साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।
तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए ।
राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरियाे ।
यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र आज तिलकोत्सव विधि मनाइएको हाे ।
त्यस्तै, मंगलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।