न अर्यालले उनीहरुलाई सघाए । अनि, सूरुभयो घर निर्माण कार्य । 

‘हामीले इन्जिनियरिङ्गमा सबैभन्दा पहिला मानवता आउँछ भन्ने कुराको सुरुवात गर्न खोजेको हो,’ इन्जिनियर गौतमले भने, ‘हामीले घर निर्माण गर्दा जति पनि काम गर्यौं सबै स्वयंसेवीको रुपमा गरेका हौं ।’ 



अन्तत घर निर्माण गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । ६ कोठे घर भूकम्प प्रतिरोधात्मक मात्र होइन बहु प्रकोप जोखिम प्रतिरोधात्मक बनाइएको छ । आगलागी, पहिरो लगायतका विपदका घटनाबाट पनि घरलाई क्षति नपुग्ने किसिमले निर्माण गरिएको छ । 

‘घर पूर्ण नेपाली मौलिक शैलीमा निर्माण गरिएको छ,’ गौतमले भने । घर निर्माण गर्दा स्थानीय सामाग्री प्रयोग गरिएको उनले जनाए । 

उक्त घर आज एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष पूर्णबहादुर थापाको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । घर निर्माण गर्न दुई महिना लागेको उनले बताए । 

न्यू  जेनेरेसन इन्जिनियरिङ कन्सल्ट नेपालले पीडित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्न लागेको थाहा पाएपछि गृहमन्त्री बालकृष्ण खाणले आफ्नो एक महिनाको तलव पीडित परिवारलाई पठाएका थिए । 

गृहमन्त्री खाणले ​ पठाएको ६० हजार रुपैयाँ आज नै पीडित परिवारलाई वडाअध्यक्षको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । 

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १६:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया