प्रकाशमानलाई प्रश्न - संस्थापन इतरबाट सभापतिको दाबेदार को ?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असक्षम नेतृत्व पार्टीको १४ औं महाधिवेशनबाट फेर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता सिंहले गर्विलो इतिहास भए तापनि सक्षम नेतृत्व नहुँदा पार्टीमा अलोकतान्त्रिक अवस्था आएका बताए ।

आफूलाई ‘नेचुरल’उम्मेदवार भन्दै पार्टीमा विधि, पद्धति र एकताको लागि आफूले नेतृत्व दाबी गरेको बताए । कम्युनिस्ट सरकारले काम नै गर्न नसक्दा पनि कमजोर नेतृत्वको कारण कांग्रेसले भूमिका खेल्न नसकेको बताउँदै उनले आफू नेतृत्वको लागि योग्य भएको दाबी गरेका हुन् ।

संस्थापन इतरको सभापति को भन्ने प्रश्नमा उनले भने ‘म योग्य दाबेदार हुँ, मैले नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दा नेपाल कसरी समृद्ध बनाउने, कांग्रेसको नेतृत्वमा देशमा आर्थिक विकास हुने अवस्था ल्याउन सक्छु ।’ उनले घुमाउरो पारामा शेरबहादुर देउवाकै कारण मुलुकको विकास हुन नसकेको बताए ।  

कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी हेटौंडाको वन विज्ञान अध्ययन संस्थान, फरेष्ट्री क्याम्पसको खेल मैदानमा बिहीबारबाट सुरु भएको हो । कांग्रेस नेता तथा अधिवेशन बागमती प्रदेश संयोजक तथा पूर्वउप–सभापति प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उद्‍घाटनलाई कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटनसहित अधिवेशन सुरुवात भएको घोषणा गरेका थिए ।

उद्घाटनसत्रमा कांग्रेस सह–महामन्त्री प्रकाश शरण महत, पूर्वमन्त्री एवं कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर १८ गते (शनिबार) सम्म चल्ने अधिवेशनमा करिब १९ सय अधिवेशन प्रतिनिधि रहेका छन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।



३ जनाको नेतृत्वमा दाबी

कांग्रेसको बागमती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।



शेरबहादुर देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान रहेका छन् ।

अधिवेशनमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन् ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १९:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया