नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । उपसभापति निधिले पार्टीको विधानअनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्यीय रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका कांग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेट्न पुगेका निधिले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई वैधानिकता दिन पनि समिति पाँच सदस्यीय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी दिए ।
पार्टीको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधिले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाए । उपसभापति निधिले भने, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले म सँग सल्लाह गरिदिएको भए पनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नुभएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई ।’
उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।