कांग्रेस अधिवेशन : मोरङ सभापतिमा लिम्बु विजयी

कांग्रेस माेरङ सभापतिमा डिकबहादुर लिम्बु विजयी भएका छन् ।

पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो ।

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलीप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बुले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याए । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो ।

मंगलबार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी गरे पनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन् ।  मंगलबार मध्यरातमा सार्वजनिक मतपरिणाम अनुसार लिम्बुले १ हजार ९०६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुँदा गच्छदारले १ हजार ४२५ मत पाए ।

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेका थिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । 

सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बुलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एक ठाउँमा आएका थिए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ८:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया