राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेका लागि तय भएको मतदान कार्यक्रम १२ बजेबाट सुरु भएको हो । निर्धारित समयभन्दा चार घण्टा ढिलागरी मतदान सुरु भएको हो ।
राप्रपामा अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित कार्यसमितिका लागि उम्मेदवारी परेको हो ।
राप्रपाले मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाएको छ । मतदानका लागि ८६ वटा मेसिन राखिएको छ । एकजनालाई मतदान गर्न करिब १५ मिनेट समय लाग्नेछ । मतादन सकिएलगत्तै मतगणना हुनेछ। मतगणनाका लागि करिब २ घन्टा लाग्नेछ । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।
अध्यक्षका लागि थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले साथ दिएका छन् ।
त्यस्तै महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलबाट नायिका रेखा थापाले उम्मेदवारी दिएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।