माओवादी केन्द्र इटहरी नगरअधिवेशन : कुर्सी तोडफोडपछि समानान्तर कमिटी

सहमतिको नाममा पार्टी नेतृत्वले आफूनिकट नेताहरूलाई नगरको नेतृत्वमा चुनेपछि इटहरी उपमहानगरमा नेकपा माओवादी केन्द्रको समानान्तर कमिटी बनेको छ ।

शुक्रबार भएको अधिवेशनबाट बहादुरसिंह तामाङ 'ज्वाला'को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । अधिवेशनले उपाध्यक्षमा रितेश श्रेष्ठ, कविन्द्रबहादुर केसी, ज्ञानु किराँती, सचिवमा प्रभात आचार्य, सहसचिवमा सुशीला उप्रेती र कोषाध्यक्षमा दीप नारायण चौधरीलाई छनोट गरेको थियो ।

तर, अधिवेशनप्रति असन्तुष्टि जनाउँदै अर्को समूहले राजन काफ्ले (डम्बर प्रसाद )को अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ । अधिवेसनपछि असन्तुष्ट पक्षको भेलाले उपाध्यक्षमा विनोद खड्का, समिर पोखरेल र राकेश बराइलीलाई छनोट गरेको छ ।

असन्तुष्ट पक्षको भेलाले सचिवमा कृष्ण सापकोटा, सहसचिवमा नवीन तामाङ र कोषाध्यक्षमा कल्पना तामाङलाई छनोट गरेको छ ।

सुनसरी माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठनिकट निर्मल बराललाई इन्चार्ज बनाएसँगै विवाद उत्पन्न हुँदै आएको थियो । प्रदेश र केन्द्रले समेत मिलाउने प्रयास गरे पनि विवाद थप बढ्दै गएको छ । समानान्तर कमिटी बनाउन ४१ जना प्रतिनिधिले हस्तक्षर गरेको असन्तुष्ट पक्षले दाबी छ ।

सो कार्यक्रममा सन्तोष चौधरी, भानु मैनाली, मदन चुँडाललगायतका नेताहरू उपस्थित थिए ।



अधिवेशनमा के भएको थियो ?

माओवादी केन्द्रको विधानअनुसार इटहरी उपमहानगरपालिकामा ८१ जनाको कमिटी बन्ने व्यवस्था छ । विधानअनुसार वडा तहबाट छानिएका ८१ जना प्रतिनिधिले ७ जना पदाधिकारी चयन गर्छन् । प्रतिनिधि छानिएर आएसँगै माओवादी इटहरीको अध्यक्ष बन्न तीन जनाले आकांक्षा राखे ।



श्रमिकबाट आएका राजन (डम्बरप्रसाद) काफ्ले, मणिराम गिरी र बहादुरसिंह तामाङले नेतृत्वको आकांक्षा राखेपछि सहमतिमा पदाधिकारी चयन हुन सकेन । सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने निर्णय भयो  ।

चुनावी प्रक्रियाबाट पदाधिकारी चयन गर्ने निर्णय भएपछि अध्यक्षमा ३, उपाध्यक्षमा ११, सचिवमा ५ सहसचिवमा ४ र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता गराए ।

सहमति हुन नसकी चुनावी प्रक्रियामा गएपछि अध्यक्षका आकांक्षी मणिराम र राजनले छलफल गर्न समय अभाव भएको भन्दै शनिबारका लागि अधिवेशन सार्न आग्रह गरे । उनीहरू दुवैले हलमा आफूहरूले बोल्न पाउनुपर्नेसमेत माग राखे ।

यहीअनुसार निर्वाचन सार्ने सहमति भएर मणिराम र राजन हलबाट बाहिर गएको नेता भानु मैनालीले बताए । मैनालीका अनुसार अध्यक्षका प्रत्यासी हिँड्पछि राति १० बजे अध्यक्षमण्डलको अध्यक्षता गरेका सुनसरी सहइन्चार्ज शिव डाँगी र मीनप्रसाद गुरागाईंले शुक्रबार नै पदाधिकारी चयन गर्नका लागि चुनाव गर्ने निर्णय गरे ।

अध्यक्ष मण्डलमा रहेकी सपना परियारले भने असहमति जनाउँदै कार्यक्रम हल छाडिन् । अध्यक्षका प्रत्यासी र उनीहरूका प्रतिनिधिबिना नै निर्वाचन सुरु भयो ।

मतपत्रमा पानी खनाइयो

अध्यक्षका २ प्रत्यासीबिना नै भएको चुनावमा नेतृत्वले आफू निकटको प्यानल बनाएको थाहा पाएपछि उनीहरू आक्रोशित भए ।

उपाध्यक्षका उम्मेदवार निराजन ओझा, सचिवका प्रत्यासी हेमसागर तिम्सिना, सहसचिवका प्रत्यासी डिल्ली आचार्य, कोषाध्यक्षका प्रत्यासी राजकुमार आचार्यले गुट अन्त्यका लागि निर्वाचन गराउने अनि नेताहरूले प्यानल बनाएर लिस्ट बाँड्ने भन्दै विरोध गरे ।

विरोध र नाराबाजीका क्रममा कुर्सी तोडफोडसमेत भयो । यस्तै, सेटिङमा आफू निकटकालाई जिताउन लिस्ट बाँडिएको भन्दै उनीहरूले मतपत्रमा पानी खन्याए । अधिवेशनस्थलमा तोडफोड र मतपत्रमा पानी खन्याएपछि प्रहरीले सुरक्षा दिएको थियो ।

असन्तुष्ट पक्षको विरोधका बीच जिल्ला इन्चार्ज निर्मल बराल र सहइन्चार्ज शिव डाँगी समूहले मतगणना गरी नयाँ नेतृत्व चयन गर्यो ।

निर्वाचनबाट पदाधिकारी छनोट : डाँगी

माओवादी केन्द्र सुनसरीका सहइन्चार्ज डाँगी विधि र प्रक्रियाबाटै पदाधिकारी छनोट भएको दाबी गर्छन् । ९७ प्रतिशतभन्दा बढी प्रतिनिधिले मतदान गरेर नेतृत्व चयन गरेको तर्क छ ।

उनले समानान्तर कमिटी बनेको विषयमा आफूलाई थाहा नभएको बताए । उनले भने, 'निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनोट भएको हो । अध्यक्षका आकांक्षीहरू पराजित भएपछि विरोध गर्नु सामान्य हो ।'

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया