संविधानको सफल कार्यान्वन गर्न कांग्रेस ड्राइभिङ सिटमा आउनुपर्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् ।

कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनको बिहीबार प्रमुख अतिथिको आसनबाट बोल्दै उपसभापति निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसलाई ड्राइभिङ सिटमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

'संविधानको सफल कार्यान्वयन कांग्रेसले मात्र गर्न सक्ने भएकाले देशको नेतृत्वका लागि ड्राइभिङ सिटमा आउनु आवश्यक छ,’ उनले भने । मधेसी, आदिवासी, जनजाती, सबै धर्मको प्रतिनिधित्व गराउनका लागि कांग्रेस गम्भीर रहेको बताउँदै उनले यसका लागि सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने आवश्यकता रहेको जिकिर गरे ।

निधिले सबै जातजाति, धर्म, मधेशी, आदिवासी, जनजाती लगायतका वर्गको समान प्रतिनिधित्व गराउनका लागि कांग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने बताए ।

कांग्रेसको १४औं महाधिवेशनलाई आगामी निर्वाचनसँग जोडेर हेर्नसमेत उनले  कार्यकर्तालाई आग्रह गरे । अहिलेदेखि नै तयारी सुरु गर्नुस,’ निधिले भने, ‘कम्युनिस्टहरू वा तथाकथित मधेशवादी दलहरू संविधानको सफल कार्यान्वयन गराउन सक्दैनन्, कांग्रेसले मात्रै गर्न सक्छ ।’

मधेशी जनताको अधिकार सुनिश्चित गराउन संविधान संशोधनका लागिसमेत कांग्रेस तयार रहेको उनले प्रतिबद्धता जनाए ।



अर्को प्रसंगमा बोल्दै उपसभापति निधिले कांग्रेसले अब गठबन्धनमा चुनाव नलड्नेसमेत बताए । कांग्रेसले देशमा बहुमतको सरकार बनाउनका लागि वडादेखि प्रदेश तथा संघसम्म एक्लै चुनाव लड्नुपर्ने निधिको भनाइ थियो ।

निधिले कांग्रेसले प्रदेश २ मा बहुमत ल्याउन नसके देशमा समेत बहुमत ल्याउन नसक्ने बताए । उनले भने, ‘जबसम्म कांग्रेस प्रदेश २ मा जित्दैन तबसम्म देशमा बहुमतीय एक्लो सरकार बन्दैन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सफल कार्यान्वयनसमेत हुन सक्दैन ।’



उपसभापति निधिले प्रदेश २ लाई अन्य पार्टीको जिम्मामा नछोड्न आह्वानसमेत गरे ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १९:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया