अर्थमन्त्रीलाई मोरङका उद्योगीले भने : बैंकहरू राणाकालीन भए, नियमन होस्

देशै जेठो व्यापारिक संस्था मोरङ व्यापार संघको ६५ औँ साधारणसभाको उद्घाटन सत्र चलिरहेको थियो ।

मञ्चमा सरकारका अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकर कुमार मरासिनी, प्रदेश सरकार आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो र सचिव सुमन दाहाललगायतका नीति निर्माता थिए ।

कार्यक्रममा शुभकामना दिन निम्त्याइए उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीका ढकाल । उनले शुभकामनाका क्रममा प्रश्न गरे 'के नेपालका बैंकहरू राणाशासन कालीन नै हुन् ? उनीहरूलाई कारबाही गर्ने र नियमन गर्ने तागत सरकारसँग छैन ?' उनले बैंकहरूलाई राणाकालीन नीति अपनाउने संस्था भएको आरोप लगाए ।

उनले सन्दर्भ कोट्याए, 'कोरोना कालमा ऋण लैजानुस् भन्दै उद्योगी व्यापारीका घर-घरमा बैंकहरू आए, हामी तपाईंहरूको साथमा छौँ पनि भने । अहिले कोरोनाले थलिएका उद्योगी व्यवसायीसँग ब्याजदरको भारी त बोकाएकै छन् अहिले नै ऋण चुक्ता गर्नुस् भनेर ताकेता गरिरहेका छन् ।'

उद्योगी पवन कुमार सारडाले बैंकहरू उद्योगी व्यापारीको पक्षमा नरहेको धारणा राखे । उनले बैंकहरूले कोरोना कालमा थलिएका उद्योगहरूसँग आजै र अहिले नै ऋण चुक्ता गर भनेर दबाब दिएको बताए ।

'के जादुको छडीले जस्तो उद्योगीहरूले पैसा भेला पार्न सक्छन् ? कि छुमन्तरले पैसा जम्मा हुन्छ ?' उनको बैंकहरूसँग गुनासो थियो, 'बैंकहरूले अहिले मनपरी व्याजदर बढाएका छन् ।'



व्यापार संघकै  साधारणसभामा शुभकामना दिन निम्त्याइएका उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष तथा उद्योगी भीम घिमिरेले पनि बैंकहरूले मनपरी गरेको आरोप लगाए ।

बैंकहरूले साना तथा मझौला व्यवसायीलाई भन्दा पनि ठूला उद्योगीलाई मात्रै ऋण लगानी गरेकाले उद्योगी व्यापारी मारमा परेको उनको गुनासो छ ।



उनले बैंकहरूको रणनीतिका कारण पूँजीको विकास हुन नसकेको, रोजगारीको सिर्जना हुन नसकेको आरोप लगाए । उनले सरकारले नेपालका बैंकहरूलाई नियमन गर्न नसकेको समेत बताए ।

नेपालका बैंकहरू उद्योगी व्यवसायीको हितमा भन्दा पनि नाफा कमाउने उद्देश्यले मात्रै सञ्चालन रहेको उनको आरोप छ । उनले भने 'नेपालका बैंकहरू नफा कमाउने उद्देश्यले मात्रै सञ्चालिन छन् । पूँजीको विकास र आर्थिक पुनरुत्थानका पक्षमा छैनन् ।'

उद्योगी घिमिरेले इन्स्योरेन्स कम्पनीहरूको कार्टेलिङका कारण पनि उद्योगी व्यवसायी मर्का परेको बताए ।

साधारणसभामा बोल्दै विराटनगरका उद्योगी व्यापारीहरूले बैंकहरूले सहज रूपमा कर्जा प्रवाह नगरेको आरोप लगाए । बैंकहरूले ऋण प्रवाहमा विभिन्न कारण देखाउँदै झन्झट गरेको उनीहरूको भनाइ छ ।

उद्योगी व्यापारीको बैंक प्रतिको गुनासोपछि सरकारका अर्थसचिव मधुकर कुमार मरासिनीले बैंकहरूमा समस्या रहेको स्वीकार गरे ।

उनले बैंकले तरलता अभाव भएको गुनासो गरेपछि सरकारले बैंकहरूको समस्या समाधान गर्न प्रयत्न गरेको तर यो प्रयत्नमा बैंकहरूले सहयोग नगरेको बताए ।

उनले केही दिनअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २५ अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्न आह्वान गरेको सन्दर्भ उल्लेख गरे ।

उनले भने '२५ अर्बको ट्रेजरी बिल खरिद गर्न आह्वान गर्दा १७ अर्ब रुपैयाँ माग गर्दै बैंकहरू आएको र त्यसमा पनि ९ अर्ब रुपैयाँ मात्रै चाहिने गरिको कागज पेश गरेको बताए  । उनले सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सहजीकरणको काम गरिरहेको बताए ।

सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

आर्थिक विकासमा साथ दिन नीजि क्षेत्रलाई आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले साथ दिए मात्रै आर्थिक विकास सम्भव हुने बताए ।

अर्थ नीति र राजनीति एक सिक्काका दुई पाटा भएको भन्दै आर्थिक विकास नहुँदा राजनीतिक संकटहरू आउने गरेको बताए । राजनीतिको लक्ष्य पनि आर्थिक विकास नै भएको बताउँदै अर्थमन्त्री शर्माले आर्थिक विकासका लागि निजी क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने 'हामी अहिले सत्ता पक्ष र प्रतिपक्षको जस्तो व्यवहार गरिरहेका छौँ । यथार्थमा निजी क्षेत्र प्रतिपक्ष होइन सहयोद्धा हो ।' साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रले साथ दिए आर्थिक विकासका लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको बताए ।

उनले मोरङ व्यपार संघलाई सरकारको आर्थिक सल्लाहकार घोषणा गर्दै सरोकारवालासँगको छलफलमा मात्रै नीति निर्माणहरू गरिने प्रतिबद्धता जनाए । सरोकारवालासँगको सहमतिमा बनेका योजना कार्यान्वयनमा लैजान सहज हुने भन्दै मन्त्री शर्माले संस्थागत संरचनाहरू बलियो र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १९:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया