सारथिले छोड्दा पनि थप शक्तिशाली बन्दै देउवा, जिल्लादेखि प्रदेशसम्म उनकै दबदबा

केही साता अघिसम्म नेपाली कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादर देउवा कमजोर बन्दै गएको आँकलन धेरैले गरेका थिए । पटकपटक महाधिवेशनको मिति सर्नुलाई पार्टीभित्र उनी कमजोरी बन्दै गएको तर्कसँगसमेत जोडेर हेरिन्थ्यो ।

तर, यथार्थमा कांग्रेसमा देउवा झनझन बलियो हुँदै आएको देखिएको छ । हालै सम्पन्न गाउँ, नगर, जिल्ला र प्रदेश अधिवेशनले देउवा पार्टीभित्र निकै बलियो रहेको पुष्टी गरेको छ । 

हालसम्म ७७ मध्ये ६१ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न भएको छ । अर्थात् ६१ वटा जिल्लाले कांग्रेसको नयाँ सभापति पाएका छन् । निर्वाचन सम्पन्न भइसकेको ६१ मध्ये ३२ जिल्लामा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । 

जिल्ला अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ र नेता कृष्ण सिटौला पक्षका दुईजना उम्मेदवारले जितेका थिए । 

जिल्ला अधिवेशनमा मात्र होइन प्रदेश अधिवेशनमा पनि देउवा पक्षको दबदबा कायम रह्यो । सात प्रदेशमध्ये ६ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश–२ को अधिवेशन भने स्थगित भएको छ । 

सम्पन्न भएका प्रदेश अधिवेशनमध्ये ४ वटामा देउवा पक्ष वा समर्थित प्रदेश सभापति विजयी भएका छन् । देउवा पक्षका प्रदेश सभापति सुदूरपश्चिम, कर्णाली, प्रदेश १ र बागमती प्रदेशमा विजयी भएका छन् । 



संस्थापनइतरका प्रदेश सभापतिका उम्मेदवार गण्डकी र लुम्बिनी प्रदेशमा विजयी भए । आज बिहान मात्र प्रदेश–१ मा देउवा पक्षले समर्थन गरेका उम्मेदवार उद्धव थापा विजयी भए । उनी संस्थापनइतर पक्षीय उम्मेदवार गुरुराज घिमिरेको भन्दा २ भोट मात्र बढी प्राप्त गरी विजयी भएका हुन् ।

बागमती प्रदेशमा पनि देउवा पक्षका उम्मेदवार इन्द्र बानियाँ सभापतिमा विजयी बने । उनी प्रतिद्वन्द्वी पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसीकोभन्दा १५८ बढी मत ल्याएर विजयी भएका हुन् ।



लुम्बिनी प्रदेशमा भने देउवा पक्षलाई धक्का लागेको छ । सोमबार बिहान सम्पन्न मत गणनामा लुम्बिनी प्रदेश सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुन मगर विजयी भएका छन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुनकै प्यानलबाट निर्वाचित भएका छन् । 

देउवाले अधिवेशन सम्पन्न भएका ६ मध्ये ४ प्रदेश सभापति संस्थापन पक्षका सभापतिका उम्मेदवार विजयी बनाएर पार्टीभित्र आफू कमजोर होइन झन् शक्तिशाली बनेको सन्देश दिएका छन् । 

यही २४ मंसिरदेखि काठमाडौंमा सुरु हुने पार्टीको १४ औं महाधिवेशनमा अध्यक्षमा दाबी गरिरहेका देउवालाई जिल्ला र प्रदेशको नतिजाले थप सहज बनाएको छ । 

देउवानिकट मानिएका कांग्रेस नेता विमलेन्द्र निधि र प्रकाशमान सिंहले साथ छोड्दा पनि पार्टीभित्र देउवाको पकट कमजोर नभएको जिल्ला र प्रदेशको निर्वाचनले देखाएको छ । 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ११:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया