नेपाली कांग्रेस प्रदेश- १ को अधिवेशन भोलिसम्मका लागि स्थगित भएको छ । निर्वाचन कार्यक्रम भने यथावत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
विराटनगरस्थित विराट नर्सिङ होमछेउको खाली जग्गामा अधिवेशनको आज उद्घाटन गर्ने कार्यक्रम थियो । उद्घाटन कसरी गर्ने भन्ने विषयमा सहमति नहुँदा कार्यक्रम स्थगित भएको हो ।
उद्घाटन समारोहमा कार्यकर्ताको भीडभाड बढेपछि कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने तय भए पनि उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कि शेखर कोइरालाले गर्ने भन्ने विषयमा विवाद भएको स्रोतको भनाइ छ ।
‘नेताहरूबीच कार्यक्रम उद्घाटन समारोह कसरी गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको हो । एउटा पक्षले शेरबहादुर देउवाले भर्चुअल माध्यामबाट कार्यक्रम उद्घाटन गर्ने भनेका थिए भने अर्को पक्षले शेखर कोइराला वा कृष्ण सिटौलामार्फत नै कार्यक्रम उद्घाटन हुनुपर्ने अडान राखेपछि विवाद भयो’ एक नेताले भने । उनका अनुसार उद्घाटनको विषयमा दुवैपक्ष छलफलमा बसेपछि समय लम्बिएको हो ।
यता, विराटनगर महानगरपालिकाका कांग्रेस सभापति दीपक चापागाईंले भने प्रतिनिधिहरूको नाम लिष्ट नआइपुगेको कारण अधिवेशनको उद्घाटन समारोह भोलि बिहानसम्मका लागि स्थगित भएको बताए । भोलि बिहान ८ बजेदेखि कार्यक्रम उद्घाटन हुने चापागाईंले बताए । भोलि बिहान ९ बजेदेखि नै उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।