नेपालले कहिलेबाट लगाउँछ कोरोनाविरुद्ध ‘बुस्टर डोज’ ?
फाइल तस्वीर

नेपालमा आजको मितिसम्म एक करोड ८९ लाख ९२ हजार ९०४ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । जसमा एक करोड ३ लाख २५ हजार ६४७ पहिलो मात्रा (३४ प्रतिशत) र ८६ लाख ६७ हजार २५७ डोज पूर्ण मात्रा (२८.५ प्रतिशत) लगाइएको छ । हरेक दिनजसो खोप अभियान जारी छ । नेपालमा अझै आधाभन्दा बढी जनसंख्यालाई खोप लगाउन बाँकी छ ।

नेपालमा सबैभन्दा पहिला गत वर्षको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा दिएसँगै फ्रन्टलाइनरबाट खोप अभियान सुरु भएको थियो । केही समय खोपको अभावमा अभियान प्रभावित हुन पुग्यो । अहिले भने खोप आउने क्रम र ल्याउने क्रम पनि जारी छ ।

यसरी खोप अभियान जारी रहेका बेला 'बुस्टर डोज'को पनि चर्चा चलिरहेको छ । विश्वका ४० भन्दा बढी देशले बुस्टर डोज खोप दिइरहेका छन् । यसअघि लगाएको पूर्ण मात्रामा थप जोखिम न्यूनीकरणका लागि उनीहरूले बुस्टर डोज खोप दिन थालेका हुन् । यसरी बुस्टर डोज खोप दिनेमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रिया, क्यानडा, टर्की, चीनलगायतका देश रहेका छन् । केहीले बुस्टर डोज धेरैको संख्यामा लगाइसकेका छन् भने केहीले लगाउने तयारी गरेका छन् ।

कोभिडविरुद्धको खोप लगाएको ६ महिना पार गरेपछि शरीरमा एन्टिबडी कम हुँदै जान्छ । र, कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ । जसका लागि बुस्टर डोज दिने गरिन्छ । जसले गर्दा शरीरमा कोरोना संक्रमणको थप जोखिम कम हुन्छ । नेपालमा गत माघ १४ गते खोप लगाएकाहरूको १० महिना पूरा भइसकेको छ । अब उनीहरूलाई बुस्टर डोजको आवश्यकता छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन खोप लगाएको लामो समयपछि हुने संक्रमणको जोखिम कम गर्न बुस्टर डोज लगाउनुपर्ने बताउँछन् ।

‘खोपको पूर्ण मात्रा लगाई सकेको ६ महिनापछि शरीरमा एन्टिबडी कमजोर हुँदै जान्छ । त्यो एन्टिबडी बढाउनका लागि बुस्टर डोज खोप लगाउनुपर्छ’ उनले भने ।



बुस्टर डोज पनि जोखिम समूहको आधारमा प्राथमिकता निर्धारण गरेर लगाउँदा राम्रो हुने उनले बताए । ‘नेपालमा अझै पनि धेरैलाई खोप लगाउँन बाँकी छ । पहिला लगाइसकेकालाई जोखिम निर्धारण गरेर खोपको उपलब्धताको आधारमा बुस्टर डोज दिनुपर्छ’ डा. पुनले भने ।   

नेपालमा कहिलेबाट बुस्टर डोज ?



नेपालले आफैँ खोप उत्पादन गर्न सक्दैन । दातासँग मागेर वा कम्पनीसँग किनेर खोपको व्यवस्थापन भइरहेको छ । जसले गर्दा तत्कालै बुस्टर डोजबारे नेपालमा सोच्न सकेको छैन । विज्ञहरू भने सुरुमा खोप लगाएकाहरूलाई बुस्टर डोज दिन सुझाव दिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधाभन्दा बढी जनसंख्या खोप लगाउँनै बाँकी रहेकाले तत्काल बुस्टर डोजबारे कुनै योजना नबनेको बताउँछ ।  मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अहिलेसम्म खोप लगाउन बाँकी रहेकालाई नै अहिलेसम्म खोप दिने योजनामा मन्त्रालय रहेको बताए । आवश्यकता र खोपको उपलब्धताको आधारमा बुस्टर डोजबारे पनि निर्णय गर्न सकिने उनको भनाइ छ । 

बुस्टर डोजबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि सिफारिस गरेको छैन । तर, विश्वका शक्ति तथा धनी राष्ट्रहरूले भने धमाधम बुस्टर डोज दिइरहेका छन् । डब्लुएचओले भने अहिले नै बुस्टर डोज नलगाउन र आफूसँग उपलब्ध भएको खोप अन्य राष्ट्रलाई दिन आग्रह गर्दै आएको छ । डब्लुएचओले बुस्टर डोज सबैले नभई जोखिम हेरेर लगाउन सकिने मात्र भनेको छ । 

नेपालमा बुस्टर डोजबारे राष्ट्रिय खोप सल्लाहकार समितिले पनि केही निर्णय गरेको छैन । समितिले निर्णय गरेपछि मात्रै मन्त्रालयले बुस्टर डोज लगाउन थाल्ने प्रवक्ता डा. पौडेलले बताए ।

सबैलाई बुस्टर डोज आवश्यक नरहेको भन्दै जोखिम समूहलाई दिन सकिने उनको भनाइ छ । नेपालले पनि बुस्टर डोज दिन सक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘पहिला खोप नपाउँदा निकै समस्या भयो । अहिले त धमाधम खोप आइरहेको छ । बुस्टर डोज खोप दिनैपर्यो भने पनि त्यस्तो समस्या हुँदैन’ डा. पौडेलले भने ।

नेपालमा कति आयो खोप ?

नेपालमा अहिलेसम्म २ करोड ७१ लाख ६८ हजार डोज खोप आएको छ । जसमध्ये अब ८३ लाख डोजभन्दा बढी खोप मौज्दात छ । नेपालले जम्मा ६ करोड २८ लाख डोज खोप ल्याउने लक्ष्य लिएको छ । जसमध्ये आगामी चैतसम्म ३ करोड ५६ लाख डोज खोप आउनेछ ।

नेपालमा १२ वर्षमाथिका २ करोड ३२ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसमध्ये ४ करोड ६४ लाख डोज दुई मात्रा खोप लगाउनेहरूलाई खपत हुनेछ । ६ करोड २८ लाख डोजमध्ये एक करोड ६४ लाख डोज बाँकी हुनेछ । जुन बुस्टर डोजका लागि उपलब्ध हुनेछ ।  

बेलायतले १८ वर्षमाथिकालाई बुस्टर डोज दिँदै       

बेलायतले १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने तयारी थालेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी जनवरीको अन्त्यसम्ममा १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने बताए ।

यसका लागि बेलायतले देशभर एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको छ । अहिलेको अवस्थामा बेलायतका अर्को लकडाउन नगरिने भन्दै सबै नागरिकलाई खोपबाटै सुरक्षित राखिने उनको भनाइ थियो ।

ओमिक्रोनको संक्रमणपछि धेरै देशमा बुस्टर डोज  

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले संसारका ३५ भन्दा बढी देशमा भेटिएको छ । जुन यसअघिको डेल्टाभन्दा निकै संक्रामक रहेको वैज्ञानिकहरूको भनाइ छ । यसको संक्रमणबाट जोगिनको लागि दुईवटा उपाय हुनसक्छन् । एउटा बुस्टर डोज खोप दिने, अर्को भनेको संक्रमणबाट बच्न लकडाउन गर्ने । तर, संसारका कतिपय देशहरू भने धमाधम बुस्टर डोज दिन थालेका छन् ।

नेपालले पनि बुस्टर डोज लगाउन नथाले ओमिक्रोन भेरियन्टले थप भयावह अवस्था निम्त्याउने विज्ञहरूको चेतावनी छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डेले खोप पूर्ण मात्रा लगाएको ६ महिना पुगेकाहरूलाई सुरक्षित राख्न बुस्टर डोज दिनुपर्ने बताए । ९ महिनाअघि खोप लगाएकाहरूमा एन्टिबडी कमजोर बन्दै गएको र नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढी भएकाले बुस्टर डोज दिनुपर्नेमा उनको जोड छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १८:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया