महोत्तरीको क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन अझै अन्योलमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्षेत्रीय अधिवेशनको परिणाम देशैभरबाट आइरहँदा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन भने अन्योलमा परेको छ ।

मंसिर १५ गते सहमतिमार्फत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास गरिए पनि त्यसो हुन नसकेपछि पार्टीका पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तिवारीलाई बिहीबार साँझसम्म विवाद मिलाएर क्षेत्रीय अधिवेशनको टुङ्गो लगाउने जिम्मेवारी दिइए पनि उनी असक्षम बनेको पार्टीका जिल्ला सचिव शम्भुनारायण पाठकले जानकारी दिए ।

महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भइसकेका छन् ।

यसअघि अधिवेशनको क्रममा बुधबार झडपसमेत भएको थियो । संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो ।

तिवारीका कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाए । तिवारीले चुनावभन्दा पनि क्षेत्रीय सभापतिमा राघवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान राखेको तर विमलेन्द्र निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको पाठकको आरोप छ ।



महोत्तरी–३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निकट मानिन्छन् भने राघवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

यता, अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरूमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए ।



शुक्रबार जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए । शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दावी विरोध, उम्मेदवारी दर्ता र त्यसमाथिको दावी विरोधका कार्यक्रम निर्धारण गरिएको रिजालले बताए । आइतबार निर्वाचन गराइने उनले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १९:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया