कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा ५६ पदका लागि १७९ जनाको उम्मेदवारी, तीन जना निर्विरोध

धनगढीमा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ५६ पदका लागि १७९ जनाको उमेदवारी परेको छ । प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ । ८ पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले आज(शनिबार) बिहान ९ बजे बाट मतदान सुरु गर्ने तयारी गरेको छ ।

त्यस्तैगरी ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन् । ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएका हुन् । अब ५६ पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन् । मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए ।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा छ । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् । यस्तै संस्थापनइतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

कांग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी थियो । तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ति जारी गरिसकेका छन् । त्यस्तैगरी सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।



सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरूबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापनइतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्षले पनि उम्मेदवारी दर्ता गरेको हो । 

कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउने छन् । प्रदेशमा ७० प्रतिशत प्रतिनिधि देउवा पक्षमा रहेको दाबी गरिएको छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ८:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया