२२ करोडको खानेपानी आयोजना निर्माणमा ढिलाइ : दूषित पानी पिउन बाध्य छन् चैनपुरबासी

जयपृथ्वी नगरपालिका भोपुर घर भएका महादेव जोशीले खानेपानीका लागि चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई बिल तिर्न थालेको तीन वर्ष भइसक्यो । तर, अहिलेसम्म पनि उनको घरमा खानेपानीको धारा जडान हुन सकेको छैन । 

‘मसँग पैसा थिएन, पहिलोपटक छोरीले बुझेको तलबबाट १० हजार रुपैयाँ तिरे । तर, अहिलेसम्म पनि धारामा पानी आएको छैन । धाराको पानी कहिले खान पाइन्छ, थाहा छैन,’ जोशीले गुनासो पोखे ।

त्यस्तै, जयपृथ्वी नगरपालिका-९ देवलकी टिटा मगर धामीले पनि आयोजना लागू भएको वर्षमा १० हजार रुपैयाँ तिरेको झण्डै चार वर्ष पुग्यो । तर, उनको घरमा पनि धारा पुग्न सकेको छैन । उनी मात्रै नभएर यो टोलका धेरै स्थानीयले खानेपानीको बिल तिर्न थालेको वर्षौं भइसकेको छ ।

७ अप्रिल २०१९ मा आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी नगरपालिका–११ भोपुरमा काम सुरु गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो । १८ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता भएको र अहिले ट्याङ्की निर्माण गरेर प्रत्येक घरमा खानेपानीको पाइप वितरण गर्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

चैनपुरका लागि ४ लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार, देवल रिठापाठाका लागि १ लाख लिटर पानी अट्ने क्षमता रहेको ट्याङ्की निर्माण गरिएको छ । ट्याङ्की निर्माणपछि करिब ११ सय ६५ घरधुरीलाई पानी उपलब्ध हुने बताइएको छ ।

परियोजना निर्माणका लागि २२ करोड ९२ लाख बजेट छुट्याइएको छ । जसमा एसियाली विकास बैंक र नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोष र उपभोक्ताहरूको ३० प्रतिशत लागत छ । साथै, जयपृथ्वी नगरपालिकाले पनि ४५ लाख र नगरपालिकाकै वडा नम्बर १० र ४ ले गरी १४ लाख रुपैयाँ बजेट सहयोग गरेका छन् ।



यता चैनपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले योजना निर्माणमा ढिला भएको स्वीकार गरे । यद्यपि अब केही समयमै खोनपानी वितरणको काम थाल्ने उनले बताए ।

कोरोना महामारी र लकडाउनका कारण खानेपानी निर्धारित समयमै वितरण गर्न ढिलाइ भएको अध्यक्ष विष्टले बताए । अहिले खानेपानीको सबैकाम सकेर वितरणको तयारी भइरहेको उनले बताए ।



निर्धारित समयमै आयोजना निर्माण नहुँदा चैनपुरबासी सेतीनदी र बाहुली खोलाको दूषित पानी पिउन बाध्य छन् । कुचा हुँदै ल्याइएको खानेपानीको पाइप पटकपटक अवरुद्ध हुँदा सदरमुकामबासी सेतीनदी र बाहुली खोलाको दूषित पानी पिउन बाध्य भएका स्थानीय बताउँछन् । 

‘घरमा जोडिएको धारामा पानी आउँदैन,  सेतीको पानी ल्याएर पिउन बाध्य छौं,’ चैनपुरबासीको गुनासो छ । अहिले चैनपुरमा वितरण गरिँदै आएको खानेपानीको पाइप चैनपुर-कुचा जोड्ने सडक कटानका कारण अवरुद्ध भएको छ । 

एकमात्र विकल्पका रूपमा रहेको उक्त खानेपानी आयोजना नै अवरुद्ध भएपछि अहिले चैनपुरमा शुद्ध खानेपानी चरम अभाव भएको छ ।  

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ११:३८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया