नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसको कोइराला-पौडेल प्यानलबाट उम्मेदवारको अन्तिम नामावली टुंगो लागि नसके पनि सभापतिका दाबेदार शेखर कोइरालाले गुरुराज घिमिरेलाई उम्मेदवार बनाउन चाहेपछि थापा र घिमिरेबीचमा भिडन्त हुने देखिएको हो ।
बिहीबार दिउँसो उम्मेदवार बनाउने विषयमा भएको बैठकमा शेखरले घिमिरेलाई सभापति बनाउनु पर्ने अडान राखेका थिए । कोइराला निवासमा भएको बैठकमा सहभागीका अनुसार शेखरले घिमिरेलाई प्रदेशको सभापति बनाउनु पर्ने बताएका थिए ।
तर, मनोनयन दर्ता गर्ने बेला आइसक्दा पनि संस्थापनइतर पक्षले साझा उम्मेदवार घोषणा गर्न सकेका छैन ।
प्रदेश-१ को सभापतिका रूपमा कांग्रेस प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले पनि यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी पनि संस्थापनइतर पक्षका आकांक्षी हुन् ।
तर, शेखरले राजीवभन्दा गुरुराजलाई रोजेपछि राजीव उम्मेदवार बन्ने सम्भावना कम भएको उनी निकट नेताहरू बताउँछन् । राजीवले पनि साझा उम्मेदवार बन्ने बताउँदै आएका छन् । राजीवका अनुसार संस्थापनइतरबाट साझा उम्मेदवार हुने र त्यसमा जो पनि हुन सक्ने बताए ।
संस्थापनइतरका प्रदेश नेताहरूले गुरुराजलाई भन्दा राजीवलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका छन् ।
संस्थापन पक्ष देउवा-सिटौला पक्षबाट भने बुधबारै झापाका उद्धव थापाले प्रदेश १ को सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संस्थापन पक्षका थापाले सम्भावित उमेदवारको रूपमा यसअघि नै प्रदेशमा चुनावी अभियान सुरु गरेका थिए ।
थापाले कांग्रेसलाई बदलिँदो परिवेशमा लोकतान्त्रिक मूल्य मान्यतासहित दर्बिलो रूपमा अघि बढाउन आफू उमेदवार बन्न लागेको बताएका छन् ।
उनले भने, ‘म पार्टीको गाउँदेखि क्षेत्र हुँदै जिल्लामा दुई पटक नेतृत्वमा पुगिसकेको छु । अब नयाँ संरचनाअनुसार पार्टीलाई प्रदेशस्तरमा अझ सशक्त बनाउन मैले नेतृत्व लिन सक्छु’ थापाले भने ।
पौडेल–कोइराला समूहबाटै सभापतिको दौडमा रहेका नेता घिमिरेले प्रदेशमा आफ्नो आवश्यकता रहेको बताए ।
नयाँ संरचनाअनुसार प्रदेशमा केन्द्र र तल काम गरेको मानिस आवश्यकता भएकाले आफू यसका लागि सक्षम भएकाले प्रदेशमा झरेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।