युथ एथलेटिक्स च्याम्पियनसिप : युवा खेलाडीलाई सिक्ने अवसर

भन्ने गरिन्छ कि कुनै पनि खेलमा राम्रो खेलाडी उत्पादन गर्ने माध्यम हो-उमेर समूहका प्रतियोगिता । उदाहरणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई लिन सकिन्छ ।  उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका अधिकांश खेलाडी नै अहिलेकाे क्रिकेट टाेलीमा छन् ।
  
यही उद्देश्यलाई आत्मसाथ गर्दै अहिले त्रिपुरेश्वस्थित दशरथ रंगशालामा युथ एथलेटिक्स च्याम्पियनसिप चलिरहेको छ । मंगलबारसम्म हुने प्रतियोगितामा नेपाल र बंगलादेशका ५०० भन्दा बढी खेलाडी सहभागी छन् । 

प्रतियोगितामा महिला-पुरुष यु-१६ र यु-२० उमेर समूहमा ३ खेलका १४ स्पर्धा समावेश गरिएका छन् । सोमबार रंगशालामा बेग्लै रौनक थियाे ।

प्रतियोगितामा केही खेलाडीले आफ्नो स्पर्धा सकाएका थिए त केही तयारीमा थिए । ती साना खेलाडीको मुहारमा बेग्लै चमक थियो । उनीहरू निकै उत्साहित देखिन्थे । 

टिम प्रशिक्षक मात्र नभएर, आयोजक पनि सहभागी खेलाडीलाई सम्झाइरहेका थिए । यो देख्दा यस्ताे लाग्यो कि यो जित-हारको भन्दा पनि सिकाइको प्रतियोगिता हो ।  

प्रतियोगिता आयोजना गर्नुको एउटा कारण युवा खेलाडीले केही सिक्ने अवसर पाउन् भन्ने नेपाल एथलेटिक्स परिवारले जनाएकाे छ ।
  
युवाहरूमा खेलप्रति कति लगाव थियो भन्ने कुरा केही खेलाडी बिना जुत्ता दौडिनुले प्रष्ट पार्थ्याे । केही खेलाडी आफूभन्दा शारीरिक रूपमा बलिया खेलाडीसँग प्रतिस्पर्धा गरिरहेका थिए । यद्यपि उनीहरूको प्रदर्शन भने कमजोर थिएन ।  

खेलाडीका साथसाथै प्रशिक्षक तथा उपस्थित अग्रज खेलाडीको अनुहारमा पनि बेग्लै खुसी देख्न सकिन्थ्यो । 



केही खेलाडी नियम विपरीत कार्य गरेको भन्दै अयोग्य ठहरिए पनि यसलाई सामान्य रूपमा लिन सकिन्छ । किनकि उनीहरू कुनै व्यावसायिक नभएर सिक्दै गरेका कलिला खेलाडी हुन् । 

अधिकांश स्पर्धाको फाइनल मंगलबार हुने, तर सोमबार पनि आफ्नो हिटमा जित निकाल्ने खेलाडीको सेलिब्रेसन स्वर्ण जितेको भन्दा कम थिएन । हार्ने खेलाडी पनि निरास भने थिएनन्। किनकि उनीहरूले जित्ने भन्दा पनि सिक्ने अवसर पाएका थिए ।



केही खेलाडीको प्रदर्शन अब्बल थियो । यसले के संकेत गर्छ भने उनीहरूले खेललाई निरन्तरता दिन सके नेपाली एथलेटिक्स क्षेत्रमा उत्कृष्ट खेलाडी बन्न सक्छन् ।  

आयोजकले प्रत्येक १०० मिटर रिले बाहेकका विधाका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई क्रमश ३, २ र १ हजार रुपैयाँ पुरस्कारकाे रूपमा पाउनेछन् ।

त्यस्तै, रिलेका विजेता उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ६,४ र २ हजार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुनेलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पुरस्कारभन्दा पनि एथलेटिक्स खेलमा युवा खेलाडीको लगाव बढाेस् र केही उत्कृष्ट खेलाडी उत्पादन हुन् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । 

यस्ता प्रतियोगिताले युवा खेलाडीलाई कुनै खेलमा आकर्षण बढाउनुका साथै आफ्नो कमी कमजोरीलाई सच्याउँदै अघि बढ्न सहयोग गर्नेछ । 

याे प्रतियोगिताले भविष्यमा राम्रो एथलेटिक्स खेलाडी उत्पादन गर्ने एउटा खुड्किलोको रूपमा काम गर्ला वा नगर्ला भन्ने त समयले नै बताउने छ । तर, नेपाल एथलेटिक्स परिवारले यसलाई आयोजना गरेर एउटा राम्रो सन्देश भने दिएको छ । 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १७:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया