३ देखि ६ महिनाभित्रमा कोरोनाको बुस्टर डोज खोप लगाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । 

उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको स्मरण गराए । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको उनले बताए । 

मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । अन्य देशबाट आउने नागरिकलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पिसिआर परीक्षण गरेर मात्रै घर जान दिने उनले बताए । 

खोपका झोला बोकेर गाउँ–गाउँमा गई कोरोनाविरुद्धको खोप लगाउन सहयोग गर्न पनि मन्त्री खतिवडाले सञ्चारमाध्यम र राजनीतिक दलहरुलाई आग्रह गरे । 

बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न सतर्कता अपनाउनुपर्ने बताए । कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउनबाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा सतर्कता अपनाउनुपर्छ, लकडाउनभन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ ।’

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने उनले बताए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १८:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया