कांग्रेस महाधिवेशन : देउवाको गृहप्रदेशमा को बलियो?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सकिएको छ । दुई जिल्लामा जिल्ला अधिवेशन सम्पन्न नभए पनि महाधिवेशन चयन प्रक्रिया सकिएको हो । 

कैलाली र अछाममा जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र गर्ने सम्बन्धित जिल्लाले जनाएका छन् । आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रदेश अधिवेशनका लागि कांग्रेस ९ सय ७२ महाधिवेशन प्रतिनिधि धनगढी पुगिसकेका छन् । 

प्रदेशमा कञ्चनपुर, बझाङ, डडेल्धुरा, डोटी, संस्थापन पक्षका जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । यस्तै, बाजुरा, बैतडी र दार्चुला सभापतिमा संस्थापन इतर पक्षका विजयी भएका छन् ।

२४ मंसिरमा हुने कांग्रेस महाधिवेशनबाट अध्यक्षमा दोहोरिने आकांक्षा राखेका प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा को बलियो भन्ने चौतर्फी चासो छ । प्रदेशमा महाधिवेशन प्रतिनिधिका रूपमा देउवानिकट उम्मेदवार विजयी भएका छन् ।

नौवटा जिल्ला रहेको यस प्रदेशका सात वटामा देउवा पक्षका अधिकांश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । बैतडीमा भने दुवै पक्षका महाधिवेशन प्रतिनिधि बाँडफाँट भएका छन् । दिलेन्द्रप्रसाद बडूको पकड क्षेत्र रहेको दार्चुलामा भने देउवा प्यानलका महाधिवेशन प्रतिनिधि निर्वाचित छैनन् । 

बैतडीमा कांग्रेसको संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा निर्वाचित भए पनि उनले देउवालाई नै सहयोग रहने बताइसकेका छन् । बैतडी सभापतिमा निर्वाचित चतुरबहादुर चन्दले भनेका छन्, ‘हुन त म संस्थापन इतर पक्षकै नेता हुँ र मेरो गणना पनि सोहीअनुसार हुन्छ । तर, सभापतिमा शेरबहादुर दाई उम्मेदवार भए फरक हुन्छ । सुदूरपश्चिमको नेतालाई असहयोग गर्ने कुरै हुँदैन । महाधिवेशनमा शेरबहादुरलाई सहयोग रहन्छ ।’ उनले प्रदेश अधिवेशनमा कुन टिमलाई सहयोग गर्नेबारे भने टुंगो नलगाएको बताए । 



संस्थापन इतर पक्षका नेता दिलेन्द्र बडूले पनि देउवालाई महाधिवेशनमा सहयोग हुने आश्वासन दिएको चर्चा छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचित १ सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये १ सय १३ जना संस्थापन अर्थात् देउवानिकट छन् । १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापन इतर पक्षबाट विजयी भएका छन् ।

डोटीमा प्रतिनिधिमा निर्वाचित अधिकांश संस्थापन पक्षमै छन् । डोटीका एक नेताले भने, ‘डोटीको निर्वाचन क्षेत्रमा पाँच/छ जनाबाहेक अन्य देउवा पक्षकै प्रतिनिधि निर्वाचित भएका छन् ।’



डोटीमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का, पदमराज जोशी, दिलबहादुर बम, यज्ञराज पाठक, कल्पना सोब र पार्वती चन्द संस्थापनइतर पक्षका मानिएका छन् ।

देउवाकै गृह जिल्ला डडेल्धुरामा महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमै छनोट गरिएको थियो । त्यहाँ पनि देउवा पक्षको एकलौटी छ । यस्तै, बझाङमा प्रतिनिधिसभा सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १२ जना पौडेल पक्षका महाधिवेशन प्रतिनिधि छनोट  छन् । 

प्रदेशकै दोस्रो ठूलो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा पनि देउवा पक्षकै महाधिवेशन प्रतिनिधिहरूको वर्चश्व रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको सो जिल्लामा देउवा पक्षकै मानिएका एनपी साउँद र रमेश लेखकको भिडन्त थियो ।

लेखकको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा उनकै प्रतिनिधि निर्वाचित भएका छन् भने साउँदको पकड निर्वाचन क्षेत्रमा उनकै महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । कञ्चनपुरमा ७८ जना महाधिवेशन प्रतिनिधि रहेकोमा पौडेल पक्षका झण्डै १८ जना निर्वाचित रहेको जनाइएको छ ।

‘केही व्यक्ति खुलेका छैनन्, पौडेल पक्षका महाधिवेशन प्रतिनिधि बढ्न पनि सक्छन्’, एक नेताले भने । प्रदेशको अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मतगणनापछि विवाद हुँदा  पुनः मतदान भएको थियो । दोस्रो पटक भएको मतदानमा पनि देउवा पक्षकै बहुमत आएको छ ।

यस्तै, क्षेत्र नम्बर २ मा पनि देउवा पक्षकै बहुमत छ । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधि मध्ये १० जन संस्थापन र १५ जना संस्थापन इतर पक्ष छन् । अछाममा पूर्वसूचना तथा सञ्चारमन्त्री गोविन्दबहादुर शाह र कांग्रेस जिल्ला सभापति भरतकुमार स्वाँरको नेतृत्वमा अर्को टिम बनेको थियो ।

दुई टिमबाट संस्थापन पक्षका २० जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन । संस्थापन इतरका ५ जना विजयी भए । क्षेत्र नम्बर २ मा संस्थापनका २२ जना र संस्थापन इतरका ३ जना निर्वाचित भएका थिए । 

दुवै निर्वाचन क्षेत्र भएको अछाममा ४२ जना संस्थापन र ८ जना संस्थापन इतरमा महाधिवेशन प्रतिनिधि विजयी भएका छन । क्षेत्र नम्बर १ को विवादले जिल्ला अधिवेशन तोकिएको समयमा हुन नसकेको कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए । 

देउवाका प्रिय दुई नेताका आ-आफ्नै समूह

सुदूरपश्चिममा देउवाको राम्रो प्रभाव छ । तर, पनि पछिल्लो समय प्रदेशमा देउवा समूहभित्रै दुई प्यानल देखिएका छन् । सुदूरपश्चिमका प्रभावशाली नेताद्वय रमेश लेखक र एनपी साउद देउवाका प्रिय पात्र मानिन्छन् ।  प्रिय पात्र मानिने दुवै नेता देउवा समूहकै भएपनि सुदूरपश्चिममा उनीहरूको छुट्टाछुट्टै प्यानल छ ।

केन्द्रमा देउवा पक्ष नै रहे पनि साउद र लेखकले प्रदेशमा आफ्नो प्रभाव जमाउन निकै कसरत गरिरहेको देख्न सकिन्छ । विशेषगरी कम प्रभाव रहेका पहाडी जिल्लामा उनीहरू आफ्नो प्यानल विस्तारमा लागेका छन् ।

कञ्चनपुरमा लेखकको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा उनकै प्रतिनिधि निर्वाचित भएका छन् भने साउदको पकड निर्वाचन क्षेत्रमा उनकै महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । केन्द्रमा देउवा पक्ष भनेर चिनिने दुवै नेताले प्रदेशमा आफ्नो प्रभाव कायम गराउन प्यानल खडा गरेका थिए । तर तराईका दुई जिल्लामा यी दुईको राम्रो प्रभाव रहे पनि बाँकी सात पहाडी जिल्लामा भने उनीहरूको प्रभाव न्यून छ । तर देउवा समूहको प्रभाव चाहिँ छ ।

को-को छन् प्रदेश सभापतिको आकांक्षी?

प्रदेशमा नेपाली कांग्रेसबाट पूर्वसंघीय राज्यमन्त्री, सुदूरपश्चिम प्रदेश सभा सदस्य, जिल्ला सभापतिहरू, युवा तथा विद्यार्थी नेताहरूले पनि सभापतिमा इच्छा देखाएका छन् । कैलाली जिल्ला सभापति नरनारायण शाह ‘मनु’, पूर्वपरराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन् ।

सभापतिका दाबेदार सबै संस्थापन पक्षका हुन् । सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ । 

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १३:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया