भारतको नागाल्याण्डमा सेनाको अप्रेसनः दर्जन सर्वसाधारण मारिए, बढ्यो तनाव

भारतको नागाल्याण्डको मोन जिल्लास्थित ओटिङ्ग क्षेत्रमा शनिबार राती भारतीय सुरक्षाबलले विशेष अप्रेसन चलाउँदा ११ जना सर्वसाधारण मारिएका छन् । 

भारत सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा नगरे पनि समाचार एजेन्सी पिटीआईले कम्तिमा ११ जना सर्वसाधारण मारिएको दाबी गरेको छ । 

नागा पिपुल्स फ्रन्ट पार्टीका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टी.आर. जेलियाङ्गका अनुसार घटनामा १३ जना सर्वसाधारण मारिएका छन् । 

घटनालाई लिएर भारतका गृहमन्त्री अमित शाह तथा राज्यका मुख्यमन्त्री नेफियू रियोलेले ट्वीटर मार्फत दुःख व्यक्त गरेका छन् । र, उनीहरुले एक उच्चस्तरीय जाँचबुझ समितिको माग समेत गरेका छन् । 

राज्यका मुख्यमन्त्री नेफियू रियोले ट्वीटर मार्फत भनेका छन्, ‘ओटिङ्गमा सर्वसाधारण मरेको थाहा पाउँदा दुःख लागेको छ । हामी यसको निन्दा गर्छौं ।’ 

पिटीआइका अनुसार भारतीय सेनाले उक्त घटनालाई दुर्भाग्यपूर्ण बताउँदै देख व्यक्त गरेको छ । सेनाले घटनाको उच्चस्तरीय जाँच गर्ने प्रतिबद्धता जनाएको छ । सेनाले कोर्ट अफ इन्क्वायरीको आदेश समेत दिइसकेको छ । 



मोन क्षेत्र नगा समूह एनएससीएन (के) र उल्फाको गढ मानिन्छ । घटना नागाल्याण्डमा मनाइने लोकप्रिय पर्व ‘हाँर्नबिल फेस्टिवल’को ठिक अघि भएको छ । यो पर्वमा सहभागी हुन कयौं नेताहरु नागाल्याण्ड पुगेका थिए । 

नगा पिपुल्स फ्रन्ट पार्टीका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टी.आर. जेलियाङ्गले घटनाको निन्दा गर्दै उच्चस्तरीय छानविन आयोगको माग गरेका छन् । 



‘म ओटिङ्गमा भएको सर्वसाधरणको हत्याको कडा शब्दमा निन्दा गर्छु । यो नरसंहारबाट जोगिने कुनै बहाना चल्दैन । अवकासप्राप्त न्यायधिसको अध्यक्षतामा एक जाँच आयोग तुरुन्त गठन गर्नुपर्छ  र यसमा सहभागी सेनालाई कारवाही हुनुपर्छ,’ जेलियाङ्गले भनेका छन् । 

उनले घटनामा कर्यौ सर्वसाधारण घाइते भएको बताएका छन् । उनले घाइतेको शिघ्र स्वास्थलाभको कामना गर्दै घटनालाई ‘सेनाको क्रुरता’ बताएका छन् ।

‘हामीलाई घटनामा १४ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । कयौं सर्वसाधारण घाइते भएका छन् । केही वेपत्ता भएको भन्ने पनि सूचना आएको छ । हामी सही सूचना पर्खिरहेका छौं,’ इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनका अध्यक्ष कोकोन्गचिम यिमयुंगरले बताए । 

यिमयुंगरका अनुसार घटनास्थल नजिक सम्पर्क हुन सकेको छैन । त्यहाँ इन्टरनेट र एसएमएस सेवा बन्द गरिएको छ । वास्तविक जानकारी आएपछि के गर्ने भन्ने निर्णय लिइने यिमयुंगरले जनाएका छन् । 

समाचार एजेन्सी एएनआईले असम राइफल्सको अधिकारीलाई उद्वृत गर्दै उग्रवादी रहेको सूचनाका आधारमा सुरक्षाबलले उक्त अप्रेसन गरेको जनाएको छ ।

(बिबीसीबाट)

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया