को हुन् गण्डकी प्रदेश सभापतिमा विजयी भएका शर्मा?

शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलोपटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइरालादेखि गणेशमान सिंहको आन्दोलनमा उनी कमाण्डर भएर काम गरे ।

२०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर उनै शुक्रराज थिए । पटकपटक जेल परेर पनि थाकेनन् उनी । जीवनको उत्तरार्धसम्मको निरन्तर सक्रियताकै कमाई भन्नुपर्छ, शर्मा अहिले गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।

शर्मा संसदीय निर्वाचनमा भने सधै पराजित नेता हुन् । पार्टीभित्रको चुनाव उनका लागि कहिलै अफाप भएन । २०४८ र २०५१  को चुनावमा कास्की ३ बाट टिकट पाए पनि जितेनन् । २०५६ सालमा कांग्रेसले कास्की क्लिन स्विप गर्दा उनी उम्मेदवार बन्न पाएनन् । त्यसपछि पार्टीभित्रकै राजनीतिमा हराए । शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की ३ बाटै टिकट दिइयो । नेपालीमा उखान छ, ‘भुतले खाजा खाने बेला पर्‍यो’ भन्नेः शुक्रराज उस्तै भए । कम्युनिस्टहरू एक भएको बेला पाएको टिकट उनका लागि बरदान बन्ने सम्भावना थिएन ।

त्यसो त, कास्कीमा कांग्रेस यसै पनि कमजोर मानिन्छ । २०२० सालमा एसएलसी पास गरेका शुक्रराज पर्वतको देउपुर पुगेर स्कुल खोले । त्यहीँ उनले केही समय पढाए । ८ वर्षकै उमेरमा बाबु गुमाएपछि ‘टुहुरे’ शब्दबाट हेपिएका उनी त्यसैलाई बदलाको शत्रु बनाए । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । पञ्चायती चुनावका बेलामा पनि उनी पटकपटक उम्मेदवार बनेर पराजित नेता हुन् । विपी कोइरालाले क्रान्तिको तयारी गर्दै गर्दा शर्मा उनलाई भेट्न बनारस पुगेका थिए ।

विपीले दिएका प्रचार सामग्री बोकेर नेपाल आउने र जिल्ला जिल्लामा बाँड्ने काम शुक्रराजको हुन्थ्यो । ‘वीपीकै हातबाट तरुण दलको सदस्यता लिएँ । मनमा बडो आनन्द आयो,’ उनले भने, ‘त्यसपछि मैले क्रान्तिको प्रचारप्रसारमा नजिक भएर काम गरें । प्रचा बोकेर नेपालका ठाउँठाउँमा पुर्‍याए ।’ शर्मा टिमुरबोटे काण्डका बेला हाल एमाले अध्यक्ष केपी ओलीसँगै तीन वर्ष जेलमा परेका थिए ।

विपीका अनुयायी शर्मा, गाउँको विकासलाई प्रमुख समाजवाद मान्छन् । भन्छन्, ‘गाउँमा बाटो राम्रो छैन । पानी लिन घण्टौँ लगाएर जानुपर्छ । विजुली र सञ्चार खासै चल्दैन । नेपालको विकास गर्न गाउँ हेर्नुपर्छ ।’ शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ ।



पहिलो पटक कांग्रेसले संघीय संरचनाअनुसार निर्वाचन सम्पन्न गर्दैछ । गण्डकीको अधिवेशन सुरु हुँदासम्म यहाँ उम्मेदवारको टुंगो थिएन । संस्थापन पक्षले अर्जुन जोशीलाई टिकट दिएर प्यानल बनाउँदै थियो । संस्थापन इतरबाट ५ जना आकांक्षी थिए । आफ्नो पक्षका आकांक्षीलाई बोल्न नदिएको भन्दै उनै ५ जनाले उद्घाटन सत्रमा हंगामा पनि गरे ।

मनोनयनको अघिल्लो रात मुस्किलले शुक्रराजलाई पौडेल पक्षले टिकट दियो । उनी अधिवेशनको केही दिनअघिसम्म सभापति शेरबहादुर देउवासँग जोडिएका खबरहरु थियो । सम्भवतः गण्डकीमा संस्थापन पक्ष कमजोर भएर होला, उनले जिल्ला अधिवेशनपछि त्यो हल्लाहरु चटक्कै छोडेर स्वतन्त्रजस्तो बने ।



‘मैले उम्मेदवारी दिइसकेँ । चुनाव हारे पनि लड्छु, जिते पनि लड्छु भनेर शुक्रराजजीले भन्नुभयो । अब नछोड्ने पक्का भएपछि अरुलाई फकाएर शर्मालाई टिकट दिइएको हो,’ पौडेल पक्षका एक नेताले भने, ‘उहाँको जिद्दीले नै टिकट पाउनुभयो ।’

उनले देउवा प्यानलबाट पनि उनले टिकट पाउने हल्ला थियो । ५ आकांक्षीबाट सिंगल उम्मेदवार बनेपछि शर्मालाई अरूले सहयोग गर्दैनन् भन्ने आंकलन थियो । अरू आकांक्षीले कति सहयोग गरे त्यो भन्ने ठाउँ छैन, तर शर्माले चुनाव जितेरै छाडे ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ९:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया