सहमहामन्त्री पदमा भीष्मराज आङदेम्बेकाे उम्मेदवारी घाेषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आदिवासी जनजातितर्फकाे सहमहामन्त्री पदमा उम्मेदवारी घाेषणा गरेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनकाे उम्मेदवारी पनि देउवा अर्थात् संस्थापनपक्षबाट भएकाे हाे ।

आङदेम्बेले पार्टीलाई जनतासँग जोड्न र युवा पुस्तालाई कांग्रेसमा अगाडि बढाउन उम्मेदवारी दिएकाे फरकधारलाई बताए ।

उनले भने, ‘कता कता नेपाली कांग्रेस र जनताबीचकाे सम्बन्ध टाढा भयाे कि भन्ने भान भएकाे छ । युवा पुस्तालाई पनि अघि बढाउनु छ पार्टीमा । याे दुबै काम गर्न म सहमहामन्त्री हुनु उपयुक्त हुने ठानेर उम्मेदवारी घाेषणा गरेकाे हुँ ।’ 

पूर्वी पहाडी क्षेत्रकाे प्रभावशाली नेता आङदेम्बे पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् ।

२०७० मा भएको संविधानसभा निर्वाचनमा पाँचथरको क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए । त्यसपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिकाे सभापति भए । 

हाल केन्द्रीय सदस्यकाे अतिरिक्त पार्टीको शक्तिशाली निकाय अनुशासन आयाेगकाे संयाेजक समेत हुन् ।



पाँचथरको नवमीडाँडा घर भएका आङदेम्बेकाे परिवारिक पृष्ठभूमि पनि राजनीतिक हाे ।

उनका बाजे देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भए । उनलाई लिम्बु जातिबाट भएकाे पहिलो मन्त्री रूपमा चिनिन्छ ।



उनकै छोरा प्रेमराज भने दुईपटक मन्त्री भए । २०१५ को भएको आम निर्वाचनपछि विपी कोइराला प्रधानमन्त्री बन्दा खाद्य तथा कृषि उपमन्त्री भए । २०१६ असार १६ मा बिपी नेतृत्वकै पुनर्गठित मन्त्रिपरिषदमा भने प्रेमराज ग्राम विकासमन्त्री भएका थिए । यसरी राणाशासनको अन्त्यपछि बाजे र बढिबा मन्त्री हुँदा भीष्मराज भने मन्त्री हुन बाँकी छ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया