मुस्ताङमा हिमपात, जोमसोम–पोखरा हवाई उडान प्रभावित

गए रातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।  

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । 

वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा हवाई उडान पनि हुन सकेको  छैन । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार मुस्ताङमा यो बेला दोस्रो पटक हिमपात भएकाले यहाँको जनजीवनमा समेत असर परेको छ । हिमपात र वर्षाका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ । अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ । 

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ । गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई वर्षाका कारण राहत मिलेको छ । 



अहिले हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएको र  फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षाको आवश्यकता पर्छ । गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया