तरकारीले बजार पाउन थालेपछि बझाङका किसान दङ्ग

एक महिनाअघि बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएपछि अहिले पनि बजारमा तरकारीको अभाव छ । तरकारीको हाहाकार भएको अवस्थामा स्थानीय कृषकले उत्पादन गरेको बन्दागोभी पहिलोपटक सदरमुकाम चैनपुरमा पुगेको छ । 

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको सबैभन्दा दुर्गम मानिने बुडखोरीका किसानले लगाएको बन्दागोभी गत शुक्रबार सदरमुकाम चैनपुर आइपुगेको हो  । शाखा सडक बन्द हुँदा यहाँका स्थानीयले लगाएको झण्डै ५५ क्विन्टलभन्दा बढी बन्दागोभी बारीमै कुहिने अवस्थामा थियो । तर, ढिला नै भएपनि सडक खुलेपछि तरकारी बिक्री गर्न सहज भएको स्थानीय जगत बोहराले बताए । 

‘लगातारको वर्षाले सडक अवरुद्ध भएको थियो, पछिल्लो समय यहाँका धेरै किसानले सडक पुगेसँगै तरिका उत्पादन गरिरहेका छन् । तर, यसपालि वर्षाले समयमै बिक्री भने गर्न सकेनौँ । ढिला नै भएपनि तरकारी बिक्री गर्न पाउँदा खुसी छौं,’ उनले भने । 

बजारको अवस्थाबारे आफूहरूलाई पर्याप्त जानकारी नभएको र सडकसमेत अवरुद्ध हुँदा यहाँका किसान तरकारी बारीमै कुहिने होकि भन्ने चिन्तामा थिए । ‘छबिसपाथिभेरा गाउँपालिकाको आर्थिक सहयोग तथा कृषि ज्ञान केन्द्र बझाङको समन्वयमा आफूहरूले बजारसम्म बन्दा गोभी पुर्‍याउन सफल भयौं,’ बोहराले भने, ‘हामीले त वर्षापछि अवरुद्ध भएको सडकले तरकारी बारीमै कुहिने होकि भन्ने चिन्तामा थियौं । तर, ढिला नै भए पनि बजारसम्म तरकारी पुर्‍याउन सकेका छौं, खुसी लागेको छ ।’  

गत शुक्रबार छबिसपाथिभेरा–७ बाट २५ क्विन्टन बन्दागोभी चैनपुर पुगेको छ । कृषक बोहराका अनुसार आफ्नो ५ क्विन्टल अन्य स्थानीय पदम धामी र ध्रुव धामीको १०/१० क्विन्टल बन्दागोभी चैनपुर ल्याएर बिक्री गरिएको हो । 



‘एक महिना बाटो बन्द भएका कारण हाम्रो झण्डै ४०/५० क्विन्टल बन्दा गोभी बारीमा नै कुहिएर खेर गयो । सबै बन्दागोभी बारीमा नै कुहिने हो कि भन्ने चिन्ताले सताएको थियो । कृषि ज्ञान केन्द्रले गरेको पहल तथा समन्वयमा छबिसपाथिभेरा गाउँपालिकाले सडक सुचारु गरेर बारीमा भएको बन्दालाई बजारसम्म ढुवानी गर्ने बातावरण सिर्जना गरेपछि किसानलाई अलि सहज भएको छ,’ बोहराले भने ।



कृषि​ ज्ञान केन्द्रले विउ तथा समन्वय गरेपछि जिल्लाका धेरै कृषक व्यावसायिक रूपमा तरकारी खेतीमा सक्रिय भएका छन् । दुई महिनाअघि मात्रै यही ठाउँ उत्पादन भएको ३ सय क्विन्टल बन्दा डडेल्धुरामा बिक्री गरिएको कृषि ज्ञान केन्द्र बझाङका कार्यलय प्रमुख टेकबहादुर विष्टले बताए । 

‘अझै यो ठाँउमा ६ देखि ७ सय क्विन्टल बन्दा छ । त्यो बन्दासमेत बजारसम्म पुर्‍याउन पहल गरिरहेका छौं,’ उनले भने, ‘पहिले बाहिरी जिल्लाबाट बन्दागोभी आयात गर्नुपर्ने अवस्था थियो । अब भने यहाँकै किसानले उत्पादन गरेको बन्दागोभीले पनि पुग्न थालेको छ । अझै यहाँ बढी तरकारी उत्पादन गरेर जिल्ला बाहिर पठाउन जोड दिनुपर्छ,’ कार्यालय प्रमुख भण्डारीले भने । 

पछिल्लो समय जिल्लामा पुरुषभन्दा महिला तरकारी उत्पादनमा सक्रिय भएका छन् । अहिले जिल्लामा ६० रोपनीमा व्यावसायिक रूपमा तरकारी खेती भइरहेको ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । आफूले उत्पादन गरेको तरकारीले बजार पाउन थालेपछि किसान पनि खुसी हुन थालेका छन् । गाउँमा रोजगारी नहुँदा भारत जाने गरेका युवा पनि अहिले तरिकाले खेतीका लागि स्वदेशमै रोकिन थालेका छन् । 

‘बजारमा हामीले प्रतिकिलो २५ रुपैयाँका दरले बन्दागोभी बिक्री गर्दै आएका छौं, पहिले भारत गएर रोजगारी गरेर जीविका चलाउँदै आएपनि अहिले भने व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि घरमा नै राम्रो आम्दानी गर्न सकिएको छ,’ कृषक ध्रुवबहादुर धामीले भने । 

पहिले यहाँका किसानले तरकारीको रूपमा प्रायः आलु मात्र उत्पादन गर्थे । तर, व्यावसायिक रूपमा खेती गरे राम्रो आम्दानी हुन थालेपछि किसानले अन्य तरकारी पनि उत्पादन गर्न थालेका छन् । 

‘पहिला खेतबारीमा आफूहरूको लागि मात्र आलु लगाइने गरिन्थ्यो । किसानले व्यावसायिक रूपमा खेती गर्नुपर्छ भन्ने जानकारी दिएन । तर, पछिल्लो समय व्यावसायिक खेतीबारे चेतना भएसँगै किसानले आलुसँगै अन्य तरकारी पनि लगाउन थालेका छन्,’ कृषक धामीले भने ।

कृषि ज्ञान केन्द्रले विउ उपलब्ध गराएपछि यहाँका ४० परिवारले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेका छन् ।  

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया