लेवनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे श्रममन्त्रीको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गरेका छन् । 

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भयो । 

मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । मन्त्री श्रेष्ठले नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथा जी ७७ का सदस्य देश रहेकाले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरममा एकै किसिमका एजेन्डा हुने गरेको स्मरण गरे ।  

महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताए । लेवनानमा रहेका नेपालीहरुको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले बताए । श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालासँग बृहत् छलफल गरी छिटो टुंगो पुगिने मन्त्री श्रेष्ठले बताए ।  

पछिल्लो समय लेवनान नेपाली श्रमिकका लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ । नेपाल र लेवनानबीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघमार्फत शान्तिसेना पनि पठाउँदै आएको छ । शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । 

भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रक्रियाको सफलताको शुभकामना पनि दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २१:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया