बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रस्तावित राजदूत आचार्यको प्रतिबद्धता

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । 

बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरे पनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् । दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो । प्रस्तावित राजदुत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए । 

त्यसैगरी, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतका बीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए । उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् । आपसी विश्वास कायम गर्न सकेमा धेरै काम गर्न सकिने प्रस्तावित राजदूत शर्माले बताए । उनले भारतमा प्राप्त अवसरलाई नेपालको समृद्धिका लागि उपयोग गर्दै अगाडि बढ्ने बताए । 

बैठकमा सांसदहरुले आर्थिक कूटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदूतहरुलाई सुझाब दिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । भूतपूर्व गोरखा सैनिकहरुको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले भूमिका खेल्नुपर्ने बताए । 



सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदूतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले संसदमा हुने राष्ट्रकै चासोको विषयमा पनि नेपाली राजदूतहरुले चासो लिएर राष्ट्रिय हितमा तत्काल दृष्टिकोण बनाउनुपर्ने बताए । 

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले राजदूतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षाको विषयलाई राजदूतहरुले मूल विषय बनाएर अघि बढ्नुपर्ने खाँचो समेत औंल्याए । 



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १७:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया