नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर रहेको गुनासो गरेका छन् । अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले बासस्थानदेखि अधिवेशन स्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।
अधिवेशनमा सहभागीलाई बस्नका लागि होटलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्डमा पनि आधिकारिक हस्ताक्षर नभएको, झोलामा कागजको स्टिकर टाँसिएको जस्ता उनीहरूको आरोप छ ।
हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले आफूले महाधिवेशनमा सहभागी शुल्क २ हजार रुपैयाँ बुझाएको तर बस्न उपयुक्त नभएको होटलमा बसालिएको बताए ।
‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो कि जहाँ खान बस्न र सुत्न लायक थिएन’ उनले भने, ‘पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो ।’
डिजिटल युगमा पनि कार्डमा आधिकारिक हस्ताक्षर नगरेर लापरबाही गरेको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारिक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनु पर्यो नि !’ उनले भने, ‘आधिकारिक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’
कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको ती सहभागीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।