नेपाल प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरे भनिने चुडामणि उप्रेती समूहका थप एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले झापा जिल्लाको साविक शिवगञ्ज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार पक्राउ गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । अग्रवाललाई 'रेड नोटिस' जारी गरिएका फरार प्रतिवादी हुन् ।
उनी दुबईबाट नेपाल आउँदै थिए । यसको सूचना पाएको प्रहरीको टोली उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो । अग्रवाल सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भइ फरार रहेका प्रतिवादीहरूमध्येका एक हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते इन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।