नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत गण्डकी र सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ । बिहान ९ः५६ देखि सुदूरपश्चिम प्रदेशमा मतदान हुँदा ३ सयभन्दा धेरै मतदाताले मतदान गरिसकेका छन् ।
प्रदेश निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान भइरहेको बताए । उनका अनुसार अहिले तीन सयदेखि चार सयसम्मका मतदाता लाइनमा छन् ।
त्यहाँ एक हजार १६ मतदाता रहेको संयोजक जेठारा बताउँछन् । संस्थापनपक्षका वीरबहादुर बलायर र इतर पक्षका नारायणदत्त मिश्र प्यानलसहित चुनावी मैदानमा छन् । बलायर पूर्वमन्त्री र मिश्र कैलालीका पूर्वसभापति हुन् ।
गण्डकी प्रदेशमा पनि ३५० मत खसिसकेको छ । प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले दिएको जानकारी अनुसार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको हलमा मतदान भइरहेको बताए ।
उनका अनुसार त्यहाँ मतदाता एक हजार १५३ जना छन् । प्रदेशमा समितिका लागि त्यहाँ संस्थापन पक्षका अर्जुनप्रसाद जोशी र इतर पक्षका शुक्रराज शर्मा नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।
कर्णाली प्रदेशमा मतपत्र प्रकाशन भइसकेको छैन । मतदान हुन अझै समय लाग्ने भएको छ । मतदाताहरू भने मतदानका लागि लाइनमा छन् ।
निर्वाचन समिति संयोजक अरुण पौडेलले मतदान एक घण्टापछि हुन सक्ने जानकारी दिए । बागमती प्रदेशमा पनि मतदान हुन बाँकी छ । त्यहाँका मतदान अधिकृत केशव काफ्लेले विद्युत अवरुद्ध हुँदा मतपत्र छपाइ नसकिएको बताएका छन् ।
प्रदेश १ मा पनि मतदान सुरु हुन सकेको छैन । मतदाताहरू भने मतदानका लागि कुरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।