तालिमपछि स्वरोजगार बन्दै जाजरकोटका मुक्त हलिया

जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँकी सेतु सार्कीले गाउँमै खाजा पसल सञ्चालनको तयारी गरेकी छिन् । जनरल कुकको ६० दिने तालिम लिएपछि सार्कीले गाउँमै पसल सञ्चालनको तयारी थालेको बताइन् ।

जनरल कुकको तालिमबाट सिकेका सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जन बढाउन खाजा पसल खोल्ने योजना बनाएको उनले बताइन् ।

‘सरकारले मुक्त हलिया घोषणा गरे पनि जग्गा तथा जमिन वा रोजगारीको व्यवस्था नगर्दा कठिन भएको थियो । तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न पाउँदा आयआर्जन बढ्ला भन्ने लागेको छ’ उनले भनिन् ।

विकजस्तै जाजरकोट छेडागाड नगरपालिका–१३ कार्कीगाउँकै वीरबहादुर खत्रीले आर्क वल्डिङ तालिम लिएपछि गाउँमै ग्रिल उद्योग सुरु गरेका छन् । उनले ५ लाख लागतमा सञ्चालन गरेको उक्त उद्योगबाट पहिलो महिना झण्डै ३५ हजार कमाएको बताए ।

‘ग्रिल उद्योगबाट राम्रो आम्दानी भएको छ’ उनले भने, ‘यसैमा मैले आफ्नो समृद्धि देखेको छुँ,’ उनले भने, ‘सीप सिकेर व्यवहारमा लागू गर्दा रोजगारीका लागि अन्यत्र भौतारिनु पर्दैन ।’

खत्रीले आफूसँगै तालिम लिएका अन्य पाँच जनालाई आफ्नो ग्रिल उद्योगमा रोजगारी दिएको बताए । ‘मैले आफ्नो आयआर्जनको बाटो मात्र पाएको छैन’ उनले भने, ‘अन्यलाई रोजगारी दिँदा झनै खुसी लागेको छ ।’



त्यस्तै, जाजरकोट कुशे गाउँपालिका–४ डम्बरबहादुर नेपाली बाख्रापालन तालिम लिएका छन् । बाख्रापालन तालिम लिएपछि उनले गाउँमा नै व्यावसायिक बाख्रापालन गर्न थालेका छन् ।

बाख्रापालनबाट पनि राम्रो आम्दानी हुने भएकाले अहिले गाउँमा नै बाख्रापालनको तयारी गरेको, त्यसका लागि आफूले पशुपालन फार्मको दर्ता गरेको नेपालीले बताए ।



‘बाख्रापालनका लागि अहिले फार्म दर्ता गर्दैछु’ उनले भने, ‘त्यसका लागि फार्म दर्ता गरी लगानी जुटाउन लागेको छुँ ।’

पछिल्लो समयमा सुर्खेत र जाजरकोट जिल्लामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) आर्थिक सहयोगमा मुक्त हलिया राष्ट्रिय महासंघको साझेदारीमा न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल)ले सञ्चालन गरेको सीपमूलक तालिममा सहभागी भएपछि विक लगायत आर्य आर्जनका लागि अग्रसर बनेका छन् ।

जाजरकोट र सुर्खेत जिल्लामा संस्थामार्फत दुई वर्षको अवधिमा २ सय ५ जनाले बाख्रापालन, बेमौसमी तरकारी खेती, हाउस पेन्टिङ, मेसन, टायलमार्बल फिटिङ, मोबाइल मर्मत, जनरल कुक, हाउस वाइरिङ, अटोरिक्सा मर्मत लगायतका सीपमूलक तालिम सञ्चालन गरेको थियो ।

सरकारले मुक्त घोषणा गरेका मुक्त हलिया परिवारलाई आय आर्जनमा सहयोग पुर्याउन सीपमूलक तालिम प्रदान गरिएको युसेप नेपालका कार्यक्रम संयोजक सञ्जिव खड्काले बताए ।

‘दुई वर्षमा सुर्खेत र जाजरकोटका २ सयभन्दा बढी परिवारलाई सीपमूलक तालिम प्रदान गरिएको छ’ उनले भने, ‘तालिम लिएका सहभागीलाई रोजगारीमा लगाउने काममा पनि हामीले सहयोग गर्छौं ।’

स्थानीय बजारको मागअनुसार तालिम छनोट गरिएकोले तालिम प्राप्त सबै जनशक्तिलाई काममा लगाउन सकिने युसेपका जिल्ला संयोजक खगेन्द्र भट्टराईले बताए ।

‘स्थानीय आवश्यकता र सहभागीको मागअनुसार तालिम सञ्चालन गरिएकोले तालिम पछि सबैलाई रोजगारीमा लगाउनमा पनि सहयोग गर्ने गरिएको छ’ उनले भने । अघिल्लो वर्ष तालिम लिएकाहरू पनि प्रायः आय आर्जनमा लागेको पाइएको उनले बताए ।

तालिमपछि सहभागीहरू स्वरोजगारमा लाग्दा पनि राम्रो गरेको र अरूकोमा काम गर्दा पनि राम्रो पारिश्रमिक पाउने गरेको उनीहरूको भोगाइ छ ।  मालिकको खेतमा हलो जोतेर परिवार पाल्दै आएका हलियालाई सरकारले मुक्त घोषणा गरे पनि आयआर्जनको उचित प्रबन्ध नहुँदा पुनः हलिया बस्नु पर्ने वा साहुको ऋण गाडेर पेट पाल्नु पर्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् ।

२०६५ सालमा सरकारले हलिया मुक्त घोषणा गर्दा जाजरकोटका ४ सय ४४ जनाले मुक्त भएको परिचय पत्र पाएका थिए ।

सुर्खेत र जाजरकोटका मुक्त हलिया पुनर्स्थापना हुन नसक्दा उनीहरू समस्यामा परेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला १४२१, जाजरकोटमा ४४४ र सुर्खेतमा ८२६ जना रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १८:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया