प्रधानको उम्मेदवारीले केसीलाई सहज, बानियाँलाई चुनौती

हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ । सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका हुन् । 

अधिवेशनमा १३ जिल्लाका दुई हजार १३७ जना सहभागी छन् । अधिवेशनबाट दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।
 
भोट बैंक काठमाडौं केसीको कब्जामा 

१० वटा संघीय निर्वाचन क्षेत्र र २० वटा प्रदेश निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट प्रदेश अधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि छन् । गगन थापा र प्रकाशमान सिंह मिल्दा उक्त क्षेत्रमा संस्थापनइतर समूहले ८० प्रतिशतभन्दा धेरै प्रतिनिधि आफ्नो पक्षमा पार्न सफल भएको थियो । यसको असर बागमती प्रदेश अधिवेशनमा हुने पक्कापक्की देखिन्छ । 

केसीको लागि मत माग्न केन्द्रीय प्रभावशाली नेताहरू हेटौंडा झरेका छन् । नुवाकोटमा प्रभाव जमाएका केसीलाई पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको उम्मेदवारीले सहज हुने देखिन्छ । प्रधान पनि सिटौला समूहका देउवा निकट मानिने नेता हुन् । उनको उम्मेदवारीले संस्थापन पक्षका नेता इन्द्र बानियाँको भोट काट्न सक्ने आंकलन देउवा पक्षकै नेताहरूले गरेका छन् । 

उम्मेदवार समेत रहेका बानियाँ निकट एक नेताका अनुसार प्रधानले पौडेल पक्षको भोट तान्न नसकेपनि देउवा पक्षको केही भोट तान्न सक्ने अनुमान गरिएको छ ।  

यता बानियाँले भने मकवानपुरसहित चितवन, धादिङ, सिन्धुली जिल्लामा प्रभाव जमाएको देखिन्छ। मकवानपुरमा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र बानियाँ मिल्दा अधिकांश क्षेत्रमा प्रतिनिधि चयन भए तापनि  पौडेल समूहबाट प्रभावशाली नेता माइकल रामचन्द्र अर्यालको महामन्त्रीमा उम्मेदवारीले बानियाँलाई धक्का पुग्ने देखिन्छ ।



प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् । प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १०:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया