उता राजेन्द्र लिङ्देनको सपथ, यता कमल थापाकाे फाट्यो मन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि कमल थापा बिहा‍नैदेखि बरबराइ रहेका छन् । अध्यक्षमा जितेका राजेन्द्र लिङ्देनलाई बधाई दिँदै उनी जित्नुको पछाडि पूर्वराजाको हात रहेको भन्दै पहिला आक्रोश व्यक्त गरेका थिए । उनले विभिन्न माध्यमबाट आक्रोश तथा पीडा निरन्तर पोखिरहेका छन् । 

यसै क्रममा उनले फेरि सामाजिक सञ्जालमार्फत कवि राजेन्द्र थापाको कविता सम्झिएका छन् । उनले कवितामार्फत् आफ्नो मन फाटेको संकेत गरेका छन् । संयोग कस्तो पर्‍याे भने अध्यक्षमा जितेका लिङ्देन सपथ लिइरहेका छन् । यता थापाको मन फाट्यो । यही बेला उनलाई कवि राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा भन्ने कविताको याद आएको हो । 

उनले लेखेका छन्, ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो:

पोहोर साल खुसी फाट्दा
जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?’ 

पराजित भएसँगै थापा निकै छटपटाइरहेका छन् । उनले तारन्तार सामाजिक सञ्जालमार्फत् कहिले पीडा त कहिले आक्रोश व्यक्त गरिरहेका छन् । यतिसम्म कि उनी सपथ ग्रहण कार्यक्रममा नै गएनन् । 

राजनीतिक संस्कारअनुसार आफू पराजित भए पनि सपथ ग्रहणमा सहभागी हुँदै विजयी हुने उम्मेदवारलाई बधाई दिने परम्परा छ । तर, थापाको मनै फाटेपछि के राजनीतिक संस्कार, के को राप्रपा !



 



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १६:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया