गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको एमाले विधान महाधिवेशनले खारेज गरेको पोलिटब्यूरो चितवनको होटल क्राउनमा पुगेर ब्यूँताइयो । सर्वसम्मति नेतृत्वको चाहना राख्दाराख्दै नेताहरूको व्यवस्थापन गर्न सकस परेपछि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रको अघिल्लो दिन मध्यराति केही पदाधिकारीको संख्या थप्दै पोलिटब्यूरो पनि ब्यूँताएका थिए ।
चितवनमा पाँच दिनसम्म चलेको एमाले महाधिवेशनबाट अध्यक्षसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य चुनिइसकेका छन् । तर, स्थायी कमिटी र पोलिटब्यूरो एमालेले घोषणा गरिसकेको छैन ।
एमाले महाधिवेशनमा ओलीको इच्छामा ब्रेक लगाएका डा. भीम रावल केन्द्रीय सदस्यमा पनि शपथ लिएनन् । ओलीको लिस्टमा परेकाहरू सबैले मतदान प्रक्रियाबाट निर्वाचित भएर चितवनबाट फर्किसकेका छन् ।
काठमाडौं फर्किएको केन्द्रीय पदाधिकारीको टोली अब स्थायी कमिटी र पोलिटब्यूरो छान्ने तयारीमा छ । यद्यपि नेताहरूबीच क–कसलाई बनाउने भन्नेबारे चाहिँ सहमति भएको छैन ।
कसरी छानिन्छन् स्थायी कमिटी सदस्य ?
विधानतः महाधिवेशनबाट छानिएर आएका १९ जना पदाधिकारी स्थायी कमिटीमा समेटिनेछन् । एमालेले विधानमा व्यवस्था गरेअनुसार स्थायी कमिटी सदस्य ४५ जनाको रहनेछ । केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखहरू पनि स्थायी कमिटीमा समावेश हुनेछन् ।
१९ जना पदाधिकारी र तीन जना आयोग प्रमुख गरी २२ जना स्वतः स्थायी कमिटीमा पर्ने एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार बाँकी २३ जना पार्टीको केन्द्रीय सदस्यबाट छानिनेछ ।
राष्ट्रिय महाधिवेशनबाट ओलीले सर्वसम्मतिको सूची पढ्दै दिएको सन्देशले स्थायी कमिटीमा पनि सोही विधि ओलीले अपनाउनसक्ने ती नेताको आशंका छ । तर, आठौँ र नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई स्थायी कमिटीमा समेट्नेपर्ने ती नेताको भनाइ छ ।
पोलिटब्यूरो कसरी छान्ने ?
अध्यसहित पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरू निर्विरोध सहमतिकै आधारमा गर्ने ओलीको चाहना थियो । तर, रावलले आफ्नो अडान फिर्ता नलिएपछि उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा टंक कार्कीलगायतका लागि निर्वाचन भयो ।
पोलिटब्यूरो छान्ने जिम्मा पनि पार्टीपंक्तिले ओलीलाई नै सुम्पिएको नेताहरूबीच चर्चा छ । तर, दुई कार्यकालसम्म केन्द्रीय सदस्यमा निर्वाचित व्यक्तिलाई पोलिटब्यूरोमा समावेश गर्नपर्ने एक नेता बताउँछन् ।
उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरूमध्येबाटै पोलिटब्यूरो छानिनेछ । नवौँ महाधिवेशनमा स्थायी कमिटी र पोलिटब्यूरो छान्नका लागि पनि चुनाव भएको थियो । यो महाधिवेशनमा भने त्यस्तो भएन ।
बन्दसत्रको अघिल्ला दिन बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो हुने निर्णय गरेको छ । सोहीअनुसार केन्द्रीय कमिटीका सदस्यहरूमध्येबाट ९९ सदस्यीय पोलिटब्यूरो निर्माण हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।