हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण र हुमीलाई

पहिलो संस्करणको हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढामगरले जितेका छन् । 

शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे । 

सोही स्पर्धामा हिक्मत बिके चौथो, अच्युतकृष्ण खरेल पाँचौँ, प्रचित थापा मगर छैटौँ, किरण राई सातौँ, मानबहादुर तामाङ आठौँ, विनोद सापकोटा नवौँ र मिलन श्रेष्ठ दशौँ भए । 

महिलातर्फ विजेता बनेकी हुमीले १३औँ साग खेलकुदकी स्वर्णपदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दूरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पूरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथो, इन्द्रकुमारी तामाङ पाँचौँ, विदिशा चौधरी छैटौँ र शकुन्तला बुढा मगर सातौँ भए । 

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौँले ६ हजार, छैटौँले ५ हजार, सातौँले ४ हजार, आठौँले ३ हजार, नवौँले २ हजार र दशौँ स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने । 



जुनियर स्पर्धाको विजेता किरण लिम्बू बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दूरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दूरी पार गरेका थिए ।

मास्टर्स र जुनियर विधाका विजेताले मेडलसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।  



१६ सय मिटर उचाइको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै २३ सय मिटर उचाइको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुंगिएको थियो ।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भूमिका निर्वाह गरेका थिए । 

बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्देश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो ।

पूर्वखेलकुदमन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगदसहित पुरस्कृत गरेका थिए ।  

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘हामीसँग भएको भौगोलिक विविधता र पर्यटनलाई खेलकुदसँग जोडेर देशको समृद्धिमा योगदान गर्ने योजनाअनुसार साहसिक तथा पर्यटकीय खेलकुदलाई प्रदेश सरकारले विशेष जोड दिएको छ ।’

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया