जलवायु परिवर्तन असर : समुद्रमा डुब्दै गरेको एउटा टापु देशको कथा

एकपटक ठण्डा दिमागले आफ्नो घरको बारेमा सोच्नुहोस् त ! त्यसपछि आफ्ना छरछिमेकी, बाटोघाटो, पुल-पुलेसा, खोलानाला सबै एकएक गरी दिमागमा आउनेछन्। र, त्यो स्थानको बारेमा सोच्नुहोस् जसको तपाईंलाई विश्वका अन्य स्थानको भन्दा बढी माया लाग्छ । हो, यो स्थान भनेको- आफ्नो घर, टोल र देश नै हो ।

यदि कुनै स्थान आफूसँग यति नजिक हुन्छ र त्यो यो धर्तीबाट विलीन हुन गइरहेको छ भन्ने थाहा पाउँदा कस्तो अनुभव होला ? 

यो कल्पना मात्र गर्दा पनि छाती फुलेर आउँछ । सास रोकिन्छ । चक्कर लागेजस्तो हुन्छ । तर, यो धर्तीमा दर्जनौं यस्ता टापु छन् जसमा बसोबास गरिरहेकालाई यो काल्पनिक होइन, वास्तविक डर बनिरहेको छ ।

जलवायु परिवर्तनका कारण समुद्रमा जलस्तर बढिरहेको छ, जसको कारण साना टापुहरू समुद्रमा डुब्दै गइरहेका छन् । यस्ता टापुमा अहिले नै पिउने पानीको समस्या जटिल बन्दै गएको छ । 

बिबिसीले प्रशान्त महासागरस्थित एक सानो टापु राष्ट्र तुभालुको अध्ययन गरेको थियो । तुभालु ती देशमा पर्छ जसमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी परेको छ । यसैकारण बिबिसीले वर्तमान अवस्थामा तुभालुले सामना गरिरहेको परिस्थितिको अध्ययन गरेको थियो ।

आफ्नो अस्तित्त्व खतरामा परेपछि तुभालुले अहिले विश्वमा सबैभन्दा बढी प्रदुषण फैलाउने देशहरूसँग अनुरोध गरिरहेको छ- ग्रिनहाउस ग्यासको उत्सर्जन कम गर ।अनुरोधका साथसाथै तुभालु अहिले सबैभन्दा खराब अवस्थासँग कसरी जुध्ने भन्नेबारेमा तयारी पनि गरिरहेको छ । सबैभन्दा खराब अवस्था अर्थात् देश नै समुन्द्रमा डुब्ने अवस्था ।



तुभालुका न्याय, सञ्चार र विदेशमन्त्री सिमोन कोफेले कोप-२६ को बैठकमा जलवायु परिवर्तन मुद्दामा भावुक सन्देश पठाएका थिए । जतिबेला स्कटल्याण्डको ग्लासगोमा विश्वभरि नेता जलवायु परिवर्तनको संकटको समाधान खोज्न घोत्लिरहेका थिए । 

आफ्नो सन्देशमा सिमोनले भनेका थिए, ‘हामी डुबिरहेका छौं र बाँकी सबैको साथ पनि यस्तै त भइरहेको छ ।’ यो सन्देश पठाइरहँदा सिमोन घुँडासम्म डुब्ने गरी पानीमा उभिएका थिए । जुन स्थानमा उनी उभिएका थिए कुनै बेला त्यो सुख्खा स्थान थियो । जलावायु परिवर्तनका कारण उक्त स्थानलाई समुद्रले आफ्नो कब्जामा लिइसकेको थियो । 



सन्देशमा उनले तुभालुले जलवायु परिवर्तनको गम्भीर संकटको सामना गरिरहेको उल्लेख गरेका थिए । आउने दिनमा यो समस्या अझ गम्भीर बन्ने उनले प्रक्षेपण गरेका थिए । जलवायु परिवर्तनको असर यसरी बढिरहे आगामी दिन विश्वमा अन्य देश पनि समद्रमा समाहित हुनेछन् ।
 
समुद्री सतह, सम्भावित खतरा 

तुभालु ९ वटा समुद्री टापु मिलेर बनेको छ । अष्ट्रेलिया र हवाइदेखि यो चार हजार किलोमिटर टाढा छ । यसको सबैभन्दा नजिकका राष्ट्र भनेको किरीबाती, सामोआ र फिजी हुन् ।

तुभालुको उच्च भूमि त्यति अग्लो छैन । सबैभन्दा अग्लो भूमि नै समुद्री सतहबाट मात्र ४ मिटर अग्लो छ । यो देश २६ वर्ग किलोमिटरमा फैलिएको छ जहाँको जनसंख्या करिब १२ हजार छ । किरीबाती र माल्दिभ्सजस्तै तुभालु पनि कोरल चट्टानहरू मिलेर बनेको छ । यसैकारण पनि तुभालुमा जलवायु परिवर्तनको असर धेरै परिरहेको छ ।

सिमोनका अनुसार तुभालुको जमिन निकै साँघुरिदै छ । कुनैकुनै स्थानबाट त दुवैतर्फ समुद्र देख्न सकिन्छ । 

‘बितेका केही वर्षयता हामीले समुद्रको स्तर बढिरहेको  र केही स्थानमा जमिनको हिस्सा पनि कटान भइरहेको देख्दै आएका छौं,’ उनले भनेका छन् ।

तुभालुले पछिल्ला वर्षहरूमा भयानक चक्रवात र सुख्खाको सामना पनि गर्दै आइरहेको छ । यस्ता गतिविधिले समुद्रको तापक्रम बढाएको छ, जसले तुभालुको जमिनलाई असर गरिरहेको छ।  

जता हेर्‍याे त्यतै समुन्द्र, पिउने पानी छैन 

पछिल्लो समय तुभालुले पिउने पानीको समस्या पनि भोगिरहेको छ । देशमा उभिएर जता हेरे पनि समुद्र देखिन्छ, पानी नै पानी छ । तर पिउने पानीकाे मात्रा घट्दै गएको छ । कुनैकुनै स्थानमा त समुद्रको पानी जमिनमुनि पनि घुसेको छ । जसले गर्दा जमिनमुनिको पानीमा असर परिरहेको छ । 

यससम्बन्धमा सिमाेन भन्छन् ,‘खासगरी हामीलाई पिउने पानी वर्षाबाट प्राप्त हुन्छ, तर केही टापुमा भूमिगत पानीको लागि इनार निर्माण गरिन्छ । जुन जमिनमा अहिले समुद्रको जल छिरेको छ त्यहाँ इनार बनाउनुको अब अर्थ छैन । अब हाम्रो खानेपानीको स्रोत भनेको वर्षाको पानी मात्र भएको छ ।’ 

जमिनमा समुद्री पानी छिर्दाको असर तुभालुको कृषि क्षेत्रमा पनि परेको छ । खेतीयोग्य जमिन बाँजो बस्न थालेको छ । नुनिलो पानीले गर्दा खाद्यान्न उत्पादन गर्न कठिन भइरहेको छ र आयातित वस्तुमा निर्भरता क्रमशः बढ्दै गएको उनले बताएका छन् । 

समस्या आजको होइन

तुभालुजस्ता देशले बितेको ३० वर्षदेखि जलवायु परिवर्तनको असर झेलिरहेका छन् । उनीहरूले असर रोक्नको लागि ठोस प्रयास गर्न शक्ति र विकसित राष्ट्रलाई अनुरोध गरिरहेका छन् । तर सुनवाइ कतैबाट भएको छैन । 

सन् १९९० मा प्यासेफिक टापु राष्ट्रहरूले एन्टिगुवा, बरमुडा र माल्दिभ्ससँग मिलेर एक गठबन्धन बनाएका थिए । यो गठबन्धनको उद्देश्य जलवायु परिवर्तनको मुद्दामा साझा धारणा बनाउनु थियो। 

द एलायन्स अफ स्मल आइल्याण्ड कन्ट्रिज गठबन्धमा आज ३९ वटा देश छन् । यो गठबन्धनले जलवायु परिवर्तनको गम्भीर असरबारे विकसित राष्ट्रलाई बुझाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

वैज्ञानिक के भन्छन् ?

संयुक्त राष्ट्रसंघको इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी)को गत वर्ष अगस्ट ९ मा बसेको बैठकले एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन जलवायु परिवर्तनसँग सम्बन्धित थियो । प्रतिवेदनमा ११७ वर्षको जलवायु सम्बन्धि अध्ययनलाई समेटिएको थियो । 

प्रतिवेदनमा सन् १९०१ देखि २०१८ सम्मको बीचमा समुद्रको जलस्तर तीन गुणा वृद्धि भएको उल्लेख छ । 

मानव सभ्यताको लागि रेड अलर्ट

‘प्रशान्त महासागरमा रहेका टापुहरूको अवस्था सबैभन्दा बढी खराब छ,’ जलवायु परिवर्तनका विज्ञ तथा आइपिसिसी प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता डा. मोर्गन वाइरियुले भने ।

प्रशान्त क्षेत्रमा समुद्रको सतह तीव्र गतिमा वृद्धि भइरहेको उनले जनाए । वाइरियुका अनुसार समुद्री सतह एक मिटर मात्र बढ्दा पनि तटीय क्षेत्रको जैविक विविधतामा ठूलो असर गर्नेछ । र, यसको सबैभन्दा ठूलो असर मानवजातिमा पर्नेछ ।

आइपिसिसीले आफ्नो प्रतिवेदनमा यदि उत्सर्जन स्तर उच्च भयो भने सन् २१०० सम्म समुद्रको स्तर एक मिटरभन्दा बढी वृद्धि हुनेछ । यदि उत्सर्जन नियन्त्रण गर्न नसके सन् २१५० सम्म पाँच मिटरको वृद्धि पनि हुनसक्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
 
प्रतिवेदनमा उल्लेख गरेअनुसार समुद्री सतह बढे विश्वका धेरै जसो भूभाग जलमग्न हुनेछन् ।

दोस्रो विकल्प 

जलवायु परिवर्तनको वर्तमान अवस्थालाई नकार्न सक्ने अवस्था छैन । तर विश्वस्तरमा यसका असरलाई कम गर्न ठोस कदम पनि चालिएको छैन । यही परिस्थितिमा तुभालुका जनताहरू भविष्यको विकल्पको खोजी गरिरहेका छन् । 

‘हाम्रो देश समुद्रमा डुबिरहेको छ । यो हाम्रो लागि सबैभन्दा खराब अवस्था हो । हामीले हाम्रो भूमि छोडेर जानुपर्ने हुन्छ,’ सिमोनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड हाम्रोजस्तो देशको पक्षमा छैन। किनकि हामीले यसअघि कुनै पनि देश जलवायु परिवर्तनका कारण गायब भएको देखेका छैनौं।’

तुभालु अहिले अन्तर्राष्ट्रिय स्तरमा सबैले स्वीकार गर्ने कानुनी बाटो खोजिरहेको छ । देश गायब भए पनि एक देशको रूपमा तुभालुको पहिचान रहने गरी समाधानको खोजी भइरहेको छ । सिमोन भन्छन्, ‘हामीले एक सार्वजनिक घोषणा गरेका छौं, यदि हाम्रो देश डुब्यो भने हामी हाम्रो लागि जमिनको माग गर्छौं ।’ 

तुभालुले हालसम्म त्यो देशको नाम भनेको छैन जहाँ स्थानान्तरण भएर उनीहरू जान चाहन्छन् । ‘स्थानान्तरण हाम्रो लागि अन्तिम विकल्प हो,’ उनले भने । 

क्षतिपूर्तिको लागि कानुनी लडाइँ

तुभालुले जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति विकसित देशसँग माग गरेको छ । विकसित देशकै कारण जलवायु परिवर्तन भइरहेको निष्कर्ष विभिन्न अध्ययनबाट निस्किएपछि तुभालुले उक्त माग गरेको हो ।

आफूले गर्दै नगरेको कामको असर सबैभन्दा बढी भोग्नु परेका कारण तुभालुले विकसित राष्ट्रसँग क्षतिपूर्ति माग गरिरहेको हो । यो माग तुभालुले संयुक्त राष्ट्रसंघमा दर्ता गरेको छ । 

-बिबिसीबाट साभार

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १३:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया