प्रदेश १ : रक्षात्मक बन्दै कोइराला परिवार, देउवा आक्रामक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश‍-१ मा संस्थापन पक्ष बलियो हुँदै गएको छ । कांग्रेसको १३ औँ महधिवेशनमा तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रबाट एकजना मात्रै देउवा पक्षका सभापति निर्वाचित भएका थिए ।

त्यो बेला ओखलढुंगामा मात्रै सभापति जितेको देउवा पक्षले अहिले भने सातवटा जिल्लामा सभापति जितिसकेको छ ।

प्रदेश-१ मा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम र हिमाल कार्की उदयपुर सभापति बनेका छन् । उनीहरू संस्थापन पक्ष अर्थात् सभापति देउवानिकट छन् ।

यस्तै, सोलुखुम्बु र धनकुटामा पनि सभापति देउवानिकट सभापति विजयी भएका छन् । धनकुटाका दिनेश राई र सोलुखुम्बुमा नाम्गेल जाङ्बु शेर्पा सभापतिमा निर्वाचित भएका छन् ।

कोइराला-पौडेल पक्षले पनि ६ जिल्लाको नेतृत्व आफ्नो पक्षमा पारेको छ । एक जिल्लामा भने सिटौला पक्षले विजय हासिल गरेको छ । कोइराला-पौडेल समूहले प्रदेशका सुनसरी, मोरङ्ग, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लाको नेतृत्व लिएको छ । 

कोइराला-पौडेल समूहबाट दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहम्फे तेह्रथुम, विष्णु राई खोटाङ, विनोद बान्तावा भोजपुर र केदार भण्डारी सुनसरी सभापति बनेका छन् । झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेबे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।



धनकुटा, मोरङ र सोलुखुम्बुमा भने अधिवेशन सम्पन्न भइसकेको छैन । निर्वाचन प्रक्रिया जारी छ ।

कोइराला परिवारको क्षेत्र भएकाले यसअघि यो प्रदेशमा कोइराला परिवारको वर्चश्व थियो । तर, यस अधिवेशनमा भने कोइराला परिवारको वर्चश्व कमजोर मात्रै भएको देखिएन रक्षात्मक अवस्थामा पुगेको छ । मोरङमा कोइराला निकट डिगबहादुर लिम्बूले संस्थापनका दिलिप गच्छदारलाई हराए । 



कांग्रेसको १३ औँ महाधिवेशनमा  १६ मध्ये १५ जिल्ला (तत्कालीन पूर्वाञ्चल) मा सभापति जितेको कोइराला समूह यही तथ्यांकले पनि  रक्षात्मक अवस्थामा पुगेको देखाउँछ ।

आफ्नै गृहजिल्ला मोरङमा समेत कोइराला पक्षलाई जित निकाल्न सहज भएन । विधानत ५१ प्रतिशत मत ल्याउन नसकेपछि मोरङमा पुन: मतदान हुँदैछ । तीन जनाबीचमा सभापतिका लागि प्रतिस्पर्धा भएको मोरङमा कोइराला पक्षका डिगबहादुर लिम्बूले सबैभन्दा बढी मत प्राप्त गरे । तर, ५१ प्रतिशत पुगेन । 

उनले एक हजार ५ सय ४४ मत ल्याएका थिए भने संस्थापनका दीलिप गच्छदारले १ हजार १६६ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी यदु विष्टले ५६३ मत ल्याएका थिए ।

कोइराला परिवारमै फुट

२०७८ साल साउन २ गते शनिबार एउटा समाचार बाहिर आयो । गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाको घरमा भएको लञ्चका विषयमा । लञ्चमा कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता सहभागी थिए । लन्चको आयोजना सुजाताले गरेकी थिइन् ।

महाराजगञ्जस्थित निवासमा भएको लन्च मिटिङलाई कोइराला परिवारका बीचको एकताका रूपमा धेरैले हेरे । नजिक आउँदै गरेको कांग्रेसको १४ औँ महाधिवेशनलाई लिएर कोइराला परिवारका सदस्यहरूको मिटिङले धेरै अर्थ राख्यो ।

बैठकपछि कांग्रेसका ती प्रभावशाली नेताहरूले साझा उम्मेदवार बनाउने विषयमा कुरा भएको बताएका थिए । तर, लन्च बैठक भएको ४ महिना पूरा हुँदासमेत कोइराला परिवारका तर्फबाट साझा उम्मेदवार छनोट हुन सकेको छैन ।

महामन्त्रीको भूमिकामा रहेका शशांक र शेखर दुवै सभापतिको दाबेदारी गर्दै जिल्ला दौडाहामा छन् । दुवैले एकले अर्कालाई समर्थन गरेका छैनन् । दुवै जना सभापतिको उम्मेदवार बनिरहँदा यसको असर भने कार्यकर्तामा परेको देखिन्छ ।

गिरिजा पुत्री सुजाता भने कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेकी छैनन् । उनले साझा उम्मेदवार बन्ने दाबी गरिरहेकी छन् । उनले भनिन्, ‘हामी साझा उम्मेदवार बनाउँछौँ ।’ 

सभापतिको दौडमा रहेका शशांक बीपी कोइरालाका छोरा हुन् । आँखाका डाक्टर शशांक ६२/६३ को आन्दोलनपछि पूर्ण रूपमा राजनीतिमा छन् ।

१३ औँ महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका शशांकले कोइराला परिवारको विरासत धान्ने आंकलन गरिएको थियो । तर, उनीमाथि पार्टी सभापति शेरबहादुर देउवासँग कुरासम्म गर्न नसक्ने र उनलाई हराउन सक्ने क्षमता नभएको आरोप लाग्दै आएको छ ।

केशब पुत्र शेखर पनि सभापतिको दौडमा छन् । चिकित्सा शास्त्रमा स्नातकोत्तर गरेका उनी लामो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहे ।

पार्टी सभापति देउवाका कटु आलोचक शेखरलाई परिवारबाटै अगाडि बढाइएको कोइराला परिवार निकटहरू बताउँछन् ।

प्रदेश १ मा अहिले पनि शशांकको भन्दा शेखरको प्रभाव बलियो रहेको छ । उनी मोरङबाटै निर्वाचित भएका कारण पनि प्रदेश १ को आउजाउ बढी नै छ । शशांक भने नवलपरासी क्षेत्रबाट निर्वाचन लड्ने भएकाले उनको प्रदेश १ आउजाउ पातलो देखिन्छ ।

अहिले सभापतिको दौडमा नरहे पनि गिरिजा पुत्री सुजाताले पनि बेलाबेला आफूले पार्टीको नेतृत्व गर्न सक्ने बताउँदै आएकी छन् । उनले कांग्रेसको नेतृत्व बेला आएपछि गर्ने बताइन् । 

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १७:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया