माओवादी राष्ट्रिय सम्मेलन : ३२ वर्षदेखि दोहोरिएको ‘प्रचण्ड’ नेतृत्व फेरिएला ?

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसको दोस्रोसाता काठमाडौंमा हुँदैछ । राष्ट्रिय सम्मेलनको तयारीस्वरूप माओवादीले आफ्नो आन्तरिक कामहरू अघि बढाइसकेको छ ।

यसअघि माओवादीले विराटनगरमा २०७० वैशाख १८ देखि २२ सम्म एकता सम्मेलन गरेको थियो। यसबीचमा ०७५ जेठ ३ गते एमालेसँग एकता गरेको माओवादी २३ फागुनपछि पुनः सर्वोच्च अदालतको आदेशले पुरानै अवस्थामा फर्काइदिएको थियो ।

त्यसपछि निर्वाचन आयोगले १ वर्षभित्र महाधिवेशन गर्नका लागि दिएको समयसीमामा रहेर माओवादीले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । 

कस्तो छ तयारी ?

महाधिवेशनकाे तयारी माओवादीले तीव्र रूपमा अघि बढाएको छ । माओवादीले २ हजार प्रतिनिधि हुने बताएको छ । जसका लागि शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले मापदण्ड तय गरेको छ । माओवादीको प्रतिनिधि बन्नका लागि २ हजार १ रुपैयाँ दस्तुर बुझाउनुपर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
 
माओवादीले आफ्नो सम्मेलनका लागि विभिन्न नेताहरूको जिम्मेवारीमा उपसमितिहरू बनाएको छ। स्थायी कमिटी बैठकले बनाएको समितिहरू कार्यान्वयनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्कुलर समेत जारी गरेका छन् । सम्मेलनमा प्रस्तुत गर्ने विधानलाई आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ । जसको सदस्यहरूमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव छन् ।
 
त्यसैगरी सम्मेलनमा पेस गरिने समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । समिति सदस्यहरूमा शक्तिबहादुर बस्नेत र गणेश साह छन् ।

सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । समिति सदस्यहरूमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा छन् ।



प्रवक्ता महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन भएको छ ।

३२ वर्षदेखि एउटै नेतृत्व, अब फेरिएला ? 



माओवादी केन्द्रको नेतृत्व विगत ३२ वर्षदेखि अध्यक्ष प्रचण्डले गरिरहेका छन् । निर्वाचन प्रणालीबाट अहिलेसम्म माओवादीले आफ्नो नेतृत्व फेरेको छैन । तर पनि रोचक कुरा चाँहि माओवादीमा अहिलेसम्म प्रचण्डको उत्तराधिकारीको रूपमा कोही उभिन सकेका छैनन् । 

आगामी राष्ट्रिय सम्मेलनबाट प्रचण्डको विकल्पमा हुने नेताहरूको चर्चा अहिलेसम्म भएको छैन । तत्कालीन माओवादी ‘जनययुद्ध’मा प्रचण्ड र डा. बाबुराम भट्टराईपछि उत्तराधिकारीको रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतलाई लिने गरिन्थ्यो । तर, भट्टराई, चन्द, मोहन वैद्य लगायतले प्रचण्ड र माओवादी बिर्सिएर आ-आफ्ना गतिविधिमा सामेल छन् ।

पार्टीको संगठन र वैचारिक बहस छलफलमा समेत ती युवा नेताहरूको पकड मानिन्थ्यो । ०६४ सालको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी केन्द्रमा त्यसपछि धेरै उतारचढाव आएका छन्। आगामी नेतृत्वको रूपमा हेरिएका नेताहरू पुन र शर्माले यही बीचमा शक्तिशाली गुट माओवादीभित्र बनाएका छन् । तर, प्रचण्डलाई टक्कर दिने अवस्थामा भने उनीहरू नपुगेको नेताहरू बताउँछन् ।
 
पार्टीमा प्रचण्डको ‘मनपरी भएको’ भन्दै उहीबेला वैद्य, भट्टराई लगायतले उनको साथ छाडेका थिए । तर, अहिले पार्टीभित्र प्रचण्डविरुद्ध अध्यक्षमा आवाज उठाउन सक्ने नेताहरू कोही देखिएका छैनन् ।

यो सम्मेलनले पनि प्रचण्ड नै माओवादीको अध्यक्षमा दोहोरिने संभावना रहेको केहीको तर्क छ । किनभने उनको उत्तराधिकारीको रूपमा पार्टीभित्र कोही पनि अहिलेसम्म निस्किएका छैनन् । 

नेतृत्व फेर्नेभन्दा पनि एकीकरण र विभाजन बढी 
 
प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै धेरै सहयात्रीले नयाँ बाटो रोज्दा पनि अहिलेसम्म विकल्पमाथि बहस हुन सकेको छैन ।

निर्वाचन आयोगले दिएको समयावधिमा आफ्नो अधिवेशन सकेर पार्टीको वैधानिकता जोगाउनेमा माओवादी केन्द्र लागेको देखिन्छ । यसअघिका दृष्टान्त हेर्दा माओवादीमा अधिवेशनभन्दा पनि टुट र फुटको संशय चाँहि बढ्दो देखिन्छ ।

२०४८ एकताकेन्द्र मशालको महामन्त्रीमा प्रचण्डलाई चयन गर्दै छैठौं महाधिवेशन सम्पन्न भएको थियो । तर, त्यसको तीन वर्षमै ‘दीर्घकालीन जनयुद्ध’मा जाने बहस चर्कियो । यही विषयलाई लिएर २०५१ सालमा राष्ट्रिय भेलामार्फत् ‘जनयुद्धमा जानेगरी’ नेकपा माओवादी गठन गरियो । अनि महामन्त्री रहेका प्रचण्ड माओवादीको अध्यक्ष बनेका थिए ।

हिंसात्मक विद्रोह सुरु गरेपछि माओवादीले महाधिवेशन नै गरेन । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत् माओवादी शान्तिपूर्ण मूलधारको राजनीतिमा समाहित भएको थियो । २०६५ पुस २९ नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग एकीकरणपछि पार्टीको नाम नै एकीकृत माओवादी बनाइएको थियो ।
 
एकीकृत माओवादी गठन भएको चार वर्षमै २०६९ सालमा मोहन वैद्यले आफ्नो नेतृत्वमा नेकपा-माओवादी गठन गरेपछि सोही वर्ष माघमा माओवादीले हेटौंडामा सातौं महाधिवेशन गरेको थियो ।२१ वर्षपछि गरेको महाधिवेशनबाट अध्यक्षमा पनि पुनः प्रचण्ड नै चुनिएका थिए । 

त्यसपछि २०७१ सालमा पुनः विराटनगरमा राष्ट्रिय सम्मेलन गरेर अध्यक्षमा प्रचण्ड नै चुनिए । ०७३ मा १० वटा वाम घटकसहित माओवादी केन्द्र स्थापना भयो । जसको अध्यक्ष प्रचण्डले नै प्राप्त गरे । 

माओवादी केन्द्र बनाएको दुई वर्षमै २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । तीन वर्ष नपुग्दै एमाले र माओवादी ब्यूँताउने फैसला सर्वोच्चले गरेसँगै प्रचण्ड फेरि ब्यूँतिएको माओवादी केन्द्रको अध्यक्षमा छन् ।

एउटै नेतृत्वलाई पार्टी सुम्पिएर पटकौं पटक माओवादीले आफ्नो नेतृत्व प्रचण्डबाहेक कोही छान्न नसकेकोमा टिप्पणी हुन थालेकाे छ ।


 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १५:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया