आठ वर्षदेखि खाद्य संकटमा बाजुराको रुढी गाउँ, स्थानीय भन्छन्- सरकारले हाम्रो आवाज सुनेन
‘बच्चालाई त खानेकुरा पुर्‍याउन सक्दैनौं, आफूहरू त के पेटभरि खाना खानु’
रिदम सिंह
फरकधार / १४ मंसिर, २०७८

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ रुढी गाउँका स्थानीय आठ वर्षदेखि चरम खाद्य संकटको चपेटामा परेका छन् । लगातारको खडेरी र सिंचाइका लागि कुलो नहुँदा यहाँका स्थानीयले वर्षौंदेखि खाद्य संकटको सामना गरिरहेका हुन् । 



‘गाउँमा १ सय ५६ परिवार बस्छ, लगातारको खडेरी र सिंचाइको सुविधा नहुँदा गाउँ नै चरम खाद्य संकटमा परेको छ,’ स्थानीय दीलबहादुर धामीले भने ।

लगातारको खडेरी र गाउँमा रहेको रुढी सिंचाइ कुलो सुख्खा पहिरोले बगाएपछि खेतीयोग्य जमिन आठ वर्षदेखि बाँझै रहेको अर्का स्थानीय वीरबहादुर कार्कीले वताए । ‘जग्गा भएपनि न पानी पर्‍यो, न सिंचाइ कुलो बन्यो, पानी परे पनि खेती लगाउने बेला पर्दैन । ८ वर्षदेखि जमिन बाँझो छ,’ उनले भने ।

वर्षभरि नै किनेर खानुपर्ने बाध्यता भएपछि गाउँका पुरुष जति भारतमा रोजगारी गर्न जाने गरेको उनको भनाइ छ । ‘युवा जति पैसा कमाउन भारत पस्छन्, घरमा बालबालिका र वृद्धवृद्धा मात्र छन् । आफ्नो जमिनमा खेतीपाती नहुँदा कोल्टीबाट चामल किनेर पेट पाल्ने गरेका छौं,’ वीरबहादुरले भने ।  



२ करोडभन्दा बढी लागतमा बनेको सिंचाइ कुलो केही वर्षमै पहिरोले बगाएपछि यहाँ स्थानीयलाई झन् समस्या थपिएको हो । पटकपटक मर्मत गरिए पनि पहिरोका कारण सिंचाइ कुलो सञ्चालनमा आउन नसकेको स्थानी बताउँछन् । ‘सिंचाइ हुँदा यहाँको खेतहरू हरियाली देखिन्थे । अहिले भने जग्गा बाँझै छ, जग्गा हेरेर चित बुझाउनुभन्दा अरू केही काम छैन,’ दीलबहादुरले भने ।  

खाद्यको चरम संकट रहेको रुढीमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पनि निरीक्षण गरिसकेका छन् । उनले पनि त्यहाँ चरम खाद्य संकट भएको पाइएको बताए । निरीक्षणका क्रममा आफूले पर्याप्त खेती उत्पादन नहुँदा धेरै स्थानीयले बसाइसराइ नै गरेको पाएको प्रजिअ अधिकारीले बताए । 

सदरमुकाम मार्तडीबाट रुढी गाउँ पुग्न पैदल तीन दिन लाग्छ । गाउँमा सरकारको ध्यान नपुग्दा यहाँका स्थानीय रोगले भन्दा भोकले मरिरहेका स्थानीय बताउँछन् । ‘बच्चाहरूका लागि खानेकुरा पुर्‍याउन सक्दैनौं, आफूहरू त पेटभरि खान पाउँदैनौँ । कुन दिन त खाना नखाएर भोकै बस्नुपर्ने बाध्यता छ,’ स्थानीय अर्चना कार्कीले भनिन्, ‘नुनको धुलोसँग खाना खाने गरेका छौं, स्वास्थ्यसमेत कमजोर भएको छ ।’

चरम खाद्य संकटसँगै यहाँ महिला र बच्चामा रक्तअल्पता र कुपोषणको समस्या देखिएको छ । ‘हरियो सागपात, गेडागुडी फलफूल केही खान पाउँदैनौँ, गाउँमा धेरै महिला र बच्चाहरू कुपोषित रहेका छन्,’ महिला स्वयंसेविका बिना भुलले भनिन्, ‘महिलाहरूले पेटभरि खान पाउँदैनन्, बच्चा पाउने महिलासमेत कुपोषित रहेका छन् ।’

यहाँका स्थानीयलाई खाद्यान्नको मात्र नभएर पहिरोको पनि उत्तिकै समस्या छ । ‘माथिबाट सुख्खा पहिरो छ, तल गाँउ छ, गाँउ नै जोखिम रहेको छ । एकातिर लामोदेखि खडेरी छ अन्न लगाउन पाएका छैनौँ, पैसा कमाउन पुरुष जति सबै भारत गएका छन्,’ अर्की स्थानीय जानकी तिरुवाले भनिन् ।  

आफूहरू खाद्य संकट र पहिरोको जोखिममा रहेको भनेर पटकपटक सरकारसँग भने पनि अहिलेसम्म कुनै पहल नभएकाे स्थानीय चतुर बमले गुनासो गरे । मानव अधिकारको दृष्टिकोणबाट उनीहरूको खाद्य अधिकार हनन भएको खाद्य अधिकारकाे क्षेत्रमा काम गर्दै आएको फियान नेपालका कार्यक्रम निर्देशक अशोक सिहंले बताए । 

‘यहाँका धेरै स्थानीयले सामान्य खानासमेत पाएका छैनन्, पोषण त उनीहरूका लागि धेरै टाढाको कुरा हो । राज्यले संविधानमा मौलिक हकको व्यवस्था गरेको भएपनि उनीहरू खाद्य अधिकारबाट वञ्चित रहेका छन्,’ सिंहले भने ।  

रुढी गाँउ माथिबाट पटकपटक सुख्खा पहिरो बगिरहेको छ । २०६९ सालमा सुख्खा पहिरोले तीनजनाको मृत्यु भएको थियो । साथै, पहिरोका कारण १० परिवार पूर्णरूपमा विस्थापित भएका थिए । 

२०७२ सालमा कात्तिकमा पनि सुख्खा पहिराेले २३ परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १९:८:७,   अन्तिम अपडेट : मंसिर १४, २०७८ मंगलबार १९:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया