कांग्रेस महाधिवेशनः के सिटौलालाई आफ्नो पक्षमा ल्याउन सक्ला पौडेल समूहले ?

नेपाली कांग्रेसको महाधिवेशनका लागि अब धेरै दिन बाँकी छैन । तर, अहिलेसम्म कांग्रेसमा यसपटकको महाधिवेशनमा सभापतिका उम्मेदवार को को हुन् भन्ने टुंगो लागिसकेको छैन । 
विशेषगरि संस्थापन इतर पक्षले अहिलेसम्म सभापतिका उम्मेदवार टुंगो लगाउन सकेको छैन । यो समूहबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइरालालगायतले सभापतिमा उम्मेदवारी दिने दाबी गरिरहेका छन् । तर, यी नेताहरुले आफ्नो समूहबाट एक जना सभापतिका उम्मेदवार हुने र यो सहमतिमा टुंग्याउने पनि बताइरहेका छन् ।

शनिबार पोखरामा गण्डकी प्रदेशको अधिवेशन सकेर काठमाडौं फर्किने क्रममा पौडेलले आफूहरुले अब गहन र गम्भीर छलफल गरेर सभापतिको उम्मेदवारको टुंगो लगाउने बताएका छन् । उनीसँगै सभापतिका दाबेदार कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि आफू सबैभन्दा बलियो दाबेदार भएको भन्दै यसमा छलफल गरिने बताएका छन् ।

अर्कोतिर, प्रकाशमान सिंह र शेखर कोइरालाले पनि आफूहरु सभापतिको दाबीबाट पछाडि नहट्ने बताएका छन् । अहिलेसम्म आफू नै सभापतिको उम्मेदवारी हुने ठोस दाबी नगरेका पौडेल पनि आफूले छिट्टै सहमतिको वातावरण बनाउने बताउँदै आइरहेका छन् ।

यो समूहका यी सबै सभापति आकांक्षीहरु अर्को एउटा ध्याउन्नमा पनि छन्, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो समूहमा ल्याउने । 

सिटौलाको समर्थन आफूहरुले लिन सकेमा फेरि सभापतिमा दोहोरिने चाहना राखेका सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन सकिने अनुमान यो समूहले गरेको छ । तर, के सिटौलाले यो समूहका कुनै पनि एक नेतालाई समर्थन गर्लान् ?

सिटौलाले पौडेल समूहलाई समर्थन गर्लान् कि नगर्लान् भन्ने निक्र्योलमा पुग्नुअघि केही घटनाहरुबारे चर्चा गरौँ ।



कांग्रेसको तेह्रौँ अधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेका थिए । उनले समर्थन गरेकै कारण देउवाले सभापतिमा सहज जित निकाले, पौडेल कांग्रेस नेतृत्वमा आउने सम्भावनाबाट टाढिए ।

तर, सभापतिमा समर्थन गरे पनि केही समयपछि सिटौला र देउवाबीच दूरी बढ्यो । पार्टीमा आफूसँग कुनै सल्लाह नलिएको सिटौलाले देउवालाई आरोप लगाउन थाले । 



प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा समेत निर्वाचनमा नराम्रोसँग पराजित भएको कांग्रेसमा यसको दोषीका रुपमा देउवाको नेतृत्वलाई लिन थालियो । विभिन्न सार्वजनिक कार्यक्रममा सिटौलाले पनि देउवाको विरोध गरे ।

देउवाको विरोध गर्नेमा सिटौलाभन्दा पनि बढी सुनिन थाले, उनको समूहका दुई नेता गगन थापा र प्रदीप पौडेल । 

सत्तामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसै राजनीतिक रुपमा फेलियर सावित हुँदै गए, कांग्रेसले सत्तामा जान सक्ने अनुमान बढ्न थाले । यतिबेला कांग्रेस १४ औं महाधिवेशनको तयारीमा लागिसकेको थियो । कांग्रेसले महाधिवेशनअगाडि आफ्नो क्रियाशिल सदस्यता संख्या बढाएर दोब्बर बनाउने अभियान सुरु गर्यो । तर, क्रियाशिल सदस्यता विवादको सन्दर्भमा फेरि सिटौला र देउवा निकट भए ।

तत्कालीन नेकपा तथा पछिल्लो समय एमालेभित्र निकै ठूलो विवाद देखियो । यसले गर्दा कांग्रेस सत्तामा पुग्ने सम्भावना बढ्न थाल्यो । जसै देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढी देख्न थाले, उनले सिटौलालाई फेरि फर्काएर आफ्नो क्याम्पमा ल्याए ।

‘सिटौलाले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल र जसपाका बाबुराम भट्टराईलाई देउवासँग इनट्याक्ट राखेका हुन्,’ उनीनिकट एक नेता भन्छन्, ‘त्यही कारण अहिले देउवा सत्तामा छन् ।’ देउवाले पार्टीको आन्तरिक राजनीतिमा यसलाई भुलेका पनि छैनन् । उनी प्रधानमन्त्री भए लगत्तै सिटौलालाई स्पष्ट रुपमा मन्त्री बन्नेको नाम माग्नुले पनि यसको संकेत गर्छ । त्यति बेला पौडेल समूह देउवाले मन्त्रीहरुमा आफूनिकटलाई धमाधम नियुक्त गरेको तर आफ्नो स्वर नसुनेको आरोप लगाउँदै थिए । तर, सिटौलाले देउवाबाट यस्तो समस्या भोग्नु परेन ।

अहिले आएर पनि विभिन्न ठाउँमा देउवा र सिटौला महाधिवेशनको सन्दर्भमा एक ठाउँमा देखिएका छन् । यसको पछिल्लो उदाहरण हो, प्रदेश १ । प्रदेश १ मा सिटौलाका उम्मेदवारलाई देउवाले पनि समर्थन गरेका छन् । त्यस्तै, प्रदेश ३ अर्थात् बागमती प्रदेशमा देउवाका उम्मेदवार इन्द्र बानियाँलाई सहज होस् भन्ने हेतुले सिटौलाले भीमसेन दास प्रधानलाई अगाडि सारेका छन् ।

अर्कोतिर, पौडेल समूहका नेताहरु सिटौलालाई आफ्नो समूहमा ल्याउन कसरत गरिरहेका छन् । आगामि महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापाले त केही दिनअघि एक कार्यक्रममा अब कांग्रेसको नेतृत्व सिटौलाले गर्नु पर्ने समेत बताएका थिए । देउवाइतर पक्षलाई एक ठाउँमा ल्याउन प्रयास गरिरहेका थापाको यो भनाइ शेखर कोइरालाको प्रस्तावका कारण आएको कांग्रेस वृत्तमा व्यापक अनुमान गरिएको छ ।

त्यस्तै, रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहले पनि छुट्टाछुट्टै सन्देश पठाएर सिटौलालाई आफूनिकट ल्याउन खोजिरहेका छन् ।

अर्कोतिर देउवाले पनि सिटौलालाई विशेष अफर गरेका छन् । देउवाले सिटौलालाई उपसभापति दिन आफू तयार रहेको र दुई वर्षपछि कार्यवाहक सभापति दिने अफर गरेका हुन् ।

त्यसैले पनि सिटौलाले आफूलाई बढी सुरक्षित देउवातिर देखेका छन् । तर, पौडेल समूहको पक्षबाट आउने अफरहरुलाई उनले कुरिरहेका छन् । त्यसैले यो महाधिवेशनमा पनि निर्णायक हुनसक्ने सिटौलाले देउवालाई नै समर्थन गर्ने सम्भावना बढी हुँदै गएको उनीनिकट नेताहरु बताउँछन् ।

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया