एनएमबी बैंकले पायो ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्ड

एनएमबी बैंकले ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्ड पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने म्यागजिन ‘द बैंकर’ ले प्रदान गर्ने यो अवार्ड पाउने एनएमबी नेपालको पहिलो बैंक हो । एनएमबीको यो ५ वर्षमा चौँथो अवार्ड हो । एनएमबी यसैवर्ष ‘बैंक अफ द इयर २०२१’ को उपाधिसमेत पाएको थियो ।

द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एक होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो । सो उपाधि प्रधानमन्त्री शेर बहादुर देउवाले बैंकका अध्यक्षलाई सञ्चालक समितिका सदस्यहरू तथा एनएमबीका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा प्रदान गरेका हुन् ।

उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइने जनाइएको छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिने बताइको छ ।

बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौताजारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबी सापटी’मार्फत २४ घण्टाभित्र कर्जा प्रवाह गर्ने जस्ता सेवाहरु दिँदै आएको छ । बैंकका देशभरी रहेका २ सय बढी शाखाले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्ने बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २०:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया