[अन्तर्वार्ता] पाँचथरका कांग्रेस सभापति जबेगूलाई प्रश्न – अब गुट भत्किन्छ ?

कम्युनिस्टको बलियो पकड रहेको पूर्वी पहाडी जिल्ला पाँचथरमा नेपाली कांग्रेसको ‘कमाण्ड’ सम्हालेका छन्, रूपनारायण जबेगूले । यो जिम्मेवारी सम्हाल्नुअघि उनी जिल्ला सचिव थिए ।

उनै जबेगूको नेतृत्वमा पाँचथर कांग्रेस स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा जानेछ । वैशाखमा स्थानीय र एक वर्षपछि प्रदेशसँगै संघको निर्वाचन हुनेछ । यही तीन तहको निर्वाचनमा उनको पहिलो पटक अग्नि परीक्षा हुनेछ ।

यसपछि उनको अग्नि परीक्षा हुने भनेको पार्टीका नेता कार्यकर्ताहरूबीच भावनात्मक एकता कायम गराउनु हो । पार्टी अधिवेशनमा पराजय भोगेका नेताहरूको मन कुँडिएको छ । भावनात्मक रूपमा टाढा हुँदै गएका छन् ।

यस्तो अवस्थामा भावनात्मक एकता कायम गर्न नसके पार्टीलाई नेतृत्व प्रदान गर्न अहसज त हुन्छ नै, आगामी निर्वाचनमा अन्तर्घात हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । यससँगै पार्टीलाई अझ सुदृढ, गतिशील र लोकप्रिय बनाउने अभियानको नेतृत्व गर्न पनि चुनौती थपिन्छ ।

उनै जबेगूसँग फरकधारकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

निर्वाचनबाटै तपाईं सभापति हुनुभयो । निर्वाचनमा संस्थापन पक्षबाट प्यानल बनाएर जानुभएको थियो । अब त गुट भत्काएर साझा सभापति हुने कि संरक्षक बनेर गुटको सभापति बन्ने ?



सौहार्दपूर्ण ढंगले भएको निर्वाचनबाट सभापतिमा निर्वाचित भएँ । लोकतन्त्रवादीहरूले निर्वाचन स्वीकार्नुपर्छ । निर्वाचनको परिणाम आइसकेपछि निर्वाचित पदाधिकारीहरूले आफ्ना सबै नेता कार्यकर्ताबीच भावनात्मक एकता कायम गर्दै एकले अर्काको अस्तित्व स्वीकारेर अघि बढ्नुको विकल्प छैन ।

२१८ मतान्तरले पाँचथरका नेता कार्यकर्ताहरूले सभापतिको जिम्मेवारी दिएपछि अग्रजलाई सम्मान र युवालाई क्रियाशील गरेर अघि बढ्ने हो । र, हिजो जुनसुकै समूह वा गुटमा रहे पनि एउटै कांग्रेसमा समेटेर लाने प्रयास मेरो हुन्छ ।



गुट चाहिँ के गर्नुहुन्छ ?

गुट आन्तरिक लोकतन्त्रमा प्रतिस्पर्धा गर्न चाहिँदो रहेछ । त्यो अधिवेशनसम्म मात्र हो । अधिवेशन सम्पन्न भइसकेपछि त सिंगो पार्टीको नेतृत्व हुनुपर्छ । म हुन्छु पनि । म गुटको नेतृत्व गर्दिनँ । गुटको भइयो भने असफल भइन्छ । त्यही भएर सबै साथीभाइसँग साथमा साथ, काँधमा काँध मिलाएर गुटको नभई पार्टीको नेता बनेर नेतृत्व गर्ने हो । यो मेरो इच्छा हो । यसले पार्टीलाई हित हुन्छ ।

निर्वाचनमा गएपछि स्वाभाविक रूपमा पराजय बेहोरेका नेताहरूको मन कुँडिएको होला । अब भावनात्मक एकता कायम गरेर कसरी अघि बढ्ने योजना हो ?

‘इलेक्सन’ हुँदा ‘सेलेक्सन’ मा नपरेका सबै साथीहरू एकै घरभित्रका सदस्य हुन् । त्यो घरभित्रका भ्रातृ संगठन, शुभेच्छुक संगठन अनि आमन्त्रित वा मनोनीत कार्यसमितिका सदस्य धेरै भएको हुनाले सबैलाई समेटेर लानका लागि क्षमताले भ्याएसम्म मेरो प्रयास हुनेछ । भोलि जनप्रतिनिधिको उम्मेदवार चयन गर्ने बेलामा सबैलाई समेटेर जाने हो । परिपक्वता, क्षमता र लगानीलाई मूल्यांकन गरेर उम्मेदवार बनाउँछौँ ।

उसो भए ती हुनेवाला उम्मेदवारहरूलाई निर्वाचनमा जिताउने गरी तपाईं नेतृत्वको पाँचथर कांग्रेसले के गर्छ ?

केन्द्रको महाधिवेशन सकिएपछि जिल्ला फर्केर पार्टीको जिल्ला समिति बैठक राख्छु । समसामयिक विषयवस्तुसँग मेल खाने निर्णयहरू गरेर ६० वटै वडाका नेता कार्यकर्ताहरूलाई शुभकामना ज्ञापन गर्दै पार्टी संगठनलाई मजबुत बनाउन हाम्रो टिम खट्नेछ । हामी कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन चाहन्छौँ । ऊर्जाशील हाम्रो टिम खटेर गतिशील पार्टी र जनताको लोकप्रिय पार्टी बनाउँछौँ । यसरी आसन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी अहोरात्र खट्ने मेरो प्रण छ ।

त्यति गर्दा जितिन्छ निर्वाचन ?

चुनाव जिताउने अधिकतम प्रयास हाम्रो रहन्छ । तर, अधिवेशनका कारणले हामीबीच रहेको आन्तरिक तिक्तताको उपज केही समस्या छन् । ती समस्यालाई चिरफार गर्दै भावनात्मक एकताका लागि असन्तुष्ट र खिन्न मन भएका साथीहरूलाई समेट्छौँ र उहाँहरूलाई उचित जिम्मेवारी दिन्छौँ ।

पदाधिकारीदेखि सदस्यसम्मै छासमिस निर्वाचित भएका छन् । तपाईंलाई एक्लौटी ढंगले निर्णय गरेर अघि बढ्न त असहज हुने देखियो नि होइन ?

पहिलो कुरा त के बुझ्नुपर्छ भने अधिवेशन भनेको त नेतृत्व जन्माउने प्रक्रिया त हो । अधिवेशनमा उम्मेदवारी दिएर निर्वाचन लड्नु लोकतन्त्रको सौन्दर्यता हो । यसलाई हामीले ‘इलेक्सन’ भन्दा पनि कांग्रेसभित्रको ‘सेलेक्सन’ हो भनेर बुझ्नुपर्छ । सबै नेताहरूको बुझाई यही हुनुपर्छ ।

फेरि, जसरी फुटबल खेल्न टिम बनाइन्छ, त्यसरी नै अधिवेशनमा टिम बनाउनुपर्दोरहेछ । त्यतिबेला अर्को टिमबाट निर्वाचित भएका साथीहरूको र हाम्रो गन्तव्य एउटै हो, हाम्रो विचार एउटै छ, घर एउटै छ, जिल्ला एउटै छ । भोलि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा जाँदा हाम्रो विपक्षी एउटै भएको कारणले सम्भव भएसम्म सबै साथीहरूसँग सहकार्य र कार्यगत एकता गर्दै जाने हो । साथीहरूले पनि निर्वाचित भएपछि हामी समग्र कांग्रेसको नेता हौँ, गुटको होइनौँ भनेर अगाडि बढ्नुहुन्छ भन्ने लाग्छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १७:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया