नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध हेटौँडामा इतर पक्षका नेताहरू आक्रामक रूपमा उत्रेका छन् । शुक्रबार हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापतिसहित प्यानल सार्वजनिक गर्न आयोजित सभामा देउवाविरुद्ध पौडेल पक्षका नेताहरूले फायर खोलेका हुन् ।
कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीभित्र अन्याय भइरहेको भन्दै न्याय दिनका लागि कांग्रेसमा राम्रो नेतृत्व आउन आवश्यक रहेको बताए ।
उनले भने, ‘वर्तमान नेतृत्वले पार्टीलाई न्याय दिन नसकिरहेको भन्दै राष्ट्रिय राजनीतिमा दीर्घकालीन असर पार्ने भएका कारण बागमती प्रदेशमा सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औँल्याए ।’
हेटौँडा आएका संस्थापन इतरका नेताहरूले प्रदेश सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी दिएका विरुद्ध पौडेल पक्षका नेताहरू एउटै मञ्चमा उभिएर मत मागेका हुन् ।
संविधानको रक्षाको लागि नेतृत्व परिवर्तन आवश्यक : सिंह
कांग्रेसका नेता सिंहले मुलुकको संविधानको रक्षाका लागि पनि पार्टीको नेतृत्वमा परिवर्तन हुनुपर्ने बताए ।
कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा पार्टी सभापतिका आकांक्षीसमेत रहेका नेता सिंहले पार्टीभित्र नेतृत्वबाटै अन्याय भइरहेको र कांग्रेसको वर्तमान नेतृत्वलाई जनताले नपत्याएकाले पनि परिवर्तन जरुरी भएको जिकिर गरे ।
नेता सिंहले आसन्न महाधिवेशनमा पार्टीको नेतृत्वमा कसलाई पुर्याउने भन्ने निर्णायक मत पनि बागमती प्रदेशमै रहेको स्पष्ट पारे ।
नेतृत्व परिवर्तन नभई नयाँ मान्छे कांग्रेस हुँदैन : गगन थापा
कांग्रेसका युवा नेता गगन थापाले नेकपा एमालेभित्रको ओलीतन्त्र र अन्त्य भइसकेको राजतन्त्र ब्यूँताउने राप्रपासँग लड्दै जनअपेक्षा पूरा गर्न कांग्रेसको नेतृत्वमा परिवर्तन जरुरी रहेको बताए ।
देशभरका लाखौँ मान्छेलाई पार्टीमा जोड्न जरुरी रहेको औँल्याउँदै कांग्रेसमा नेतृत्व परिवर्तन नभई नयाँ मान्छे कांग्रेसमा नजोडिने थापाको भनाइ थियो ।
थापाले पार्टीको तल्लो तहको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीको आन्तरिक प्रतिस्पर्धामा क्रियाशील सदस्य र प्रतिनिधिले आफूलाई मनपर्ने नेता मात्रै नभई जनतालाई समेत मन पर्ने नेता चयन गर्नुपर्ने बताए ।
कांग्रेसमा असल नेताको नेतृत्व स्थापित गरी कांग्रेसजनको मात्रै नभई आम जनताको पनि मत जितेर मुलुकको परिवर्तनमा लाग्नुपर्ने उनले बताए ।
देउवाप्रति कटाक्ष
कांग्रेसको नेता रामशरण महतले आन्तरिक गुटले गर्दा पार्टीलाई कमजोर बनाएको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने औँल्याए ।
उनले भने, ‘हालको नेतृत्वको कारण कांग्रेस कमजोर भएको छ । त्यसकारण सक्षम नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता हो ।’
नेता कांग्रेस अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको नेतृत्वले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे । केसीले पार्टी विधिप्रधान हुनुपर्नेमा व्यक्तिप्रधान बनेको भन्दै देउवाप्रति कटाक्ष गरे ।
कांग्रेस बागमती प्रदेश सभापतिमा पौडल समूहबाट केसी, देउवा समूहबाट इन्द्रबहादुर बानियाँ र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।