छाेरीलाई देखेपछि सबै पीडा विलीन हुन्छन्
फरकधार / १८ मंसिर, २०७८

पाएको चिज ठूलो होला कि गुमाएको ? जीवनको तुलोमा पाएको र गुमाएको दुबै चिजलाई राख्दिने हो भने कुनको वजन धेरै हुन्छ होला ? कत्तिले पाउनुसँग जीवनको अर्थ जोडेर हेरे, कतिले गुमाएका कुराहरूले जिन्दगीलाई अर्थपूर्ण बनाउने बताउँदै आए । तर जीवनको गाम्भीर्यता नबुझ्दै केही पाइन् र केही गुमाइन् निलमले । जीवन नबुझ्दै जीवनमा आएका र जीवनबाट गएकाहरूको असर बोकेर बाँचिरहेछ एउटा जिन्दगी ।

निलम जन्मँदा उनका बुवाले आफ्नो पढाइ नै सकेका थिएनन् । पढ्नका लागि काठमाडौं आएका उनका बुवाले निलमलाई ल्याउँदा उनको उमेर त्यस्तै दुई वर्षको भएको थियो । एक प्राइभेट कम्पनीमा काम गर्ने उनका बुवाले केही वर्ष उनलाई काठमाडौं राखे । उनीसँगै थिए उनका दाजु र दिदीहरू । निलमको आधा बाल्यकाल काठमाडौंमा बित्यो । 

प्राइमरी लेभलको पढाइ काठमाडौंमा सकेकी निलमको त्यसपछि स्कुल फेरियो । कामको सिलसिलामा उनका बुवा सुन्दरहरैचा मोरङ पुगे । निलमको अगाडिको पढाइ त्यही सुरु भयो । सुन्दर सपना बोकेर हिँड्ने निलमको जीवनमा सुन्दर हरैचाको त्यही बाटोले कति दियो कति गुमायो उनी आफैँसँग हिसाब छैन । 



सानैबाट जीवनको बाटो उकालो ओरालो



हुन त जीवनमा जति धेरै उकाली ओराली भेटिए त्यति नै जिन्दगीको अर्थ बोध हुन्छ भन्छन् ।  तर, कति उकाली ओरालीले जीवनलाई महत्वपूर्ण बनाउँछ कसैले भनेनन् । निलमको जीवन यात्रामा पनि सानैबाट उकाली ओराली मात्रै होइनन्, अप्ठ्यारा कुइँनेटाहरू पनि प्रसस्तै भेटिए । आज सम्झिँदा उनलाई लाग्छ कयौं घुम्तीहरूको यात्रा समथर भैदिएको भए हुन्थ्यो । तर, सोचेको जस्तो जिन्दगी नहुने रहेछ । उनको जीवन यात्रा पनि सोचेको जस्तो भएन । 

स्कुल लेभलको पढाइ सकिने क्रममा थियो । भर्खर टिनएजमा प्रवेश गरेकी निलमको मन कहीँ पुगेर अल्झियो । यो उमेरमा अल्झिएको मनले भोलिलाई सोच्दैन रहेछ । उनको मनले पनि सोचेन । विवाह के हो ? बुझ्दा नबुझ्दै निलमले वैवाहिक जीवन सुरु गरिन् । 

सानै उमेर आफैँ विवाह गरेकी छोरीलाई सम्झिएर कति कुँडियो होला उनका बुवाआमाको मन । कति धिक्कारे होलान् आफैँले आफ्नो भाग्यलाई । यो कुरा न निलमले कहिल्यै आफ्ना बुवाआमालाई सोधेकी छिन्, न त उनका बुवाआमाले सुनाएका छन् । पढ्ने, खेल्ने, घुम्ने उमेरमा विवाह गरेकी निलमको जीवनका उतारचढावहरू यहीबाट सुरु भए । बालखैमा जिम्मेवार हुनुपर्‍याे । छोरी भएर आमा बुवाको काखमा खेल्दै हुर्कने उमेरमा बुहारी भएर घरको जिम्मेवारी उठाउनु पर्‍याे ।

 विवाहको २ महिनामा दुर्घटना

विवाह भएको भर्खर दुई महिना बित्दै थियो । निलमको जीवनमा ठूलो तुफान बनेर आयो- सवारी दुर्घटना । त्यो दुर्घटनाले केके लगेन उनको जीवनबाट ? सँगै यात्रामा निस्किएको साथीको जीवन लग्यो । सपनासँगै दौडिरहने आफ्नै एउटा खुट्टा लग्यो । सानै कुरामा पनि खुसी सँगालेर रमाइहाल्ने मन लग्यो र जीवनलाई अँध्यारो बनाइदियो । तर, कसैगरे लान सकेन उनीभित्रको आत्मविश्वास । आधा शरीर काटिएको घाउको दुखाइ सहँदै अस्पतालको बेडबाट परीक्षा दिएर निलमले एसएलसी पास गरिन् ।

त्यो हिम्मत, त्यो तागत केले दियो थाहा छैन उनलाई । तर, अस्पतालबाट बैशाखी टेकेर घर फर्कँदै गर्दा उनलाई लागेको थियो ‘केही त गरेर खाइएला पक्कै ।’ घाउको दुखाइले चिच्याउँदै रोएकी निलमलाई अब म के गरौंला भन्ने नै आएन दिमागमा । अहिले सम्झँदा लाग्छ ‘मैले जीवनलाई गहिरोसँग बुझेकै रहेनछु त्यतिबेला ।’

निलम अरू साथीसँगै कलेज गइन् । तर, अरू साथीमा जस्तो ‘अहो ! कलेज जीवन’ भन्ने खालको उत्साह थिएन । फरक त भैहाल्दो रहेछ शरीरका पूर्ण अंग हुनु र नहुनुमा । बैशाखी टेक्दै क्याम्पस जाने निलमलाई साथी र सरहरूले  ‘डिमोटिभेट’ गरेनन् । सधैं हौसला दिए । बुवाआमा र परिवारले सकारात्मक ऊर्जा प्रवाह हुने कुरा मात्रै सुनाए । फर्किएर हेर्दा आफैँले हिँडिआएको बाटो हौसला दिने साथी, परिवार र गुरु ओखती रहेछन् जीवनका भन्ने लाग्छ निलमलाई । 

घर, कलेज यत्तिमै सीमित भयो निलमको जिन्दगी । त्यहाँभन्दा पर रहर, सपना, साथी, घुमघाम सबै सकिए । समय अहिलेको जस्तो थिएन । उनी आफैँलाई पनि आफैँमाथि विश्वास लाग्दैनथ्यो । म अरूसरह हिँड्न सक्दिनँ, नाँच्न सक्दिनँ, खुसी हुन सक्दिनँ । मेरो जिन्दगी जति छ यही हो । यस्तै सोच आउँथ्यो र फट्थ्याे निलमको मनमा । पढेर कुनै संस्थामा जागिर खाने र सामान्य जिन्दगी बाँच्ने यही थियो उनको सपना । 

जीवनको टर्निङ पोइन्ट

जीवन सधैं एकनास कहाँ हुन्छ र ? सधैं घाममात्रै पनि लाग्दैन जीवनमा र सधैं अँध्यारो पाटो मात्रै पनि हुँदैन । निलमलाई लागेकै थिएन जिन्दगीमा पुनः घाम लाग्ने छ, त्यो उज्यालो घामले संसार घुमाउने छ । उनलाई त लाग्थ्यो ‘म अरूजस्तो छैन । मलाई बाहिरी दुनियाँसँग मतलब छैन । म कुनै ग्रुपकाे पार्ट हुन सक्दिनँ ।’ 

बिए पढ्न सुरु गरेपछि उनको भेट अपांगता भएका व्यक्तिहरूका क्षेत्रमा काम गर्ने मानिससँग भयो । उनीहरूले निलमलाई बारम्बार सम्झाए ‘तिमी तिम्रो जीवन बाँच्न सक्षम छौं । तिमी पनि अरूहरू सरह बाहिर निस्कन सक्छौ । तिमी सक्रिय हुनुपर्छ’ भनेर । सुरुसुरुमा निलमलाई उनीहरूका कुरा विश्वास गर्न र बाहिर निस्कन गाह्रो भयो । बिस्तारै बाहिर निस्किएकी निलमले पुनः जीवनलाई पछाडि फर्किएर हेर्नु परेन । 

पढाइसँगै निलम नेपाल अपांगता समाजमा आवद्ध भइन् । त्यहाँ जाँदा आफूजस्तै अरू मानिस पनि भेटिन्थे । उनीहरूका मुहारमा देखिने खुसीले निलमको जीवनमा पनि खुसी दिन्थ्यो । अपांगता भएका धेरै मानिस जसको परिवारबाट साथ थिएन, आर्थिक अवस्था मजबुत थिएन, शैक्षिक अवस्था राम्रो थिएन । उनीहरूको हिम्मत देखेर निलमको मनमा लाग्यो, ‘म घरभित्रै बसेर हुँदैन ।’ अनि उनी बाहिर निस्किन् ।

सान २०१३ को ३ डिसेम्बरमा विश्व अपांगता दिवसको अवसरमा संस्थाले कार्यक्रमको आयोजना गर्दै थियो । सबैले कार्यक्रममा सहभागी हुने तयारी गरे । त्यतिबेलासम्म निलमको नृत्य बाहिर आएकै थिएन । दुई खुट्टा हुँदा नाचेको सम्झिन्थिन् । एउटा खुट्टाले नाँच्न सक्छु भन्ने त लाग्थ्यो। फेरि सोच्थिन् ‘के बिजोग देखाउनु ।’ उनका संस्थाका साथीहरूले कर मात्रै गरेनन् बल दिए । उनी डान्स सिक्न थालिन । थोरै समयमा थाक्थिन् । थाकेपछि निलम भन्थिन्, ‘म सक्दिनँ ।’ साथीहरू हौसला दिन्थे ‘जति सक्छौ त्यति गर ।’

अन्ततः कार्यक्रम हुने दिन आयो । निलम स्टेज चढिन् । उनी स्टेजमा उक्लँदा झण्डै दुई सय दर्शक थिए । स्टेज चढ्दा उनको भएको एउटा खुट्टो पनि लुगलग कामेको थियो । मनले आँट दिएकै थिएन । कार्यक्रम सञ्चालकले माइक दिए, के बोलिन् निलम आफैँले थाहा पाइनन् । अरूले के सुने थाहा छैन । तर निलमले माइकबाट बोल्दै गर्दा दुई सयको भीड बढेर चार सय भैसकेको थियो । जब स्पिकरमा गीत बज्न सुरु भयो निलमको डर, लाज, संकोच सबै हरायो । संगीतले अर्को पटक औषधिको काम गर्‍याे । उनी स्टेजमा नाँच्न थालेपछि दर्शकदीर्घाबाट आएको तालीले उनमा ऊर्जा भरिदियो । गीत सकिएपछि बैशाखीको आडमा अडिएर पुन: दर्शकदीर्घामा हेर्दा भीड निक्कै परसम्म पगेको थियो । त्यही भीडले हो निलमलाई गर्दा हुने रहेछ भनेर हिम्मत दिएको । यही हिम्मतले निलमलाई स्देशमा मात्रै होइन, विश्वका अन्य विभिन्न देशमा पनि चिनायो, डुलायो, जीवनका अनेक रंग देखायो । यो बीचमा पनि जीवनमा थुप्रै उतारचढाव त आए । उनले ती सबै उतारचढावलाई जीवनकै हिस्सा सम्झिएर सहजै स्वीकार गरिन् । 

विवाह गरेको १० वर्षपछि आमा 

विवाह गरेको छोटो समयमा शारीरिक रूपमा अपांग भएकी निलमले लामो समय त बच्चाको बारेमा सोच्न पनि सकिनन् । बिस्तारै जिन्दगीले लय समात्दै गयो । अप्ठ्यारा लागेका बाटाहरू सजिला लाग्न थाले । दाइदिदीका छोराछोरी देख्दा निलमलाई पनि आमा बन्नु पर्छ भन्ने भावना जागृत भयो । घर परिवारमा पनि ‘बच्चा तिमीहरूको लागि हो, जन्मायो भने हामी हुर्काइदिन्छौं’ भन्न थालेका थिए । निलमलाई पनि अब आमा बन्न सही समय यही हो भन्ने लाग्यो ।

पहिला पनि निलमको महिनावारी रेगुलर थिएन । यसपटक पनि तीन महिनासम्म महिनावारी रोकियो । निलम स्टेजमा नाचिरहेकै थिइन् । अरूले सुनाउँथे ‘प्रेगनेन्सी’सुरु हुँदा निक्कै गाह्रो हुन्छ । उनको दैनिकीमा कुनै परिवर्तन आएकै थिएन । त्यही पनि ३ महिनापछि उनले चेकअप गराइन् । रिपोर्ट पोजेटिभ आयो । खुसीसँगै डर पनि मडारियो निलमको अनुहारमा । दुई महिना अघि निलमको डाढमा समस्या आएको थियो । उनले कडा डोजका औषधि सेवन गरेकी थिइन् । उनको गर्भमा बच्चा बसिसकेको रहेछ । उक्त औषधिले आफ्नो बच्चालाई असर गर्‍याे कि भन्ने डर पनि खुसीसँगै आयो उनको मनमा ।
 
बच्चा पेटमा बसेपछि निलमले खानपानमा ध्यान दिन थालिन् । साथीहरूले सुनाएको जस्तो कुनै समस्या आएन गर्भावस्थाको समयमा । ५ महिनासम्म उनी स्टेजमा डान्स गर्दै थिइन । ५ महिनापछि भने उनको पेटको आकार बढ्न थाल्यो । त्यसपछि निलमलाई लाग्यो ‘अब म रोकिनु पर्छ ।’ बच्चाले पेटमा मुमेन्ट गर्न सुरु गरेपछि निलमलाई लागेको थियो ‘यहाँभित्र मेरो मान्छे छ।’ 

बच्चाको मुमेन्ट पर्खिबसेँ

आमा बन्ने भएपछि नै छोरी मान्छेको आफ्नो पिर हराउँदो रहेछ । निलमलाई बच्चाको पिर लाग्न थाल्यो । उनलाई शारीरिक रूपमा तन्तुरुस्त मान्छेले जस्तो सजिलो डेलिभरी पनि हुँदैन होला भन्ने पिरले खाइरहन्थ्यो । बच्चा जन्मिएपछि पनि सामान्य मान्छेहरूले जस्तो स्याहारसुसार गरेर हुर्काउन सक्दिनँ होला भन्ने लाग्थ्यो । पेटमा चल्दै गरेको बच्चालाई बाहिरैबाट स्पर्स गर्थिन् र निलम भन्थिन्, ‘तिमी कस्तो छौ होला नी !’ 

दिनहरू बित्दै गए । पेटको बच्चाले आफूले गर्ने मुमेन्ट बढायो । निलमलाई बच्चाले पेटमा गरेको मुमेन्टको भिडियो बनाएर राख्न मन थियो । उनले कयौं पटक क्यामरा लिएर बसिन् । तर,उनका हातमा क्यामरा हुँदासम्म बच्चाले कहिल्यै मुमेन्ट गरेन । उनले बच्चाको त्यो पेटको मुमेन्ट क्यामरामा कैद गर्नै पाइनन् ।

नमज्जा लाग्थ्यो

निलमलाई पहिलेबाटै छोरीको रहर । प्रेगनेन्ट भएपछि पनि उनलाई लागेको थियो ‘मेरो झुक्किएर पनि छोरा नहोस् ।’ वरपरका मान्छे आउँथे र भन्थे, ‘छोरा पायो भने तिमीलाई ढुक्क हुन्छ । बुढेसकालमा तिमीलाई हेर्छन् । अर्को बच्चा जन्माउँनै पर्दैन ।’ उनलाई नमज्जा लाग्थ्यो । कतिलाई जवाफ फर्काउथिन्, कति त नबोलेरै टारिदिन्थिन् । समाजको यो सोच देखेर निलम दिक्क हुन्थिन् । छोरा पाउनुपर्छ भन्ने धेरैलाई उनले भनेकी थिइन, ‘मेरो केसमा छोरी चाहिन्छ । म फिजिकल रूपमा फिट छैन । भोलि थला परेको खण्डमा छोरालाई मेरो स्याहार गर्न गाह्रो हुन्छ । त्यसैले पनि मलाई छोरी चाहिन्छ ।’ छोरा चाहिन्छ भन्नेहरू के बुझेर फर्किन्थे निलमलाई थाहा छैन ।
 
धेरैले तिमीले नर्मल बच्चा पाउन सक्दैनौ भन्थे । धेरैले भनेको सुन्दा सुन्दा उनलाई पनि लाग्न थालेको थियो ‘मेरो त अप्रेसन नै गर्नुपर्छ होला ।’ निलम डराएकाे देखेर डाक्टरले भन्थे, ‘तपाईंको बच्चा नर्मल डेलिभरी हुन्छ । भएन भने पनि हामी तपाईंको साथमा छौं, नआत्तिनू ।’

अस्पताल भर्ना

डेलिभरी डेट नजिकिँदै थियो । निलम काठमाडौंमा थिइन् । उनकी आमा इटहरीमा । डाक्टरले दिएको डेलिभरी डेटको एक हप्ता अगाडि उनलाई असहज महसुस भयो । आमालाई फोन गरेर भनिन् । आमा त्यही दिनको फ्लाइटमा काठमाडौं आइन् । भोलिपल्ट निलम अस्पताल भर्ना भइन। 
 
अस्पतालमा उनीजस्तै आमा हुने तयारीमा पर्खिरहेका थुप्रै महिला थिए । उनीहरूको अवस्था देखेर निलम झन डराउँथिन् । त्यो दिन रात पर्न लागिसकेको थियो । भोलिपल्ट औंसी रहेछ । धेरै आमाहरूले आफ्नो बच्चा औंसीमा नजन्माइदिन डाक्टरलाई भनिरहेका थिए । उनीहरू औंसीपछि मात्रै बच्चा जन्माउने तयारीमा थिए । अस्पतालको त्यो दृष्य देखेर निलमलाई अचम्म लागिरहेको थियो । डाक्टरले उनलाई सोधे ‘तपाईं चाँहि के गर्ने ?’ निलमले जवाफ दिइन्, ‘बच्चा जहिले जन्मन्छ त्यही दिन पाउने, औंसी न पूर्णिमा ।’

त्यो रातभर निलमलाई सुत्केरी ब्यथा लाग्ने छोड्ने भइरह्यो । निलमलाई लागेको थियो ‘शरीरै काटेर फाल्दाको दुखाइ त सहेर आएँ, यो दुखाइ पनि सहन सकिहाल्छु ।’ जब प्रसव ब्यथाको अन्तिम चरणमा पुगिन् तब उनलाई लाग्यो ‘त्यो दुखाइ र यो दुखाइ फरक रहेछ ।’ उनी चिच्याउँथिन्, ‘मेरो बच्चा अप्रेसन गरेर निकालिदिनू ।’ छेउमा बसेकी आमा टाउकोमा हात राखेर भन्थिन्, ‘अब एक्छिन हो कान्छी नडरा ।’ उनलाई आमाले भनेको त्यो एक्छिन बिताउन एकपटक मरेर ब्युतिनु पर्‍याे । निलमले भोलिपल्ट बिहान छोरीलाई जन्म दिइन् । 

बच्चा जन्मिएपछि नर्सहरूले बच्चा देखाइदिए । निलमका आँखामा चस्मा थिएनन् । यसै पनि कमजोर उनका आँखा प्रसव पीडाका कारण झन् कमजोर भएका थिए । उनले आफ्नो बच्चाको ‘जेन्डर’पनि छुट्टाउन सकिनन् । उनले सानो स्वरमा नर्सलाई सोधिन्, ‘मेरो छोरा जन्मियो कि छोरी ?’ त्यसपछि निलमलाई स्वर्गीय आनन्द भयो।

बच्चाको अनुहारमा आफ्नो खोजी

नर्स बच्चा देखाएर सफा गर्न लगे । निलमका आँखाले बच्चाको आकृति राम्रासँग भेउ पाउनै सकेका थिएनन् । उतातिर मेरो बच्चा साटिदिने हुन् कि भन्ने डर लाग्यो । अर्कोतिर कतिखेर देख्न पाउँला छोरीलाई भन्ने छट्पटाहट । लेभर रुमबाट बाहिर आउँदा छेउमै आमा थिइन् । परिवारका अरू सदस्य पनि सँगै थिए । निलमलाई कसैको वास्ता भएन । उनलाई केवल आफ्नी छोरी राम्रोसँग हेर्ने रहर भयो । छोरी हातमा लिएपछि निलमले आफ्नी छोरीको अनुहारमा आफ्नो आकृति खोजिन्, तर भेटिएन । निलमकी छोरी जन्मँदै बाबाजस्ती जन्मिएकी थिइन । छोरीलाई दूध चुसाउन खोज्दा दूध आएन । निलमलाई झन् धेरै पिर लाग्यो । दूध राम्रोसँग आउन दुई दिन लाग्यो । छोरीले धित मरुन्जेल दूध खाएको दिन निलमलाई अर्कै किसिमको साहस आएको थियो। 

छोरीसँगै रोएँ

सुत्केरी भएकाे भोलिपल्ट उनलाई अस्पतालले डिस्चार्ज दियो । अस्पतालबाट घर फर्किएको रातिसम्म छोरीले दिसा गरेकी थिइनन् । त्यो रात छोरी निक्कै रोइन् । भर्खर जन्मिएको बच्चा किन रोयो कसरी जान्नु । निलम पनि छोरीसँगै रोइन् । त्यो रात अनिद्रामै बित्यो । उज्यालो हुन लाग्दा छोरीले दिसा गरिन् । त्यसपछि रुन छाडिन् । निलमलाई बल्ल थाहा भयो ‘छोरी त दिसा गर्न नसकेर रोएकी रहिछन् ।’

बिस्तारै दिनहरू बित्दै गए । निलम ऐना हेर्थिन् । अनि हिजोको प्रोफेसनल दिन सम्झिन्थिन् । उनलाई आफू हराएको जस्तो लाग्थ्यो । अब फर्किएर पहिलाकै अवस्थामा पुगिन्छ जस्तो लाग्दैनथ्यो । निलम काठमाडौंबाट सुनसरी गइन् । सुत्केरी भएको एक महिनामा युकेबाट कार्यक्रमका लागि अफर आयो । निलमले भनिन्, ‘मेरो त शरीर पनि भद्दा भएको छ । गर्न सक्दिनँ होला ।’ आायोजकले भने कार्यक्रम हुन अझै केही महिना बाँकी नै छ । तपाईंले गर्न सक्नुहुन्छ ।’ त्यसपछि निलमलाई पनि आँट आयो । कार्यक्रमको तयारी गर्न थालिन् । 

बिछोडको त्यो घडी

छोरी ११ महिनाकी लाग्दै थिइन् । निलम युके जाने भइन् । घरबाट निस्कँदासम्म निलमलाई लागेको थियो ‘मलाई यत्तिको बनाउने आमाको साथमा छोरी छिन् । मैलेभन्दा राम्रो केयर गर्नु हुन्छ ।’ जब यात्रा लम्बिँदै गयो । निलमका दूध गानिँदै गए । निलमले दूध निचाेरेर फाल्नुपर्‍याे। तब उनलाई लाग्यो, ‘उता मेरो छोरी खान नपाएर रोइन् होला, यता मैले उसको मुखमा पर्नु पर्ने दूध बाथरुममा फालिराछु ।’ उनी दूधको छिर्कासँगै आँसु झार्थिन् ।

जिन्दगीमा धेरै ठाउँमा सम्झौता गरिसकेकी निलमलाई यहाँनेर सम्झौता गर्न निक्कै गाह्रो भयो । फेरि काम गर्नु त छँदै थियो । ढेड महिनाको युके बसाइ छोरीका सम्झनाका हिसाबले कष्टकर भयो । आँखाभरि बामे सर्न लागेकी छोरी आउँथिन् । मोबाइलको स्क्रिनमा भएको छोरीको फोटो जुम गर्दै हेर्थिन् । त्यतिबेला उनको डिभोर्स भैसकेको थियो । त्यसैले पनि उनलाई छोरीको भविष्यका लागि पनि केही गर्नुपर्छ भन्ने कुराले आँट दिन्थ्यो । उनी आएको काम गर्थिन् । 

अहिले छोरी उनकी आमासँग छिन् । ४ वर्षकी छोरी सुनसरी छोडेर निलम काठमाडौंमा बस्छिन्। कार्यक्रमको सिलसिलामा बाहिर गइरहनुपर्छ । छोरी स्कुल जाने भइन् । निलमलाई थाहा छ छोरी हुर्कँदै गएपछि एकदिन उनले सोध्नेछिन्, ‘आमा मेरो बाबा ...?’ यो पनि थाहा छ त्यसबेलाका लागि छोरीलाई जवाफ दिन आफूले तयार हुनुपर्छ । अहिले त उनकी छोरीलाई दुनियाँमा बाबु हुन्छन् भन्ने नै थाहा छैन । निलमकी छोरी अहिले हजुरबुवालाई नै बुवा ठान्छिन् । 

भर्खरै निलमले डिग्री सकिन् । उनलाई अब एउटा संस्थामा जागिर खानु छ । बिहान छोरीलाई स्कुल छोडेर अफिस जान पाइयोस् । साँझ घरमा छोरीलाई गृहकार्य गराउन पाइयोस् । निलमको अहिलेको सपना यत्ति नै हो- अब छोरीसँगै बस्न पाइयोस् ।
 

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ११:२८:३८,   अन्तिम अपडेट : मंसिर १८, २०७८ शनिबार ११:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया