कांग्रेस अधिवेशन : सुदूरपश्चिममा संस्थापनपक्षका पाँच आकांक्षीले गरे सभापतिमा घाेषणा

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन भाेलि (बिहीबार)देखि सुरु हुँदै छ । प्रदेश अधिवेशनका लागि सभापतिमा दाबेदारहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। 

प्रदेश अधिवेशन भाेलि उद्घाटन भई आइतबारसम्म चल्ने छ । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको बैठकले ५०१ सदस्यीय आयोजक समिति बिस्तार गरेको छ । 

सुदूरपश्चिममा कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ । प्रदेशको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । प्रदेशका अन्य पदाधिकारीहरूको पद त्यति चर्चामा नआए पनि प्रदेश सभापतिका लागि भने वडा अधिवेशनदेखि नै चर्चा सुरु भएको हो ।

आकांक्षीहरू सुरुदेखि नै प्रदेश सभापतिको दावेदार भएको भन्दै सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न माध्यममा आफूलाई प्रस्तुत गरिरहेका छन् । सुदूरपश्चिममा पूर्वराज्यमन्त्री, राजदूत, जिल्ला सभापतिदेखि विद्यार्थी नेताहरूले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । केहीले पत्रकार सम्मेलनमार्फत् त केहीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ),  पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह (अछाम), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । 

उम्मेदवारी घोषणा गर्नेहरूमा सबै कांग्रेसको संस्थापनपक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षधर रहेका छन् । संस्थापनइतर पक्ष अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडले पक्षले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।



बझाङबाट प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका अर्जुनजंग बहादुर सिंहले २०३६ सालमा नेविसंघको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०३८ सालमा संघको केन्द्रीय सदस्य र ०४२ सालमा केन्द्रीय उपाध्यक्ष बनेका थिए । 

०४० सालमा बझाङ जिल्लाको कांग्रेस सचिव बनेका उनी २०४८ र ०५६ मा बझाङबाट निर्वाचित सांसद, ०५६ मा सहायकमन्त्री, ०६८ मा परराष्ट्र राज्यमन्त्री र ०७४ मा राजदूत बनेका थिए । उनले २०३८ सालदेखि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी साढे तीन वर्ष जेल जीवन बिताएका छन् ।



प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका कैलालीका सभापति समेत रहेका नरनारायण शाह ‘मनु’ २०५० सालमा कैलालीबाट कांग्रेसको क्रियाशील सदस्य बनेका थिए । उनी छोटो समयमा पार्टीको जिल्ला सभापतिमा पुग्ने नेता हुन् । 

२०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा पार्टीको सहसचिव बनेका थिए । उनी १२औं महाधिवेशनमा कैलाली जिल्ला सभापतिमा निर्वाचित भएका उनी १३औं महाधिवेशनमा पनि पुनः जिल्ला सभापतिमा विजयी भए ।

अछामबाट प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका गोविन्दबहादुर शाहले २०३६ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । शाह २०३८ सालमा डोटी क्याम्पस इकाइको सभापति र स्ववियु सभापति, ०४३ सालमा त्रिविवि इकाइको उपसभापति, ०४८ र ०५६ मा अछामबाट निर्वाचित सांसद, ०५६ मा सञ्चार राज्यमन्त्री, २०५१ को मध्यावधि र २०६४ को संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा  पटकपटक जेल परेका थिए ।

कैलालीको पूर्वी क्षेत्र अर्थात् क्षेत्र नम्बर २ बाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हिमबहादुर रावल २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेका थिए । रावलले आर्थिक क्षेत्रका विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । उनले नेपाल एयरलाइन्सको निर्देशक, विशाल बजार कम्पनीको अध्यक्ष, सहित विभिन्न आर्थिक संस्थामा उच्च पदमा रहेर काम गरेका हुन्।

डोटीबाट प्रदेश पार्टी सभापतिमा उम्मेदवारी दिएका युवा नेता पुष्पकुमार शाहीले ०५१ सालमा स्कुले विद्यार्थी हुँदाखेरि नै नेविसंघ विद्यालय इकाइको अध्यक्ष बनेको थिए । शाही ०५७ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति उम्मेदवार, ०६२ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवार, ०६३ सालमा त्रिविवि इकाइ उपाध्यक्ष, ०६४ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०७३ सालमा संघको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन् ।

त्यस्तै, प्रदेश समितिका अन्य पदमा समेत उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ ।  कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि उत्तम कठायत तथा अछाम क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि बलबहादुर कुँवरले प्रदेश महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता लक्ष्मण शाही र बाजुराबाट महाधिवेशन प्रनिनिधिमा निर्वाचित गुरुदेव केसी (समुन)ले पनि प्रदेश सहमहामन्त्रीमा उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी ९७२ प्रतिनिधि धनगढीमा सहभागी भइसकेका छन् । 

‘प्रतिनिधिहरू केही पुगिसक्नु भएको छ’, संयोजक सुनारले भने, ‘केही पुग्दै हुनुहुन्छ ।’ 

भोलि दिउँसो एक बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश महाधिवेशन उद्घाटन हुने कार्यतालिका रहेको छ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया