कोरोनाविरुद्ध बुस्टर डोज लगाउन स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । 

उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरूले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

मन्त्री खतिवडाले भने, ‘बोस्टर डोजसँग गाँसिएका कुराहरू आए । यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरूले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रिपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ ।’

मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरूलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरूको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ-गाउँमा गई कोरोनाविरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरूलाई आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया