कोरोनाको ओमिक्रोन भेरियन्ट कसरी आइपुग्यो नेपाल ?

विश्वमा पछिल्ला दिनमा सन्त्रास फैलाएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित पहिलोपटक नेपालमा पनि भेटिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जनालाई कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ ।

यीमध्ये एक जना विदेशी नागरिक हुन् । एक जना नेपाली नागरिक हुन् । ६६ वर्ष र ७१ वर्षका यी दुवै जना अहिले उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । 

दुवै जना ३ मंसिरमा दक्षिण अफ्रिकाबाट नेपाल आइपुगेका थिए । उनीहरु नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखाएका थिए । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ भएकाले नेपालमा प्रवेश गर्न दिइएको थियो । यतिमात्र होइन, दुवै जनाले कोरोनाभाइरसविरुद्धको खोपको पनि पूर्ण मात्रा लगाइसकेका थिए ।

३ मंसिरमा नेपाल आएका यी दुईमध्ये ७१ वर्षका नेपालीलाई ७ मंसिरमा कोरोनाभाइरससँग मिल्दाजुल्दा लक्षण देखिए । उनले त्यसपछि कोरोना परीक्षण गरे । कोरोनाभाइरस परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो ।

पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको यो नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भन्दै ओमिक्रोन भेरियन्ट नामाकरण गरेको छ । म्युटेसन अत्यन्त तीव्र गतिमा हुने भएकाले र यसविरुद्ध अहिले भएका खोपहरुले काम गर्छन् वा गर्दैनन् भन्नेबारे अध्ययन भइरहेकाले यसको चासो र चिन्ता बढिरहेको छ ।

विश्वमा यो भेरियन्ट विभिन्न देशमा देखिन थालेपछि नेपालमा पनि नयाँ रणनीति ल्याइएको छ । त्यो हो, कोरोनाभाइरस पोजेटिभ आएकाहरुको एस–जिन परीक्षण गर्नु पर्ने । यी दुवै जनाको एस जीन पनि परीक्षण गरियाे । प्रयोगशालामा उनीहरुको एस–जीन टार्गेट फेलियर आएपछि दुवै नमूनाको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्न दिइयो । त्यसपछि गत राति उनीहरुलाई कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उनीहरु दुवै जनाले सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रहेर उपचार गराइरहेको जनाएका छन् ।
ओमिक्रोन संक्रमण भए पनि उनीहरुमा कुनै गम्भीर लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका यी दुई जनाको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि खोजी गरेको थियो । कन्ट्याक्ट ट्रेसिङमा ६६ जना सम्पर्कमा आएको बताइएको छ । तर, उनीहरु सबैको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, उनीहरुलाई कुनै लक्षण पनि नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।



यी दुई जनामा कोरोनाभाइरसको यो नयाँ भेरियन्ट संक्रमण पुष्टि भएसँगै नेपालमा पनि सर्भिलियन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना महामारी भित्रिएसँगै कन्ट्याक्ट ट्रेसिङ थालिएको थियो । तर, दोस्रो लहरका समयमा कन्ट्याक्ट ट्रेसिङ लगभग बन्द थियो । 

कोभिड–१९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालय तथा विभिन्न चिकित्सकहरुले सुझाव दिएका छन् । मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

नयाँ भेरियन्ट ओमिक्रोन सबैभन्दा पहिला दक्षिण अफ्रिकामा २४ नोभेम्बर २०२१ मा पुष्टि भएको थियो । हालसम्म यो भेरियन्ट नेपालसहित ३६ देशमा फैलिइसकेको छ । 

नेपालले के गर्दैछ ? 

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरेको छ । दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ । 
ओमिक्रोन भेरियन्ट संक्रमणका पुष्टि भइसकेको हङकङलगायतका नौ देशबाट अब नेपालमा आउन प्रवेश रोक पनि लगाइएको छ ।

यो संक्रमणबाट बच्न नेपालले अन्तर्राष्ट्रिय हवाई नाका तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । त्यस्तै खोपको विवरण लिने गरिएको छ । 

त्यस्तै लक्षण तथा चिन्हहरूको जाँच गर्ने तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा. पौडेलले बताए । 

एन्टिजेन परीक्षणमा फेला परेकाहरूको नमुना संकलन गरी पीसीआर परीक्षण गर्ने र संकास्पद नमुनाहरूको जीन सिक्वेइन्स गर्ने गरिएको छ । यसका साथै विगत एक महिनादेखि पोजिटिभ भएका नमुमनाहरूको समेत थप परीक्षण गर्ने काम भइरहेको प्रवक्ता पौडेलले बताए ।

सीमा नाकामा रहेका हेल्थ डेस्कलाई एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ भएकाहरूको नमूना संकलन गरेर जिन सिक्वेन्सिङका लागि पठाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै पत्राचार गरेको थियो । त्यस्तै सीमा नाकाहरूमा समेत प्रवेश कडाई गर्न सरोकारवाला निकायलाई मन्त्रालयले आग्रह गरेको थियो । 


  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १४:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया