नारामै सीमित अपांगता दिवस, सहानुभूति होइन, सम्मान र समानताको खाँचो
फरकधार / १७ मंसिर, २०७८

सन् १९८१ मा ‘पूर्ण सहभागिता र समानता’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघबाट सुरु भएको राष्ट्रिय अपांगता दिवस सन् १९८३ मा अपांगता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुर्नस्थापना र रोकथाममा जोड दिँदै अपांगतासम्बन्धि १० वर्षे कार्ययोजना पारित गर्‍याे । यी कुराहरूलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपांगता दशकका रूपमा घोषणा भएको थियो ।
 
सन् १९९२ मा उक्त अपांगतासम्बन्धि १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वका विभिन्न देशमा मनाउन थालियो । नेपालमा पनि सन् १९९३ देखि यो दिवस मनाउन थालिएकाे हाे । 

नेपालको संविधानले अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने व्यवस्थालाई सुनिश्चित गरेको छ । अपांगता भएका मानिसको हक अधिकारको सुनिश्चितत गर्न, जनमानसमा अपांगता भएका मानिसलाई फरक आँखाले हेर्नु हुँदैन भन्ने चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई माथि उठाउनका लागि भनेर विश्वभर अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउन थालेको लामो समय भइसक्यो । तर, शिक्षा र स्वास्थ्यको कुरा परै जाओस् अपांगता भएका मानिसलाई विभेद गर्नु हुँदैन भन्नेसम्म हेक्का छैन कतिपय मानिसहरूलाई ।

सरकारले अपांगता भएका व्यक्तिको शिक्षामा समान पहुँच भन्दै निशुल्क शिक्षाको व्यवस्था गरेपनि अपांगतामैत्री विद्यालय निर्माणमा भने सरकारले जोड दिएको छैन । समाजका र राज्य व्यवस्थाका कतिपय कुराहरूले अपांगता भएका मानिसमात्रै होइन, उनीहरूका परिवारसमेत पीडित बन्न पुगेका छन् । 



अपांगता भएका मानिसहरूलाई पनि समान रूपमा बाहिर निस्कनका लागि समाजले पनि उनीहरूलाई सबल मानिस झैं स्वीकार गर्न समुदायस्तरमै चेतनाको विकास गर्नुपर्ने देखिए पछि केही वर्षदेखि सिआइएल काठमाडौं र कादम्बरी मेमोरियल कलेज अफ सोसल वर्कले संयुक्त रूपमा सचेतना तालिम दिँदै आएको छ । 



यो वर्ष पनि सिआइएल काठमाडौं र कादम्बरी मेमोरियल कलेज अफ सोसल वर्कले दुई दिने ‘अपांगता भएका बालबालिकाको लागि शिक्षाको पहुँच अभिवृद्धि प्रवर्धन : ज्ञान अभिवृद्धि, कौशल विकास र संवेदनशीलता अभिवृद्धि’ कार्यक्रमको आयोजना, तालिम तथा रिसर्च गरेको थियो । 

रिसर्चका क्रममा अहिले पनि धेरै अपांगता भएका बालबालिका विद्यालय जानबाट बञ्चित रहेको भेटियो । नेपालमा ७७ हजार ७०५ जना अपांगता भएका बालबालिकाको तथ्यांक छ । युनिसेफले सार्वजनिक गरेको रिपोर्टअनुसार अझै पनि ३५ प्रतिशतभन्दा धेरै अपांगता भएका बालबालिका स्कुल जानबाट बञ्चित छन् । 

विभिन्न स्कुल, समुदाय र अभिभावकमा सिआइएल काठमाडौं र कादम्बरी मेमोरियल कलेज अफ सोसल वर्कले गरेको सर्वेक्षणमा अपांगता भएका बालबालिका अझै पनि विद्यालय जानबाट बञ्चित हुनुकाे कारण पत्ता लगायो । अपांगता भएका बालबालिकाका अभिभावकले ‘मेरो अपांग बच्चा सिक्न/पढ्न सक्दैन, मेरो बच्चालाई स्कुलले लिनै मान्दैन’ भन्ने सोच्दा रहेछन् । 

समुदायका व्यक्तिहरुले अपांगता भएका बालबालिकालाई होच्याउने, नराम्रा शब्द बोल्ने, उनीहरुलाई अभागी भन्ने जस्ता कार्यले पनि बालबालिका बाहिर निस्कन मान्दैनन् । कतिपय अभिभावकहरूले स्कुलमा अपांगता भएको अर्को बच्चासँग आफ्नो बच्चा राख्न नमान्ने कारणले पनि अपाङ्गता भएका बालबालिका स्कुल जानबाट बञ्चित भैरहेको पाइयो । कतिपय अवस्थामा शिक्षकलाई अपांगता भएका बालबालिकालाई पढाउनु पर्छ भन्ने भएपनि कसरी पढाउने थाहा नभएको भेटियो । 

विद्यालयको भौतिक संरचना अपांगमैत्री नहुँदा पनि उनीहरू विद्यालय शिक्षाबाट बञ्चित भइरहेका छन् । वर्षौदेखि उस्तै भौतिक संरचनामा विद्यालय सञ्चालन गर्दै आएका सञ्चालकहरू बढी खर्च लाग्ने भएका कारण आफ्नो शैक्षिक तरिका र संरचना परिवर्तन गर्न तयार देखिदैँनन् । अध्ययनले देखाए अनुसार अपांगताप्रतिको नकारात्मक दृष्टिकोणका कारण अपांगता भएका बालबालिका पनि आफू विद्यालय जान सक्षम छैन भन्ने ठान्छन् ।

अनुसन्धानकै क्रममा अपांगता भएकी इस्टर श्रेष्ठले आफ्नो अनुभव बाँढेकी थिइन् । उनले अपांगता भएकै कारण वरपरका साथीले आफूलाई जिस्काउने गरेको सुनाइन् । साथीहरूले विभिन्न शब्दको प्रयोग गरेर जिस्काउँदा बाहिर निस्कन मन लाग्दैनथ्यो । ४ कक्षामा पढ्ने उनलाई विद्यालयको दोस्रो तल्लामा रहेको आफ्नो कक्षा कोठामा जान साथीको सहयोग माग्नु पर्थ्याे। विद्यालयको चर्पी अपांगमैत्री थिएन । उनलाई चर्पी जान पनि साथीको मद्दत लिनुपर्थ्याे । अहिले उनी काठमाण्डौं आएर पढ्न थालेकी छिन् । आफ्नो कक्षाकोठामा आफै जान सक्दा उनी निकै खुसी र आत्मविश्वासी भएकाे बताइन् ।

अध्ययनले भौतिक संरचनाका साथमा समावेशी शिक्षा प्रवर्द्धन विद्यालयको परियोजना अघि सारेको छ । यस परियोजनाले अपांगता भएका बालबालिकाको सबल भविष्यको लागि समावेशी प्रवर्द्धन विद्यालयकाे अवधारणा प्रस्तुत गरेको छ । यस अवधारणाले बालबालिकाकाे अपांगता अपूर्णताको सम्मान गर्दै उनीहरूको शिक्षामा संलग्नता बढाउने छ । समावेशीता विद्यालयमा विविधता र फरकपनलाई मूल्यवान मानिन्छ र सम्मान गरिने परियोजनामा उल्लेख गरिएको छ ।
 
सिआइएल काठमाडौं र कादम्बरी मेमोरियल कलेज अफ सोसल वर्कले सार्वजनिक गरेको समावेशी विद्यालय स्थापनाका लागि ठूलो फन्ड आवश्यक पर्छ । उक्त फन्ड कलेक्सनमा विभिन्न संस्था तथा सरकारी तवरबाटै सहयोग गर्न पनि सिआइएल काठमाडौं र कादम्बरी मेमोरियल कलेज अफ सोसल वर्कले आग्रह गरेका छन् । 

परियोजना प्रमुख प्रदिप्ता कादम्बरी भन्छिन्, ‘बिना लगानी अपांगतामैत्री विद्यालय स्थापनाको सपना पूरा हुँदैन । आज विद्यालयमा गरेको थोरै लगानीले भविष्यमा अपांगता भएका हाम्रा बालबालिकालाई आत्मनिर्भर बनाउन सक्छ । होइन भने भोलिका दिनमा अपांगता भएका मानिसले सम्मानपूर्वक बाँच्न पाउने आधार बन्दैन । त्यसैले यो परियोजनामा लगानी गरौं ।’

अपांगतालाई बोझ र अपांगता भएका व्यक्तिहरूको मूल्य कम आकंलन गर्ने प्रवृत्ति, अपांगता भएका बालबालिकामा लगानी गर्नु आवश्यक नठान्दा यस्ता बालबालिका विद्यालय शिक्षामा मात्र नभएर सामाजिकीकरणको अभ्यासबाट पनि वञ्चित भइरहेका छन्।

अपांगता परिभाषा तथा वर्गीकरण

ऐनले अपांगता भएका व्यक्तिको पनि वर्गीकरण गरेको छ । २०७४ को ऐनले अपांगता भएका व्यक्तिहरूलाई यसरी वर्गीकरण गरेको छ :

–शारीरिक अपांगता : स्नायु, मांसपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अंगकाे सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तै: बाल पक्षघात-पोलियो), शारीरिक अंगविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरुदण्डसम्बन्धि स्थायी समस्या, क्लवफिट- पैताला फर्केको, रिकेट्स -हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।

–दृष्टिसम्बन्धि अपांगता : दृष्टिसम्बन्धि देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रंगकाे ज्ञान नहुने

(क) दृष्टि विहीनता : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुवै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३ः६०) मा पढ्न नसक्ने व्यक्ति ।

(ख) न्यून दृष्टियुक्त : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औँला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६ः१८) मा पढ्न नसक्ने ।

(ग) पूर्ण दृष्टिविहीन : पूर्ण रूपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।

–सुनाइ सम्बन्धी अपांगता : सुनाइका अंगकाे बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति

(क) बहिरा : असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि सांकेतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।

(ख) सुस्तश्रवण : सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसट्ठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।

–श्रवण दृष्टिविहीन अपांगता : सुनाइसम्बन्धि र दृष्टिसम्बन्धि दुवै अपांगता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपांगताकाे संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।

–स्वर र बोलाइ सम्बन्धी अपांगता : स्वर र बोलाइसम्बन्धि अंगमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतारचढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्‍याउने व्यक्ति ।

–मानसिक वा मनोसामाजिक अपांगता : मस्तिष्क र मानसिक अंगमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थितिअनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।

–बौद्धिक अपांगता : उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)

–अनुवंशीय रक्तस्राव (हेमोफिलिया) सम्बन्धि अपांगता : अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।

–अटिज्मसम्बन्धि अपांगता : जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तै: सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वाभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्‍याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)

–बहुअपांगता : एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपांगताको समस्या भएको व्यक्ति । (जस्तैः मस्तिष्क पक्षघात आदि)

अशक्तताको गम्भीरताका आधारमा अपांगताकाे वर्गीकरण :
 
–पूर्ण अशक्त अपांगता : आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति 

–अति अशक्त अपांगता : वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरूको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति

–मध्यम अपांगता : भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरूको सहयोग लिई वा नलिई नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति 

-सामान्य अपांगता : सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति 

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १२:४६:३२,   अन्तिम अपडेट : मंसिर १७, २०७८ शुक्रबार १४:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया