सन्दर्भ : विश्व एड्स दिवस
एचआईभी एड्सबाट सुदूरपश्चिममा ४ महिनामा २१ जनाको मृत्यु

सुदूरपश्चिममा प्रदेशमा एचआईभी/एड्सबाट ४ महिनामा २१ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम स्वस्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार चालू आर्थिक बर्षको पहिलो चौमासिकमा सात महिला र १४ पुरुष गरी २१ जनाले ज्यान गुमाएका हुन् । 

३ हजार जनामा गरिएको परीक्षणमा पहिलो चौमासिकमा ४९ जनामा एचआईभी/एड्स देखा परेको हो । प्रदेशमा सबैभन्दा बढी एचआईभी/एड्स संक्रमित कैलाली, कञ्चनपुर र डोटीमा देखिने गरेका छन् । स्वास्थ्य कार्यालय अनुसार कैलालीमा सबैभन्दा बढी एआरटी सेन्टर भएको हुँदा यहाँ संख्या बढी देखिएको हो । 

कैलालीमा धनगढी, टीकापुर र चौमालामा एआरटी सेन्टर हरेका छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बढी एड्स संक्रमित कैलालीमा रहेको बताए । ‘सुदूरपश्चिमको तराईका जिल्लामा एआरटी सेन्टर पनि धेरै छन् । यहाँ चेक जाँच पनि बढी हुन्छ’, कार्यालय प्रमुख धामीले भने, ‘त्यसले गर्दा पनि संख्यात्मक ढंगले तराईमा बढी देखिएका हुन् ।’ 

उनले भारत जाने नागरिकहरूमा बढी एड्स देखिएका बताए । ‘केही वर्ष पहिले भारत जाने नागरिकहरूमा एचआईभी/एड्स देखिने गरेको थियो,’ उनले भने,  ‘तर, अहिले भने नागरिकहरूमा चेतना बढेसँगै कम भएको छ ।’ उनले अझै पनि ग्रामीण क्षेत्रमा नागरिकमा चेतना पुग्न नसकेको बताए । 

एचआईभी/एड्सबाट बच्नका लागि जनचेतना नै महत्वपूर्ण भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निमित्त स्वास्थ्य निर्देशक ओम जोशीले बताए । पहिलेको तुलनामा एचआईभी/एड्स संक्रमितहरुको संख्यामा कमी आएको बताउँदै अझ यसलाई निर्मुल पार्नका लागि सबैको समन्वयात्मक भूमिका आवश्यक रहेको बताए । पछिल्लो समय एआरटी औषधिसमेत बिरामीहरुले नियमित खाइरहेको हुँदा सुधार आएको उनले बताए ।

आज  विश्व एड्स दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । एचआईभी/एड्स यौन सम्पर्कको माध्यमबाट सर्ने भएकोले यो एक प्रकारको यौनजन्य (प्रसारित) संक्रमण हो । स्वास्थ्यकर्मीहरू प्रत्येक व्यक्तिले यस एचआईभीको संक्रमण बारे पूर्णरूपमा थाहा पाएर राख्नु नितान्त आवश्यक रहेको बताउँछन् ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ११:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया