चितवन- चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् भने पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।
हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार आज बिहान ४ः३२ मिनेट जाँदा कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो । गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा (स्याहारकर्ता) राजेन्द्र पनवाले बताए ।
यसै वर्षको असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन् । प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगर टप्स पोस्टमा रहेको गण्डकीकली गर्भिणी छन् । प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले जानकारी दिए ।
गत आवमा चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगन्ज र गणेशकलीले कृष्णचन्द्रगन्ज गरी चार बच्चा जन्माएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउए । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जंगली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायतका कारण प्रजनन राम्रो भएको उनले बताए ।
आज जन्मिएको सहित निकुञ्जमा हात्तीको सङ्ख्या ५६ पुगेको छ । गर्भिणी भएपछि २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालिम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोस्टमा हात्ती रहेका छन् । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर सुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २७ वटा हात्तीका बच्चा जन्मिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।